काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा रास्वपाबाट को-को बने उम्मेदवार ?


काठमाडौं । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ । आज मनोनयन दर्ताका लागि उम्मेदवारहरू निर्वाचन कार्यालय पुग्ने क्रम सुरू भएको छ ।

पार्टीले काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारहरूको तय गरेको हो ।

रास्वपाले यसपटक पुराना प्रभावशाली सांसदहरूलाई दोहोर्‍याउनुका साथै काठमाडौं महानगरका मेयर बालेन शाह निकट व्यक्तिहरूलाई पनि प्राथमिकता दिएको छ ।

काठमाडौंमा ६ पुराना र ३ नयाँ अनुहार

काठमाडौंका १० क्षेत्रमध्ये रास्वपाले अघिल्लो निर्वाचनमा जितेका तीनजना सांसदलाई पुरानै क्षेत्रमा निरन्तरता दिएको छ ।

क्षेत्र नम्बर ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ८ बाट विराजभक्त श्रेष्ठले पुनः टिकट पाएका छन् । तर, क्षेत्र नम्बर २ बाट विजयी भएकी सोविता गौतमलाई भने यसपटक चितवन–३ मा पठाइएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना उम्मेदवार बनेकी छन् । सुरुमा समानुपातिक सूचीमा रहेकी रञ्जुले नाम फिर्ता लिएपछि पार्टीले उनलाई प्रत्यक्षमा टिकट दिएको हो । विवेकशील साझाबाट राजनीति सुरु गरेकी रञ्जु गर्भवती अवस्थामा नै चुनावी मैदानमा उत्रिने हिम्मतका साथ चर्चामा छिन् ।

बालेनको ‘प्रभाव’

काठमाडौंका केही क्षेत्रमा मेयर बालेन शाहको सिफारिस र निकटताले काम गरेको देखिएको छ । काठमाडौं २ मा राप्रपा छाडेर आएका बागमती प्रदेश सांसद सुनील केसीले टिकट पाएका छन् । केसीलाई बालेनको कोटामा भित्र्याइएको भन्दै पार्टीभित्र केही असन्तुष्टि समेत देखिएको छ ।

काठमाडौं ३ मा महानगरका पूर्वनगरप्रहरी प्रमुख राजु पाण्डे उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर ५ मा बालेनको सचिवालयमा रहेका सस्मित पोखरेलले टिकट पाएका छन् । पोखरेललाई पार्टीले सहप्रवक्ताको जिम्मेवारी समेत दिने तयारी गरेको छ ।

क्षेत्र नम्बर ४ मा अभियन्ता पुकार बमले टिकट पाउँदा क्षेत्र नम्बर ९ मा उपसभापति डीपी अर्याल स्वयं चुनावी मैदानमा उत्रिएका छन्। अर्याल यसअघि समानुपातिक सांसद थिए । क्षेत्र नम्बर १० मा भने यसअघि पनि प्रतिस्पर्धा गरेका प्रदीप विष्टले नै पुनः अवसर पाएका छन् ।

ललितपुर र भक्तपुरमा को को ?

ललितपुर क्षेत्र नम्बर ३ मा डा. तोसिमा कार्कीले नै निरन्तरता पाएकी छन् । ललितपुर २ मा सञ्चारमन्त्रीबाट राजीनामा दिएका जगदिश खरेल उम्मेदवार बन्ने भएका छन् । उनी उम्मेदवार बन्ने भएसँगै उक्त क्षेत्रमा रास्वपा नेता कार्यकर्ता असन्तुष्ट बनेपछि सो क्षेत्रका दाबेदार बुद्धरत्न महर्जनलाई क्षेत्र नम्बर १ मा सारिएको छ ।

भक्तपुरतर्फ क्षेत्र नम्बर १ मा जिल्ला सचिव रुकेश रञ्जित उम्मेदवार बन्दा क्षेत्र नम्बर २ मा पूर्वपत्रकार राजीव खत्रीले टिकट पाएका छन्। खत्रीलाई एमाले नेता महेश बस्नेतको मुख्य प्रतिस्पर्धीका रूपमा रास्वपाले अघि सारेको हो । खत्रीले यसअघि काठमाडौं १० बाट आकांक्षा राखेका थिए ।