
एजेन्सी । दक्षिणी गाजापट्टीका दर्जनौं प्यालेस्टाइनी परिवारहरूलाई इजरायली सेनाले आफ्नो घर छाड्न आदेश दिएको छ ।
गत अक्टोबर महिनामा भएको युद्धविरामपछिको यो पहिलो जबर्जस्ती विस्थापन हो । सेनाले आफ्नो नियन्त्रणमा रहेको क्षेत्र विस्तार गरिरहेको मंगलबार स्थानीय बासिन्दा र हमासले जनाएका छन् ।
खान युनिसको पूर्वमा रहेको बनी सुहैलाका बासिन्दाहरूका अनुसार, सोमबार अल–रेकेब क्षेत्रका पालहरूमा बसिरहेका परिवारलाई लक्षित गरी पर्चाहरू खसालिएको थियो ।
‘अत्यन्त जरुरी सन्देश । यो क्षेत्र इजरायली रक्षा बलको नियन्त्रणमा छ । तपाईंहरूले तुरुन्तै यो ठाउँ खाली गर्नुपर्छ,’ बनी सुहैला शहरको अल–रेकेब क्षेत्रमा सेनाले खसालेका अरबी, हिब्रु र अंग्रेजी भाषामा लेखिएका पर्चाहरूमा उल्लेख गरिएको थियो ।
इजरायली सेनाले त्यस क्षेत्रबाट प्यालेस्टाइनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने कुनै योजना नभएको दाबी गरेको छ । उसले पर्चा खसालेको कुरा पुष्टि गरे पनि ती पर्चाहरू प्यालेस्टिनीहरूलाई हमाससँगको युद्धविराम रेखा पार नगर्न चेतावनी दिनका लागि मात्र भएको जनाएको छ ।
अक्टोबरमा अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौता हुनुअघिको दुई वर्षे युद्धका क्रममा इजरायलले ती क्षेत्रहरूमा पर्चाहरू खसाल्ने गर्थ्यो । त्यहाँ पछि छापा मारिन्थ्यो वा बमवर्षा गरिन्थ्यो । त्यसले गर्दा केही परिवारहरू पटकपटक बसाइँ सर्न बाध्य भएका थिए ।
स्थानीय बासिन्दा र हमास लडाकु समूहको एक स्रोतले त्यसयता पहिलोपटक यस्ता पर्चाहरू खसालिएको बताएका छन् ।
युद्धविराम पहिलो चरणभन्दा अघि बढ्न सकेको छैन । त्यसअन्तर्गत मुख्य लडाइँ रोकिएको छ, इजरायल गाजाको आधाभन्दा कम भूभागबाट पछि हटेको छ र हमासले प्यालेस्टाइनी बन्दी र कैदीहरूको बदलामा बन्धकहरूलाई मुक्त गरेको छ ।
वास्तवमा २० लाखभन्दा बढीको सम्पूर्ण जनसंख्या गाजाको करिब एक तिहाइ भूभागमा खुम्चिएका छन् । उनीहरू प्रायः अस्थायी पाल र क्षतिग्रस्त भवनहरूमा बसिरहेका छन् । त्यहाँ हमास नेतृत्वको प्रशासनको नियन्त्रणमा जनजीवन पुनः सुरु भएको छ ।
इजरायल र हमासले एकअर्कालाई युद्धविरामको गम्भीर उल्लंघन गरेको आरोप लगाएका छन् । अर्को चरणका लागि योजना गरिएका कठिन कदमहरूमा उनीहरूबीच अझै ठूलो मतभेद कायम छ ।
आफ्नो थर नबताउन आग्रह गरेका बनी सुहैला क्षेत्रका बासिन्दा महमुदका अनुसार, विस्थापनको आदेशले पाल र घरहरूमा बस्ने कम्तीमा ७० परिवारलाई असर गरेको छ । तीमध्ये कतिपय घरहरू आंशिक रूपमा क्षतिग्रस्त थिए ।
