एसएमएस प्रकरणमा एनसेलले भन्यो: हाम्रा ग्राहकलाई सन्देश गएको छैन, आकाश टेकलाई गराइयो सचेत


काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले हालै एक बल्क एसएमएस सेवा प्रदायकमार्फत राजनीतिक सन्देश प्रवाह भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एनसेलले उक्त अनधिकृत एसएमएस आफ्ना ग्राहकहरूलाई प्रसारण नभएको स्पष्ट पारेको छ ।

एनसेलले एक विज्ञप्ति जारी गर्दै घटनाको आन्तरिक समीक्षा र सम्भावित जोखिमको मूल्याङ्कनपछि सम्बन्धित कम्पनीसँग साझेदारी गर्ने भ्यालु एडेड सर्भिस (भास) कम्पनी ‘आकाश टेक’ लाई सचेत गराइएको जानकारी दिएको छ ।

‘एनसेलले दूरसञ्चार सेवाको अनधिकृत वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानून, नैतिक मापदण्ड र ग्राहकको गोपनीयता उल्लङ्घन गर्ने कुनै पनि सामग्रीका लागि आफ्ना सेवाको प्रयोगलाई कडाइका साथ निषेध गरिएको छ ।’

एनसेलले आफू सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनी भएको दाबी गर्दै ग्राहकको वैयक्तिक गोपनीयतामा उच्चतम मापदण्ड कायम राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत र सम्झौतागत सुरक्षात्मक व्यवस्थाहरू लागू गरिएको बताउँदै एनसेलले कुनै पनि अनधिकृत उद्देश्यका लागि डाटा साझा नगर्ने स्पष्ट पारेको छ । एक जिम्मेवार सेवा प्रदायकका रूपमा प्रचलित कानूनको पालना गर्दै ग्राहक र सरोकारवालाको विश्वास कायम राख्न आफू सधैं प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

यसअघि राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन आह्वान गर्दै लाखौँ सर्वसाधारणलाई मोबाइलमा सन्देश (एसएमएस) पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार राति पक्राउ गरेको हो । सेढाईंले नेपाल टेलिकमको ‘एसएमएस गेटवे’ प्रयोग गरी ‘एटी अलर्ट’ को नामबाट करिब ५० लाख मानिसलाई राजनीतिक प्रकृतिको सन्देश पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीसँगको बयानका क्रममा उनले यसरी म्यासेज पठाउन दूरसञ्चार कम्पनीसँग सम्झौता गरेका दुईवटा कम्पनीमार्फत करिब १ करोड रुपैयाँ खर्च गरेको दाबी गरेका थिए ।

अनधिकृत रूपमा व्यक्तिगत गोपनीयतामाथि हस्तक्षेप गरी राजनीतिक अभियान चलाएको आरोपमा पक्राउ परेका सेढाईंमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सर्वसाधारणको व्यक्तिगत मोबाइल नम्बरमा बिना अनुमति राजनीतिक सन्देश आएपछि गोपनीयता भंग भएको भन्दै नेपाल टेलिकमको चर्को आलोचना भएको थियो ।

यसअघि टेलिकमले विज्ञप्ति जारी गरी आफ्नो बचाउ गरिसकेको छ ।