भारतसँग बंगलादेशको सम्बन्ध चिसिएपछि चीनको बढ्यो प्रभाव


एजेन्सी । सन् २०२४ मा भारत पक्षधर मानिने नेत्री शेख हसिना सत्ताच्युत भएपछि बंगलादेशमा चीनको प्रभाव झन् गहिरिने सम्भावना देखिएको छ ।

यसै हप्ता हुन लागेको निर्वाचनपछि यो प्रभाव अझ बढ्न सक्ने विश्लेषण गरिएको छ । तर, राजनीतिकर्मी र विश्लेषकहरूका अनुसार भारत ठूलो छिमेकी भएकाले उसलाई पूर्ण रूपमा किनारा लगाउन सम्भव छैन ।

बंगलादेशमा बिहीबार अर्थात् फेब्रुअरी १२ मा मतदान हुँदैछ । चुनावी प्रतिस्पर्धामा रहेका दुई प्रमुख दलहरूको भारतसँगको सम्बन्ध हसिनाको १५ वर्षे कार्यकालको तुलनामा निकै चिसो छ । हसिनाको दल ’अवामी लिग’ हाल प्रतिबन्धित छ र उनी हाल नयाँ दिल्लीमा निर्वासित जीवन बिताइरहेकी छन् ।

यसैबीच, चीनले ढाकामा आफ्नो लगानी र कूटनीतिक सक्रियता बढाएको छ । हालै मात्र चीनले भारतको सीमा नजिकै बंगलादेशमा ड्रोन कारखाना बनाउने रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । चिनियाँ राजदूत याओ वेन बंगलादेशी राजनीतिकर्मी, अधिकारी र पत्रकारहरूसँग भेटघाट गरिरहेका भेटिन्छन् र अर्बौं डलरका पूर्वाधार आयोजनाहरूका बारेमा छलफल गरिरहेका छन् ।

‘बंगलादेशका जनता भारतलाई शेख हसिनाका अपराधहरूको मतियारका रूपमा हेर्छन्,’ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का प्रधानमन्त्रीका मुख्य उम्मेदवार तारिक रहमानका विदेश मामिला सल्लाहकार हुमायूँ कबिरले रोयटर्सलाई बताए, ‘आतंककारीलाई शरण दिने र हाम्रो देशलाई अस्थिर बनाउन खोज्ने देशसँग सम्बन्ध गाँस्न वा व्यापार गर्न जनताले स्वीकार गर्ने छैनन् ।’

रहमान स्वयंले भने केही नरम शैली अपनाउँदै रोयटर्ससँग भने, ‘हामी सबै देशसँग मित्रता कायम राख्ने प्रयास गर्नेछौं तर अवश्य पनि हाम्रा जनता र देशको हितलाई प्राथमिकता दिनेछौं ।’

पछिल्ला साताहरूमा ढाका र दिल्लीको सम्बन्ध झन् बिग्रिएको छ, विशेषगरी क्रिकेटको क्षेत्रमा । बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि भएका आक्रमणपछि हिन्दुवादी समूहहरूको दबाबका कारण एक चर्चित बंगलादेशी बलरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) को टोलीबाट हटाइयो । यसको प्रतिक्रियास्वरूप ढाकाले मार्चदेखि मे महिनासम्म चल्ने आईपीएलको प्रसारणमा रोक लगायो ।

त्यस्तै, फेब्रुअरी–मार्चमा हुने पुरुष क्रिकेट विश्वकपका आफ्ना खेलहरू भारतबाट श्रीलंका सार्न माग गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सो माग अस्वीकार गरेपछि बंगलादेश प्रतियोगिताबाटै बाहिरियो ।

दुवै देशले एकअर्काका नागरिकका लागि भिसामा कडाइ गरेका छन् । हसिनाको पतनपछि भारतीय र बंगलादेशी अधिकारीहरूबीच सार्वजनिक भेटघाट विरलै भएका छन् । यद्यपि, भारतीय विदेशमन्त्री एस. जयशंकरले डिसेम्बरमा ढाकामा रहमानलाई भेटेर उनकी आमा तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा समवेदना प्रकट गरेका थिए ।

