गृहयुद्धको चपेटामा परेको म्यान्मारमा आमनिर्वाचन सुरु, प्रथम चरणको मतदान हुँदै


एजेन्सी । गृहयुद्धको छायाँ र निर्वाचनको विश्वसनीयतामाथिको शंकाका बीच म्यान्मारका मतदाताहरूले आइतबारदेखि सुरु भएको आमनिर्वाचनमा मतदान गरिरहेका छन् ।

सन् २०२१ मा सैन्य कूले अन्तिम नागरिक सरकारलाई ढालेपछिको यो पहिलो निर्वाचन हो ।

त्यसबेलादेखि म्यान्मारमा शासन गरिरहेको सैन्य जुन्टाले यो मतदान गरिब दक्षिणपूर्वी एसियाली राष्ट्रका लागि राजनीतिक र आर्थिक रूपमा नयाँ सुरुवातको अवसर भएको बताएको छ ।

तर, यस निर्वाचनलाई संयुक्त राष्ट्रसंघ, केही पश्चिमा देश र मानवअधिकार समूह लगायतका आलोचकहरूले स्वतन्त्र, निष्पक्ष वा विश्वसनीय नभएको भनी उपहास गरेका छन् । निर्वाचनमा जुन्टाविरोधी राजनीतिक दलहरूले प्रतिस्पर्धा गरिरहेका छैनन् ।

नोबेल शान्ति पुरस्कार विजेता आङ सान सु चीको नेशनल लिग फर डेमोक्रेसीले सन् २०२० को अन्तिम आम निर्वाचनमा भारी बहुमतले जितेको केही महिनापछि सेनाले कू गरेको थियो । सु ची अझै पनि हिरासतमा छिन् र उनलाई सत्तामा पुर्याएको राजनीतिक दल खारेज गरिएको छ ।

बिहान ६ बजे मतदान सुरु भएलगत्तै प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमका अनुसार देशका ठूला शहरहरू यांगुन र मान्डलेका केही मतदान केन्द्रहरूमा मतदाताहरू बिस्तारै आउन थालेका थिए ।

गैरसैनिक पोशाकमा सजिएका जुन्टा प्रमुख मिन आङ ह्लाइङले कडा सुरक्षा घेरामा रहेको राजधानी शहर नेपिटोमा मतदान गरे । त्यसपछि मुस्कुराउँदै मसीले भिजेको कान्छी औंला देखाए ।

एक पटकभन्दा बढी मतदान नगरेको सुनिश्चित गर्न मतदाताले मतदान गरेपछि नमेटिने मसीमा औंला डुबाउनुपर्छ ।

विश्लेषकहरूले उनमा राष्ट्रपति बन्ने महत्त्वाकांक्षा रहेको बताएको सन्दर्भमा पत्रकारहरूले उनलाई देशको राष्ट्रपति बन्न चाहनुहुन्छ कि भनेर सोध्दा जनरलले आफू कुनै पनि राजनीतिक दलको नेता नभएको बताए ।

‘संसद्को बैठक बसेपछि राष्ट्रपति निर्वाचित गर्ने प्रक्रिया चल्छ,’ उनले भने ।

सु चीको पार्टीलाई अपदस्थ गरेपछि व्यापक विरोध प्रदर्शनहरू भएका थिए । त्यसलाई सेनाले हिंसात्मक रूपमा दमन गर्यो । धेरै प्रदर्शनकारीहरूले त्यसपछि जुन्टाविरुद्ध हतियार उठाए । त्यो देशभरिको विद्रोहमा परिणत भयो ।

यस निर्वाचनमा अवकाशप्राप्त जनरलहरूको नेतृत्वमा रहेको र गम्भीर रूपमा कमजोर प्रतिस्पर्धाका बीच कुल उम्मेदवारहरूको पाँचौं हिस्सा खडा गरेको सेनासम्बद्ध युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी सत्तामा फर्कने निश्चित रहेको थाइल्यान्डको कासेत्सार्ट विश्वविद्यालयकी लेक्चरर र म्यान्मार विशेषज्ञ ललिता हनवोङले बताइन् ।

