जापानमा प्रधानमन्त्री ताकाइचीको दलले प्रचण्ड बहुमत ल्याएपछि सेयर बजारमा कीर्तमान


एजेन्सी । सोमबार बिहान बजार खुल्नेबित्तिकै जापानी सेयर बजारले कीर्तिमानी उचाइ चुमेको छ ।

प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले ऐतिहासिक चुनावी विजय हासिल गरेपछि सेयर बजार उकालो लागेको हो ।

एलडीपीले आइतबारको चुनावमा ४६५ मध्ये ३१६ सिट सुरक्षित गरेको छ । सन् १९४७ मा जापानको संसद् वर्तमान स्वरूपमा स्थापना भएयता कुनै एउटै पार्टीले तल्लो सदनमा दुईतिहाइ बहुमत प्राप्त गरेको यो पहिलोपटक हो ।

एलडीपीको गठबन्धन साझेदार जापान इनोभेसन पार्टीले थप ३६ निर्वाचन क्षेत्रमा जीत हासिल गरेसँगै उनीहरूको कुल सिट संख्या ३५२ पुगेको छ ।

यो भारी जनमत ताकाइचीका लागि एक सफल दाउ साबित भएको छ । उनीसामु अब जापानको थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने र महँगीले जन्माएका समस्याहरू समाधान गर्ने चुनौती छ ।

सोमबारको सुरुवाती कारोबारमा निक्केई सूचकांक ५ प्रतिशतभन्दा बढीले बढेर केही समयका लागि पहिलोपटक ५७ हजारको बिन्दु पार गरेको छ ।

एलडीपीको यस निर्णायक जीतले ताकाइचीलाई विपक्षी दलहरूसँग विस्तृत रूपमा वार्ता नगरी आफ्ना व्यवसायमैत्री नीतिहरू अगाडि बढाउन मद्दत गर्नेछ ।

ताकाइचीले आइतबार पत्रकारहरूलाई बताएअनुसार, उनले जिम्मेवार तर आक्रामक आर्थिक नीति अवलम्बन गर्नेछिन् र चार महिनाअघि मात्र गठन भएको मन्त्रिपरिषद्लाई पुनर्गठन गर्ने छैनन् ।

जापानकी पहिलो महिला प्रधानमन्त्रीले अक्टोबरमा पदभार ग्रहण गरेको केही महिनापछि गत महिना मध्यावधि चुनावको घोषणा गरेकी थिइन् । उनको यो सफलता उनका दुई पूर्ववर्तीहरूको तुलनामा ठीक विपरीत छ । उनीहरूको पालामा भ्रष्टाचार काण्ड र बढ्दो महँगीका कारण पार्टीले संसदीय बहुमत गुमाएको थियो ।

ताकाइचीका नीतिहरूले जापानी अर्थतन्त्रलाई गति दिन सक्ने बजार विश्लेषकहरू बताउँछन् ।

चुनावको नतिजा र आगामी राहत प्याकेज, कर परिमार्जन र नियमन खारेजी जस्ता कदमहरूले सेयर बजारको वर्तमान बढ्दो क्रममा थप इन्धनको काम गर्ने लगानी विश्लेषक युका मारोसेकले बीबीसीलाई बताइन् ।

देशमा ऐतिहासिक रूपमा न्यून मुद्रास्फीति भएका कारण हालका वर्षहरूमा बढ्दो महँगीप्रति सर्वसाधारण निकै संवेदनशील बनेका छन् ।

यस चुनावमा मतदान केन्द्रमा रहेका मतदाताहरूले बीबीसीलाई खाद्यान्न र कोठाभाडाको बढ्दो खर्चबारे आफूहरू चिन्तित रहेको बताए ।

देशको वृद्ध जनसंख्याका कारण पनि अर्थतन्त्र दबाबमा छ जसले गर्दा कार्यबल घट्दै गएको छ र सामाजिक सुरक्षा खर्च अत्यधिक बढिरहेको छ ।

ताकाइचीले कर कटौती गर्ने र बढी खर्च गरेर जापानी अर्थतन्त्रलाई बढावा दिने प्रतिज्ञा गरेकी छन् । तर, जापानको उच्च सरकारी ऋणलाई हेर्दा त्यो पैसा कहाँबाट आउँछ भन्ने अर्को ठूलो चासोको विषय हो । यसले जापानको पहिले नै नाजुक रहेको अर्थतन्त्रमा अस्थिरता अझ बढाउन सक्ने आलोचकहरूले चेतावनी दिएका छन् ।

‘हामीले गरेका चुनावी प्रतिज्ञाहरूलाई निरन्तर पूरा गर्नमा केन्द्रित हुने अत्यन्तै ठूलो जिम्मेवारी हामीमा छ,’ ताकाइचीले आइतबार आफ्नो पार्टीको विजय स्पष्ट भएपछि भनिन् भनी क्योडोले रिपोर्ट गरेको छ ।

ताकाइचीका पूर्ववर्ती शिगेरु इशिबाको नेतृत्वमा एलडीपीले संसदीय बहुमत गुमाएको थियो । ताकाइचीले एलडीपीको गुमेको भाग्य फिर्ता ल्याउन आफ्नो व्यक्तिगत छविमा भर परिन् ।

उनले जापानको शान्तिवादी संविधान संशोधन गर्ने जस्ता लामो समयदेखि सुस्ताएका लक्ष्यहरूलाई पुनर्जीवित गरेर र परम्परागत मूल्यमान्यतामा जोड दिएर एलडीपीको कट्टरपन्थी समर्थकहरूमाझ आफ्नो पकड बलियो बनाएकी छन् ।

तर, उनले युवा मतदाताहरूसँग पनि पहिले कहिल्यै नदेखिएको तरिकाले सम्बन्ध स्थापित गरेकी छन् । उनका ह्यान्डब्याग र गुलाबी पेनहरू आश्चर्यजनक रूपमा लोकप्रिय सामग्री बनेका छन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ताकाइचीलाई उनको जीतमा बधाई दिँदै ट्रुथ सोसलमा लेखेका छन् । चुनावअघि उनलाई समर्थन गर्न पाउनु सम्मानको कुरा भएको उनको भनाइ छ ।

‘जापानका अद्भुत मानिसहरूले यस्तो उत्साहका साथ मतदान गरे । उनीहरूलाई मेरो सधैं बलियो समर्थन रहनेछ,’ ट्रम्पले बताए ।

सन् २०२५ को अक्टोबरमा ताकाइचीले पदभार ग्रहण गरेको एक हप्तापछि नै ट्रम्पले जापान भ्रमण गर्दा टोकियोले उनको भव्य स्वागत गरेको थियो । यो उनको कूटनीतिक सुरुवात थियो र त्यो दृश्य प्रभावशाली थियो ।

अमेरिकी राष्ट्रपतिले हजारौं अमेरिकी सैनिकहरूका अगाडि उनको प्रशंसा गर्दा ताकाइचीले मुट्ठी उठाएर अभिवादन गरिरहेकी थिइन् ।

ताकाइची ट्रम्पसँगको दोस्रो भेटका लागि मार्चमा वाशिङटन जाने कार्यक्रम छ ।