‘हामी त्यो क्षेत्र छोडेर पश्चिमतिर सरेका छौं । गत महिनादेखि इजरायलले पहेंलो रेखा विस्तार गरेको यो शायद चौथो वा पाँचौंपटक हो,’ उनले खान युनिसबाट टेलिफोनमार्फत रोयटर्सलाई बताए । उनले इजरायल पछि हटेको रेखालाई संकेत गर्दै यसो भनेका हुन् ।
‘प्रत्येकपटक उनीहरूले यसलाई प्यालेस्टाइनी नियन्त्रित क्षेत्रभित्र करिब १२० देखि १५० मिटर सारेर थप जमिन कब्जा गर्छन्,’ तीन सन्तानका पिता महमुदले बताए ।
हमासद्वारा सञ्चालित गाजा सरकारी सञ्चार कार्यालयका निर्देशक इस्माइल अल–थावाबताले युद्धविरामयता इजरायली सेनाले पूर्वी खान युनिसमा आफ्नो नियन्त्रणमा रहेको क्षेत्र पाँचपटक विस्तार गरेको र यसले कम्तीमा ९ हजार मानिसलाई विस्थापित हुन बाध्य बनाएको बताएका छन् ।
‘सोमबार १९ जनवरी २०२६ मा इजरायली सेनाले पूर्वी खान युनिस गभर्नोरेटको बनी सुहैला क्षेत्र खाली गर्न माग गर्दै चेतावनीमूलक पर्चाहरू खसालेको छ । यो कदम सर्वसाधारणलाई त्रसित बनाउने र दबाब दिने नीतिको हिस्सा हो,’ थावाबताले रोयटर्सलाई भने ।
उनले यस नयाँ विस्थापन आदेशले करिब ३ हजार मानिसलाई असर गरेको बताए ।
‘यस कदमले मानवीय अवरोधको स्थिति सिर्जना गरेको छ । पहिले नै सीमित रहेका आश्रयस्थलहरूमा दबाब बढाएको छ र गभर्नोरेटमा आन्तरिक विस्थापनको संकटलाई थप गहिरो बनाएको छ,’ थावाबताले थपे ।
इजरायली सेनाले यसअघि पहेंलो रेखा पार गरी आफ्ना सैनिकहरूतर्फ आउँदै गरेका आतंककारीहरूलाई पहिचान गरेपछि गोली चलाएको बताएको थियो । त्यसले उनीहरूलाई तत्काल खतरा पुर्याएको दाबी गरिएको थियो ।
उसले गाजाभरि हवाई आक्रमण र लक्षित सैन्य कारबाही जारी राखेको छ । इजरायली सेनाले गाजाका लडाकु समूहहरूले इजरायलमाथि आक्रमण गर्ने कुनै पनि प्रयासलाई अत्यन्त गम्भीरताका साथ हेर्ने बताएको छ ।
युद्धविरामको आगामी चरणहरूका बारेमा अझै सहमति जुट्न बाँकी छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको योजनाले हमासको निःशस्त्रीकरण, इजरायलको थप फिर्ती र अन्तर्राष्ट्रिय समर्थन प्राप्त प्रशासनद्वारा गाजाको पुनर्निर्माणको परिकल्पना गरेको छ ।
युद्धविराम लागू भएयता ४६० भन्दा बढी प्यालेस्टिनी र तीन इजरायली सैनिक मारिएको रिपोर्ट गरिएको छ ।
इजरायली तथ्यांक अनुसार, अक्टोबर २०२३ मा हमास नेतृत्वको लडाकुहरूले गरेको आक्रमणमा १२ सयजनाको मृत्यु भएपछि इजरायलले गाजामा आफ्नो सैन्य कारबाही सुरु गरेको थियो । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, इजरायली आक्रमणमा हालसम्म ७१ हजार मानिस मारिएका छन् ।








प्रतिक्रिया