
काठमाडौं । बिमा कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा यस वर्ष लगानीकर्तालाई वितरण गर्ने लाभांशको घोषणा चाँडै गरिरहेका छन् । अघिल्ला वर्षसम्म निकै ढिला गरी लाभांश घोषणा गर्ने बिमा कम्पनीहरुले यस वर्ष भने मंसिरदेखि नै धमाधम लाभांश घोषणा गरिरहेका हुन् ।
गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरेका बिमा कम्पनीले गत वर्षको बिमाङ्किय मूल्यांकन प्रतिवेदनका आधारमा बिमितहरुका लागि नयाँ बोनसदर पनि छिट्टै घोषणा गरिरहेका छन् । हालसम्म आधा दर्जन बिमा कम्पनीले आफूले वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन् ।
हुन त सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको पुस मसान्तभित्र अघिल्लो वर्षको साधारण सभा सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, बिमा कम्पनीहरुको साधारणसभा प्रायः ढिला नै हुने गरेको थियो । बिमा कम्पनीहरुको एक्चुअरी भ्याल्यू निकाल्नु पर्ने र यसका कारण बढी समय लाग्ने भन्दै लाभांश प्रस्ताव गर्ने र साधारण सभा बोलाउने कार्यमा बिमकले ढिलाई गर्दै आएका थिए ।
अघिल्ला वर्षसम्म एकाध कम्पनीले मात्र पुसमसान्त भित्र साधारणसभा डाक्ने गरेको अवस्थामा यस वर्ष भने सो स्थिति बदलिएको छ। बैंक, फाइनान्सहरुले छिट्टै साधारणसभा गर्ने गरेपनि बिमा कम्पनीहरुमा भने एक्चुअरी भ्यालुएसन गर्नुपर्ने कारण देखाउँदै विलम्बको काम हुँदै आएको थियो ।
देशभित्रै भ्यालुएसन गर्न दक्ष जनशक्तिको अभाव भएकाले बाहिर पठाउँदा बढी समया लाग्ने विषय पनि बिमा कम्पनीले राख्ने गरेका थिए । यद्यपि, यस पटक भने बिमा कम्पनीहरुले पुस मसान्तभित्रै वार्षिक साधारणसभा सम्पन्न गर्ने किसिमले लाभांश घोषणा गरिरहेको देखिन्छ ।
‘गत वर्ष समयमा वित्तीय विवरण नबुझाउने, वित्तीय विवरण स्वीकृत गर्दा राखेका सर्त पूरा नगर्ने कम्पनीहरुलाई नियामकीय कारबाही गरिएको थियो,’ नेपाल बिमा प्राधिकरणका सूचना अधिकारी (उपनिर्देशक) पूर्णबहादुर थापाले क्लिकमान्डुसँग भने, ‘सोही कारण यस वर्ष बिमा कम्पनीले केही छिटो गरेर लाभांश घोषणा गरेको देखिन्छ ।’
थापाका अनुसार गत वर्ष कानूनी व्यवस्थाअनुसार आफ्नो कामकारबाही अघि नबढाउने तथा नियामकीय प्रावधान पालना नगर्ने बिमा कम्पनीलाई प्राधिकरणले सचेत गराउनेदेखि कम्प्लायन्स समेत तिराएको थियो । गत वर्षको जस्तै कारबाही यस वर्ष भोग्न नपरोस् भन्ने सोचका साथ हाल बिमा कम्पनीले लाभांश घोषणालाई तीब्रता देखाएको देखिन्छ ।
शरद ओझा गत फागुनमा प्राधिकरण अध्यक्षको भूमिकामा आउनसाथ बिमा क्षेत्रमा पारदर्शीता र अनुपालना सुनिश्चित हुने गरी काम गर्नेमा जोड दिएका थिए । सो समयमा छ महिनाभित्र लेखापरीक्षण प्रतिवेदन नबुझाएका, वित्तीय विवरण स्वीकृत गर्ने बेला दिएका निर्देशन पालना नगरेका कम्पनीलाई कारबाहीको दायरामा ल्याउने काममा लागि परेका थिए ।
सोही क्रममा बिमा प्राधिकरणले गत वर्ष ३२ बिमा कम्पनीलाई कारबाहीसमेत गरेको थियो । सात वटै लघु बिमा कम्पनी, १२ निर्जीवन बिमा कम्पनी, १२ वटै जीवन बिमा र १ पुनर्बिमा कम्पनी समयमै वित्तीय विवरण पेश नगर्ने, वित्तीय विवरण स्वीकृत गर्दा राखेका सर्त पूरा नगर्ने तथा प्राधिकरणबाट तोकिएको मापदण्ड उल्लंघन गरेको विषयमा नियामकीय कारबाहीमा परेका थिए ।
प्राधिकरणले गत वर्ष चालेको यहि कदमका कारण यस वर्ष बिमा कम्पनीहरुले समयमै वार्षिक साधारणसभा सम्पन्न गर्ने योजनाअनुरुप लाभांश घोषणा गरेको सूचना अधिकारी थापाले बताए । ‘समयमा वित्तीय विवरण नबुझाएमा गत वर्ष जस्तै यस वर्ष पनि कारबाहीमा परिने त्रासले गर्दा बिमा कम्पनीहरुले सोअनुरुप लाभांश घोषणा कार्य अगाडि नै गरेको हुन्’ थापाले भने ।
कम्पनी ऐन, २०६३ मा प्रत्येक पब्लिक कम्पनीले कारोबार सुरु गर्ने इजाजत पाएको एक वर्षभित्र प्रथम वार्षिक साधारणसभा गर्नु पर्ने र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पुरा भएको छ महिनाभित्र वार्षिक साधारण सभा गर्नु पर्ने व्यवस्था छ ।
