आफ्नो हवाई क्षेत्र नजिक आएको रुसी विमानलाई रोकेको पोल्यान्डको दाबी


एजेन्सी । बाल्टिक समुद्रमा आफ्नो हवाई क्षेत्र नजिक उडिरहेको एक रुसी विमानलाई जेट विमानहरूले रोकेको पोल्यान्ड सेनाले बिहीबार जनाएको छ ।

२० भन्दा बढी रुसी ड्रोनहरू पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको केही दिनपछि नै तीनवटा रुसी सैन्य जेटहरूले इस्टोनियाको हवाई क्षेत्र १२ मिनेटसम्म उल्लंघन गरेको सेप्टेम्बर महिनादेखि नेटोको पूर्वी क्षेत्रका देशहरू सम्भावित हवाई घुसपैठलाई लिएर उच्च सतर्कतामा छन् ।

‘आज बिहान बाल्टिक समुद्रको अन्तर्राष्ट्रिय जलक्षेत्रमा पोल्यान्डका लडाकु जेट विमानहरूले पोल्यान्डको हवाई क्षेत्रको सिमाना नजिक उडिरहेको एक रुसी विमानलाई रोकेर आफ्नो जिम्मेवारीको क्षेत्रबाट बाहिर पठाए,’ सेनाले बतायो ।

रातको समयमा बेलारुसको दिशाबाट पोल्यान्डको हवाई क्षेत्रमा केही वस्तुहरू प्रवेश गरेको देखिएको पनि उसले जनायो ।

‘विस्तृत विश्लेषणपछि ती वस्तुहरू हावाको दिशा र गति अनुसार उडिरहेका सम्भवतः तस्करीका बेलुनहरू भएको निष्कर्ष निकालिएको थियो,’ सेनाले भन्यो ।

बेलारुससँग सीमा जोडिएको उत्तरपूर्वी पोल्यान्डको पोड्लास्की क्षेत्रको हवाई क्षेत्रको केही भाग सुरक्षा सुनिश्चित गर्न नागरिक उडानका लागि अस्थायी रूपमा बन्द गरिएको पनि सेनाले थपेको छ ।

Skip This