बंगलादेशको अन्तरिम सरकारले हसिनालाई सुपुर्दगी गर्न भारतसँग पटक–पटक माग गर्दै आएको छ तर सफल हुन सकेको छैन । ढाकाको एक अदालतले गत वर्षको अन्त्यमा हसिनालाई आन्दोलन दबाउन हत्याको आदेश दिएको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार, सो विद्रोहका क्रममा करिब १४ सय मानिस मारिएका थिए । तर, हसिनाले ती हत्याहरूको आदेश दिएको अस्वीकार गरेकी छन् ।

चुनावको पूर्वसन्ध्यामा बीएनपी र उसको निकटतम प्रतिद्वन्द्वी इस्लामिक दल जमात–ए–इस्लामीले एकअर्कालाई विदेशी शक्तिको पिछलग्गु भएको आरोप लगाएका छन् । जमातले बीएनपीलाई भारतको नजिक भएको आरोप लगाएको छ भने बीएनपीले जमातको पाकिस्तानसँगको ऐतिहासिक सम्बन्धतर्फ औंल्याएको छ ।

‘दिल्ली होइन, पिन्डी (रावलपिन्डी) होइन, बंगलादेश सबैभन्दा माथि,’ बीएनपी नेता रहमानले हालैको एक र्यालीमा भने ।
भारतीय अधिकारीहरूले अवामी लिग सत्तामा नभएका कारण अब जुन दलले सरकार बनाए पनि उनीहरूसँग संवाद गर्नुपर्ने कुरा निजी रूपमा स्वीकार गरेका छन् ।

चीन विगत एक दशकभन्दा बढी समयदेखि बंगलादेशको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ । दुई देशबीच वार्षिक व्यापार करिब १८ अर्ब डलर छ । हसिना सत्ताबाट हटेपछि पनि चिनियाँ कम्पनीहरूले बंगलादेशमा करोडौं डलर लगानी गरेका छन् ।

अर्कोतर्फ, हसिनाको पालामा बंगलादेशमा आफ्नो व्यवसाय विस्तार गरेका अडानी समूह जस्ता भारतीय कम्पनीहरूले भने त्यसयता कुनै नयाँ सम्झौता गर्न सकेका छैनन् ।

नयाँ दिल्लीस्थित थिंक ट्यांक सेन्टर फर सोसल एन्ड इकोनोमिक प्रोग्रेसका वरिष्ठ फेलो कन्स्टान्टिनो जेभियरका अनुसार, भारत र बंगलादेशको सम्बन्धमा आएको संकटबाट चीनले फाइदा उठाइरहेको छ र खुला रूपमा तथा पर्दापछाडि आफ्नो प्रभाव बलियो बनाउँदैछ ।

यद्यपि, विश्लेषकहरूका अनुसार चीनसँगको बढ्दो सम्बन्धको अर्थ भारतसँगको सम्बन्ध पूर्ण रूपमा टुट्नु होइन । ढाका विश्वविद्यालयकी लैलुफर यास्मिन भन्छिन्, ‘बंगलादेशलाई चीन र भारत दुवैको आवश्यकता छ । सत्तामा आउने जुनसुकै दलले पनि भारतलाई बेवास्ता गर्ने मूर्खता गर्ने छैन ।’

बंगलादेश तीनतिरबाट भारतले घेरिएको छ र व्यापार, पारवहन तथा सुरक्षाका लागि भारतमाथि निर्भर छ । भारतलाई पनि आफ्नो भूमि सीमा व्यवस्थापनका लागि ढाकासँग स्थिर सम्बन्ध आवश्यक छ ।

तथ्यांकअनुसार, राजनीतिक दरारका बाबजुद पनि दुई देशबीचको द्विपक्षीय व्यापार वार्षिक १३.५ अर्ब डलरमा स्थिर छ । अडानी समूहले पनि बंगलादेशमा विद्युत् अभाव कम गर्न पछिल्ला महिनाहरूमा आपूर्ति बढाएको छ ।

भारतले सन् १९७१ मा बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र गराउन मद्दत गरे पनि पानीको बाँडफाँट, सीमामा हुने हत्या र हसिनाको अलोकप्रिय शासनलाई भारतले वैधता दिएको भन्दै धेरै बंगलादेशीहरूमा भारतप्रति असन्तुष्टि छ ।

युवाहरूको समर्थन रहेको नेसनल सिटिजन पार्टी (एनसीपी) का प्रमुख नाहिद इस्लाम भन्छन्, ‘नयाँ दिल्लीको हैकमवाद युवाहरूले गहिरो रूपमा महसुस गरेका छन् र यो यस निर्वाचनको प्रमुख मुद्दाहरूमध्ये एक हो ।’