भक्तपुरको खरिपाटीमा नयाँ फ्याक्ट्री खोल्दै क्वेस्ट फर्मास्युटिकल्स

231
Shares

काठमाडौं । क्वेस्ट फर्मास्युटिकल्सले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब साढे १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा १ अर्ब ३७ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले गत आवमा २ अर्ब ९० करोड रुपैयाँ, सन् २०२४ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब ५४ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ३२ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका औषधी उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २००१ मा मुटुरोगसम्बन्धी आफ्‌नो पहिलो अणु मिलोड औषधी बजारमा ल्याएको थियो ।

क्वेस्टले हाल हृदय तथा रक्तनलीसम्बन्धी औषधी, मधुमेह, छाला रोग, रगतमा बोसोको मात्रा नियन्त्रण गर्नेलगायतका विभिन्न रोगहरुको उपचारका लागि सामान्य तथा विशेष प्रकृतिका औषधीहरु उत्पादन गर्दै आएको छ ।

कम्पनीले हाल २५ भन्दा बढी औषधी समूहअन्तर्गत एक सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ । विशेषगरी मधुमेह तथा हृदय रोगसम्बन्धी औषधी क्षेत्रमा यसको मुख्य ध्यान केन्द्रित रहेको छ । कम्पनी स्वदेशी औषधी उत्पादनकहरूमध्ये प्रमुख उत्पादक कम्पनी हो ।

कम्पनीले केही वर्षअघि देखि नै उत्पादन क्षमता विस्तारका लागि निरन्तर रुपमा पुँजीगत लगानी गर्दै आएको छ । कम्पनीले आन्तरिक स्रोतबाट प्राप्त नगद प्रवाह तथा सीमित मात्रामा बाह्य ऋणको प्रयोगमार्फत् लगानी गर्दै आएका छन् ।

हाल भक्तपुरको खरिपाटीमा निर्माणाधीन अनुसन्धान तथा विकास केन्द्रसँगै कम्पनीले नयाँ उत्पादन केन्द्र स्थापना गर्ने योजना अघि बढाएको छ ।

कम्पनीले परियोजनालाई आगामी ४/५ वर्षको अवधिमा चरणबद्ध रुपमा कार्यान्वयन गर्ने योजना रहेकाले कम्पनीको तरलता स्थितिमा तत्काल ठूलो दबाब पर्ने सम्भावना कम रहेको रेटिङमा उल्लेख छ ।

कम्पनीको रिपोर्टअनुसार ऋण भुक्तानी तथा ब्याज दायित्व बहन गर्ने क्षमता मापन गर्ने सूचकहरूमा केही दबाब रहने अपेक्षा गरिएको छ ।

कम्पनीको कार्यशील पूँजी कर्जाको उपलब्ध सीमामा रहेको बाँकी उपयोगयोग्य क्षमता ५३ प्रतिशत रहेको छ । गत जनवरीको मध्यसम्ममा कम्पनीको २८ करोड १० लाख रुपैयाँ कार्यशील पूँजी रहेकाले केही राहत प्रदान गरेको उल्लेख छ । तर, कम्पनीले नयाँ उत्पादन केन्द्र विकासका लागि कम्पनीले योजना बनाएको ठूलो पुँजीगत खर्चले मध्यमअवधिमा कम्पजीको वित्तीय प्रोफाइलमा दबाब सिर्जना गर्न सक्ने रेटिङ जनाएको छ ।

रेटिङका अनुसार कम्पनीले योजना बनाएको योजनालाई लामो समयावधिमा चरणबद्ध रुपमा कार्यान्वयन गर्ने प्रस्तावले वित्तीय प्रोफाइलको दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

कम्पनीको गत जनवरी मध्यसम्ममा कम्पनीको सेयर स्वामित्व १५ व्यक्तिहरूसँग छ । कम्पनीमा चार निर्देशक छन् । उमेशलाल श्रेष्ठ, पृथ्वीराज भण्डारी, उत्तमकुमार श्रेष्ठ तथा शैलेन्द्रप्रसाद बर्माको संयुक्त रुपमा ४५ प्रतिशत स्वामित्व छ । बाँकी सेयरहरू निर्देशकका परिवारका सदस्यहरू र अन्य व्यवसायीका छन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५३ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँको रेटिङ गराएको हो ।
देशभर ५० भन्दा औषधी उत्पादक कम्पनीहरु छन् । उक्त कम्पनीहरुबीच निकै प्रतिस्पर्धा र विभाजित छन् ।