‘जुन्टाको निर्वाचन जनतामाथि सेनाको प्रभुत्व लम्ब्याउनका लागि बनाइएको हो,’ उनले भनिन्, ‘र यूएसडीपी तथा सेनासँग सम्बन्धित अन्य मित्र दलहरूले मिलेर अर्को सरकार गठन गर्नेछन् ।’

आइतबारको प्रारम्भिक चरणपछि जनवरी ११ र २५ मा दुई चरणको मतदान हुनेछ । त्यसले म्यान्मारका ३३० टाउनशिपहरूमध्ये २६५ लाई समेट्नेछ यद्यपि सत्तापलटपछि देशलाई तहसनहस पारेको युद्धमा लडिरहेकाले जुन्टाको ती सबै क्षेत्रहरूमा पूर्ण नियन्त्रण छैन ।

मतगणना र निर्वाचन परिणाम घोषणा गर्ने मितिहरू घोषणा गरिएको छैन ।

देशका केही भागहरूमा अझै पनि लडाइँ जारी रहेकाले निर्वाचनहरू हिंसा र दमनको वातावरणमा भइरहेको संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले गत साता बताएका थिए ।

अघिल्ला निर्वाचन अभियानहरूको जस्तो ऊर्जा र उत्साह यसपटक नदेखिएको म्यान्मारका ठूला शहरका बासिन्दाहरूले बताए । तर, उनीहरूले जनतालाई मतदान गर्न बाध्य पार्न सैन्य प्रशासनले कुनै दबाब दिएको खबर भने गरेनन् ।

फिक्का चुनावी प्रचारप्रसारमा यूएसडीपी सबैभन्दा बढी देखिएको थियो । सन् २०१० मा स्थापना भएको यस दलले विपक्षीहरूले बहिष्कार गरेको निर्वाचन जितेको थियो । यस पार्टीले सन् २०१५ सम्म आफ्ना सैन्य समर्थकहरूसँग मिलेर देश चलाएको थियो । त्यसपछि त्यसलाई सु चीको एनएलडीले सत्ताबाट हटाएको थियो ।

निर्वाचनले द्वन्द्वबाट बाहिर निस्कने मार्ग प्रदान गर्ने जुन्टाले दाबी गरेको छ ।

जुन्टा–नियन्त्रित निर्वाचन आयोगका अनुसार, म्यान्मारमा पहिलोपटक ५० हजारभन्दा बढी इलेक्ट्रोनिक भोटिङ मशिनहरूमार्फत मतदान भइरहेको छ । त्यसले गणनालाई छिटो बनाउनेछ र धाँधलीको सम्भावनालाई हटाउनेछ ।

रुस, चीन, बेलारुस, काजाकस्तान, कम्बोडिया, भियतनाम, निकारागुआ र भारतका निर्वाचन पर्यवेक्षकहरू मतदानअगावै देशमा आइपुगेका सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।

व्यापक द्वन्द्वका बीचमा स्थिर प्रशासन स्थापना गर्ने जुन्टाको प्रयास जोखिमले भरिएको छ र कुनै पनि सैन्य–नियन्त्रित सरकारका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने सम्भावना कम छ ।

जुन्टाका प्रवक्ता जाउ मिन टुनले अन्तर्राष्ट्रिय समुदायमा जारी निर्वाचनलाई समर्थन नगर्ने आलोचकहरू हुने कुरा स्वीकार गरे ।
“तर यस निर्वाचनबाट राजनीतिक स्थिरता आउनेछ,’ नेपिटोमा मतदान गरेपछि उनले पत्रकारहरूलाई भने, ‘हामी विश्वास गर्छौं कि भविष्य अझ राम्रो हुनेछ ।’