
एजेन्सी । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टीले प्रचण्ड बहुमतका साथ विजय प्राप्त गरेको भए पनि भारतसँगको ४ हजार ९६ किलोमिटर लामो सिमानामा अझ बढी स्थानीय र शक्तिशाली परिवर्तन भइरहेको छ ।
मतपरिणाम र स्थानीय प्रशासनिक रिपोर्टहरूले संकेत गरेअनुसार बंगलादेशका सीमावर्ती जिल्लाहरू इस्लामी कट्टपन्थीका नयाँ गढ बनिरहेका छन् । यसले बंगलादेश जमात–ए–इस्लामीलाई सिधै भारतको दैलोमा पुर्याएको छ ।
पश्चिममा सतखिरा र जशोरदेखि उत्तरमा दिनाजपुर र दक्षिणपूर्वमा कक्स बजारसम्म इस्लामी प्रभावको हरियो बेल्ट मजबुत हुँदै गइरहेको छ । राष्ट्रिय शहरी केन्द्रहरूमा फितलो प्रदर्शन गरे पनि जमात र उससँग जोडिएका कट्टरपन्थी समूहहरूले ग्रामीण सीमावर्ती क्षेत्रहरूमा सफलतापूर्वक शक्ति सञ्चय गरेका छन् ।
यसले ढाकाको नयाँ सरकार र नयाँ दिल्लीका सुरक्षा योजनाकारहरू दुवैका लागि भूराजनीतिक टाउकोदुखाइ सिर्जना गरेको छ ।
यी संवेदनशील क्षेत्रहरूमा जमातको पुनरुत्थान दशकौं लामो तल्लो तहको घुसपैठ रणनीतिको परिणाम भएको विश्लेषकहरू बताउँछन् । अवामी लिगले विगतमा जमातको केन्द्रीय नेतृत्वलाई दमन गरेको भए पनि राज्यको कमजोर उपस्थितिका कारण सिर्जना भएको रिक्ततालाई जमातका स्थानीय एकाइहरूले भरेका थिए ।
ढाकाको केन्द्रीय योजनाबाट उपेक्षित जिल्लाहरूमा जमातको सामाजिक सेवा, मदरसा र स्थानीय परोपकारी संस्थाहरूको सञ्जालले एक यस्तो सुरक्षाकवच प्रदान गरेको छ जुन धर्मनिरपेक्ष सरकारले गर्न सकेको थिएन ।
‘सीमावर्ती जिल्लाहरूमा स्थानीय सरकारी कार्यालयभन्दा प्रायः मस्जिद बढी प्रभावशाली हुन्छ,’ क्षेत्रीय सुरक्षा विश्लेषक डा. आरिफुल इस्लाम बताउँछन्, ‘जमातले केवल भोट मात्र जितेको नभई सामाजिक संरचना नै जितेका छन् । भारतका लागि यसको अर्थ हुन्छ, सीमाको केही मिटर मात्र टाढा बस्ने मानिसहरू ऐतिहासिक रूपमा नयाँ दिल्लीप्रति सशंकित रहने विचारधारासँग जोडिएका छन् ।’
सीमा क्षेत्रमा बढेको इस्लामी भावनाले भारतको गृह मन्त्रालयमा हलचल पैदा गरेको छ । चापाई नवावगन्ज जस्ता जिल्लाका गाउँका चोकहरूमा कट्टरपन्थी युवा समूहहरूले गस्ती गरिरहेको रिपोर्ट आएपछि भारतीय सीमा सुरक्षा बलले आफ्नो सतर्कता स्तर बढाएको बताइएको छ ।
नयाँ दिल्लीका दुईवटा मुख्य चिन्ता छन् । यी जिल्लाहरू विद्रोही समूहहरूका लागि सुरक्षित आश्रयस्थल बन्न सक्ने सम्भावना र बढ्दो साम्प्रदायिक अस्थिरताको जोखिमलाई भा।तले विचार गरिरहेको छ । बीएनपी सरकारले भारतसँग व्यावहारिक सम्बन्ध राख्न खोजिरहेका बेला सीमावर्ती जनसंख्याको कट्टरपन्थीकरणले त्यसमा ठूलो अवरोध खडा गर्नेछ ।
आतंकवादविरोधी मुद्दामा भारतसँग सहकार्य गर्ने ढाकाको कुनै पनि प्रयासले यी जमात समर्थक सीमावर्ती गढहरूमा हिंसात्मक प्रतिक्रिया निम्त्याउन सक्छ ।
यो परिवर्तन आर्थिक गुनासाहरूद्वारा पनि प्रेरित छ । सुरक्षा बलहरूद्वारा दशकौंदेखि हुँदै आएको सीमाक्षेत्रमा भएका हत्या र पानीको बाँडफाँट सम्बन्धी विवादहरूले भारतविरोधी भावनालाई ऊर्जा दिएको छ । त्यसलाई इस्लामी नेताहरूले कुशलतापूर्वक प्रयोग गरेका छन् ।
भारतलाई प्रभुत्वशाली छिमेकीका रूपमा चित्रण गर्दै जमातले सफलतापूर्वक धार्मिक पहिचानलाई राष्ट्रवादी गुनासोसँग जोडेको छ ।
भावी प्रधानमन्त्री तारिक रहमानका लागि दैलोमै रहेको जमातको समस्या टिकिङ टाइम बम जस्तै हो । उनले वाचा गरेको १० खर्ब डलरको अर्थतन्त्र बनाउन भारतसँग स्थिर व्यापार आवश्यक छ । तर, आन्तरिक शान्ति कायम राख्न उनले रणनीतिक सीमावर्ती क्षेत्रहरूमा बढ्दो इस्लामी भावनालाई बेवास्ता गर्न सक्दैनन् ।








प्रतिक्रिया