
काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिकाे विवादकाे टुंगाे नलाग्दै उक्त फाइल खाेलिएको छ । सर्वोच्च अदालतमा मुद्दा परेकाे महाप्रबन्धक नियुक्तिकाे विवादको विषयमा पर्यटन मन्त्रालयले भने अदालतकाे कुनै जानकारी नआएको भन्दै फाइल खाेल्न सुरु गरिसकेकाे मन्त्रालय स्रोतले क्लिकमान्डुलाई जानकारी दिएको छ ।
आन्तरिक काम कारवाही अगाडि बढाउने भन्दै फाइल खोलिएको पनि स्रोतले दाबी छ । सर्वोच्चको पत्र बुझेर जवाफसमेत दिइसकेकाे विषयलाई पन्छाउँदै यही मंसिर २२ मा महाप्रबन्धकमा आवेदन दिएकाहरुको फाइल खोलिएको मन्त्रालय स्रोतको दाबी छ । स्रोतका अनुसार २२ गतेकाे छनोट समितिको बैठकबाट आन्तरिक प्रकृया अगाडि बढाउन सिलबन्दी गरिएको फाइल खुलेको हो ।
समिति बैठकमा सर्वोच्चको कुनै पत्र र जानकारी नआएकोले प्रकृया अगाडि बढाउन बाधा नपर्ने जानकारी महाप्रवन्धक छनोट समिति संयोजक तथा पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी गराएको एक सदस्यले बताए । जबकी पूर्वपर्यटन सचिवले नै यो विषयमा अदालतलाई जवाफ दिइसकेका छन् ।
नेपाल वायुसेवा निगम महाप्रवन्धक नियुक्तिको विषयमा निगमकै पूर्वकर्मचारी अच्युतराज (एआर ) पहाडीले हालेको यो रिटलाई महाप्रवन्धक छनोट समिति संयोजकले खारेजीको माग गरेर लिखित जवाफ समेत दिइसकेकाे छ ।
निगमको महाप्रवन्धक नियुक्तिका लागि पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वको एक छनोट समितिले निगममा महाप्रवन्धक नियुक्तिको मापदण्ड बनाएर गत कात्तिक २७ गते सार्वजनिक प्रस्ताव माग गरेको थियो । उक्त प्रस्तावउपर १६ जनाले आवेदन दिएका छन् ।
आवेदनको मिति सकिने ४ दिन अगाडि नै मंसिर ७ गते पहाडीले निगममा विज्ञलाई उमेरहदले छेक्न नहुने मागगर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनको रिट निवेदनमा सर्वोच्च अदालतले मंसिर ९ गते नै विपक्षिबाट १५ दिनभित्रै लिखित जवाफ माग गरेको थियो ।
पहाडीको रिटलाई खारेज गर्नुपर्ने माग गर्दै पर्यटन सचिव तथा निगमको महाप्रवन्धक छनोट समिति संयोजक हरिप्रसाद मैनालीले १६ मंसिरमै सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । नेपाल वायुसेवा निगमको तालुक निकायको भएकोले सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई छनोट समितिको संयोजक तोकेको हो ।
हाल मैनाली पर्यटन सचिवबाट सुरुवा भइसकेको छन भने पदेन संयोजक भएकोले हालका पर्यटन सचिव मुकुन्दप्रसाद निरौला स्वतः यो समिति संयोजक हुने छ । समितिका सदस्यमा पर्यटन मन्त्रालयकै सहसचिव तथा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने र निगमकै पूर्वक्याप्टेन कुलबहादुर लिम्बु (केबी) सदस्य छन् ।
संयोजकले दिएको लिखित जवाफमा सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदपण्ड २०७३ अनुसार छनोट समितिले निगमको महाप्रवन्धक छनोट कार्यविधि २०८२ बनाएको उल्लेख छ । यो छनोट समितिले रिट निवेदनको संवैधानिक र कानूनी हकको हनन नभएको दाबी गरिएको छ ।
पर्यटन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट प्रकृयागत रुपमै महाप्रवन्धक नियुक्त गर्न खोजिएको भन्दै पहाडीको रिट निवेदन खारेजीमा माग उक्त लिखित जवाफमार्फत सर्वोच्चमा पेश भएको छ ।
सर्वोच्चमा निगमको महाप्रवन्धक नियुक्तिको रिट परेको र लिखित जवाफासमेत दिइसकेकोले महाप्रवन्धक नियुक्तिको काम कारवाही रोकिएको छ । पर्यटन मन्त्रालयले आवेदन परेका सबैको दरखास्तलाई सिलबन्दी लाहालाहाछाप लगाइ सुरक्षित राखिएको जानकारी पनि दिएको छ ।
यी हुन वायुसेवा निगममा आवेदन दिनेहरु
टंकनिधि दाहाल, भिम बहादुर चन्द, चिरञ्जीवी उपाध्याय, दीपकप्रसाद बास्तोला,ई.अभिनव कार्की, उपेन्द्रबहादुर कार्की, प्रकाशचन्द्र अधिकारी, वेद प्रसाद उप्रेती, सन्तुष्टकुमार बस्नेत, सुमन भट्टराई,विष्णुबाबु मिश्र, सन्जय कुमार, योगराज कडेल शर्मा, दीपुराज ज्वारचन, आशिष थापा र रघुनाथ विडारी छन् ।










प्रतिक्रिया