पाकिस्तानले अफगानिस्तानको कान्दहार विमानस्थल नजिक गर्यो आक्रमण

70
Shares

एजेन्सी । चीनको मध्यस्थता प्रयासका बावजुद दुई छिमेकी राष्ट्रहरूबीच वर्षौंयताकै खराब द्वन्द्वमा शुक्रबार पाकिस्तानले अफगानिस्तानको कान्दाहार विमानस्थल नजिकै निजी एयरलाइन्स काम एयरको इन्धन डिपोमा बमबारी गरेको तालिबानले बताएको छ ।

यसले द्वन्द्व थप चर्किने देखिएको छ ।

बेइजिङले मध्यस्थताको प्रयास तीव्र पारेपछि कान्दाहारमा बमवर्षा हुनुअघि एक हप्ताभन्दा बढी समयसम्म दुवै पक्षबाट कुनै पनि पाकिस्तानी हवाई आक्रमणको रिपोर्ट आएको थिएन । २६ सय लामो सिमानामा जमिनमा हुने झडपहरू पनि कम भएका थिए यद्यपि बीच–बीचमा लडाइँका घटनाहरू भइरहेका थिए ।

‘उक्त कम्पनीले (काम एयर) नागरिक एयरलाइन्सका साथै संयुक्त राष्ट्रसंघका विमानहरूलाई पनि इन्धन आपूर्ति गर्छ,’ तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने ।

पाकिस्तानले राजधानी काबुलसहित अन्य क्षेत्रमा पनि बमबारी गरेको र केही स्थानमा सर्वसाधारणका घरहरूलाई निशाना बनाउँदा महिला र बालबालिकासहितका व्यक्तिहरू मारिएको उनले बताए । उनले यो आक्रमण जवाफविहीन नरहने चेतावनी पनि दिए ।

पाकिस्तानी सुरक्षा स्रोतहरूले भने सेनाले काबुल, कान्दाहार र पक्तिया प्रान्तका चार लडाकु अखडाहरूमा रातभर आक्रमण गरेको बताएका छन् । त्यसमा कान्दहार विमानस्थलको एउटा तेल भण्डारण केन्द्रलाई पनि निशाना बनाइएको थियो ।

अफगानिस्तानको रक्षा मन्त्रालयले यसको जवाफमा उत्तरी शहर कोहाटमा रहेको पाकिस्तानी सैनिक आधार इलाकामा ड्रोन आक्रमण गरेको र त्यहाँ ठूलो क्षति पुर्याएको बताएको छ ।

पाकिस्तानको सेना र सूचना मन्त्रालयले प्रतिक्रियाको लागि गरिएको अनुरोधमा कुनै जवाफ दिएनन् ।

गत महिना अफगानिस्तानभित्र पाकिस्तानले गरेको हवाई आक्रमणसँगै लडाइँ सुरु भएको थियो जसलाई इस्लामाबादले लडाकुहरूका गढहरूमा लक्षित गरिएको बताएको थियो ।

अफगानिस्तानले ती आक्रमणहरूलाई सार्वभौमसत्ताको उल्लंघन भन्दै जवाफी हमलाहरू सुरु गरेको थियो ।

सहयोगीबाट शत्रु बनेका पाकिस्तान र अफगानिस्तानबीच लडाकुहरू विवादको मुख्य जड रहँदै आएका छन् । काबुलले पाकिस्तानमा आक्रमण गर्ने लडाकुहरूलाई सुरक्षित आश्रय दिने गरेको आरोप इस्लामाबादले लगाउँदै आएको छ ।

यद्यपि, तालिबानले यस आरोपलाई अस्वीकार गर्दै लडाकुहरू पाकिस्तानको आन्तरिक समस्या भएको बताउँछ ।

रोयटर्सले बिहीबार रिपोर्ट गरेअनुसार हिंसा अन्त्य गर्न आग्रह गरिरहेको चीनको मध्यस्थता प्रयासले लडाइँ कम गर्न मद्दत पुर्याएको थियो ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर एन्द्राबीले पनि इस्लामाबाद र बेइजिङ अफगानिस्तानको विषयमा संवाद प्रक्रियामा संलग्न रहेको बताएका थिए ।