कुनै पब्लिक कम्पनीले म्याद नाघेको तीन महिनाभित्र पनि वार्षिक साधारणसभा नबोलाएमा कार्यालयले त्यस्तो कम्पनीको वार्षिक साधारण सभा बोलाउन दिन सक्ने सम्मको व्यवस्था उक्त ऐनमा गरिएको छ । बिमा ऐन, २०८० को दफा ४३ मा बिमा कम्पनीले लाभांश घोषणा गर्नुअघि तोकिए बमोजिम प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० मा लाभांश घोषणा सम्बन्धी व्यवस्था छ । जसमा बिमा कम्पनीले पेश गरेको कागजात तथा विवरण जाँच गर्दा उपयुक्त देखिएमा प्राधिकरणले लाभांश घोषणा गर्न स्वीकृति दिन सक्ने प्रावधान छ । साथै, यसै निर्देशनमा कागजात तथा विषयको जाँच गर्दा प्राधिकरणले लाभांश घोषणा नगर्न निर्देशन दिन वा शर्तसहित लाभांश घोषणा गर्न स्वीकृति दिन सक्ने सम्मको व्यवस्था छ ।
यहि व्यवस्थाअनुसार हाल बिमा प्राधिकरणले छिट्टै लाभांश घोषणा गरेका हुन् । ‘विगतका वर्षको तुलनामा यस वर्ष बिमा कम्पनीले लाभांश घोषणा गर्ने कार्य छिट्टै भएको छ,’ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले भने, ‘बिमा कम्पनीले पनि एक्चुअरीलाई देखाउनुपर्ने र प्राधिकरणले पनि एक्चुअरीलाई देखाएर स्वीकृति गर्दा ढिला हुने गरेको थियो ।’
तथापि, भण्डारीले भने अघिल्ला वर्षहरुमा बिमा कम्पनीले समयमै वित्तीय विवरण पठाउँदासमेत ढिला हुने गरेकोमा यस वर्ष भने चाँडो भएको बताए । बिमा प्राधिकरणको काम विगतका वर्षहरुको भन्दा छिटो हुँदा यस वर्षको लाभांश घोषणा कार्य सधैंको भन्दा चाडो भएको उनको तर्क छ ।
बिमा ऐनको परिच्छेद १९ को दफा १३४ मा कुनै बिमकले ऐन वा ऐनअन्तर्गत बनेको नियम, विनियम वा निर्देशन वा आदेश उल्लंघन गरेको पाइएमा वा प्राधिकरणमा गलत विवरण वा तथ्यांक पेस गरेको देखिएमा त्यस्तो बिमक वा निजको कुनै सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी वा बिमा मध्यस्थकर्ता वा अन्य बिमा सेवा प्रदायकलाई प्राधिकरणले कारबाही गर्न सक्ने व्यवस्था छ ।
यस व्यवस्थाअनुसार प्राधिकरणले लिखितरुपमा सचेत गराउने वा चेतावनी दिने, सुधारका लागि कबुलियत गराउने वा निश्चित अवधि तोकी कुनै सुधार गर्न आदेश दिने, बिमकको सम्पत्ति वा बहीखाता नियन्त्रणमा लिने, सेयरधनीलाई वितरण गर्ने लाभांश, बोनस सेयर वा हकप्रद सेयर वितरण वा जारी गर्न रोक लगाउने अधिकार दिइएको छ ।
यस्तै, बिमकको सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी तथा बिमा मध्यस्थकर्तालाई निलम्बन गर्ने वा निलम्बन गर्न बिमकलाई आदेश दिने, बिमा व्यवसाय सञ्चालन गर्न आंशिक वा पूर्णरुपमा रोक लगाउने, इजाजतप्राप्त बिमा कम्पनी खारेज गर्न सम्बन्धित उच्च अदालतसमक्ष निवेदन दिने लगायत कसुरअनुसार कारबाहीको अन्य व्यवस्था गरिएको छ ।
यहि, व्यवस्थामा टेकेर गएको वर्ष निलम्बित अध्यक्ष ओझाले बिमा प्राधिकरणको नियामकिय भूमिकालाई सक्रिय बनाएका थिए । सो कारण वर्षौंदेखि कानुनी मापदण्डअनुसार काम नगरेका बिमा कम्पनी हच्किएका थिए । अर्थात्, नियामक दरिलो ढंगमा अगाडि आएको भन्दै बिमा कम्पनीमा गलत गर्नु हुँदैन नत्र अप्ठ्यारोमा परिन्छ भन्ने सन्देश प्रवाह भएको थियो जसको प्रतिक्रिया हाल बिमा कम्पनीले समयमै लाभांश घोषणा गर्नुले पनि देखाउँछ ।
लाभांश घोषणा गरेका बिमा कम्पनी
आइएमई लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सको मंसिर २५ गते बिहीबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत अर्थात ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने १६.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
वार्षिक साधारण बोलाएका बिमक
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस १४ गतेको लागि आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाइसकेको छ । लाभांश प्रस्ताव नगरेको कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोडको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश योजनासहित वार्षिक साधारण बोलाएको हो ।







प्रतिक्रिया