
काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रवन्धक नियुक्तिको आवदेशविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
नेपाल वायुसेवा निगमका पूर्वकर्मचारी अच्चुतराज पहाडीले पर्यटन सचिव हरिप्रसाद मैनाली नेतृत्वको वायुसेवा निगममा महाप्रवन्धक छनोट गर्न बनेको समितिले वायुसेवा निगम ऐन २०१९ विपरीत कार्यविधि बनाएर विज्ञलाई छेक्ने गरी उमेरहद राखेको भन्दै रिट परेको छ । पहाडीले हालेकाे उक्त रिटमा मंगलबार नै प्रारम्भिक सुनुवाइसमेत भइसकेकाे छ ।
पहाडीको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजालासले मंसिर ९ मा प्रारम्भिक सुनुवाइ गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको छ । सर्वोच्चले यस रिटका सम्बन्धमा १५ दिनभित्रै कारण पेश गर्न आदेश दिएको छ भने दुबै पक्षलाई छलफलमा बलाउने गरी मंसिर १४ गते (आइतबार)का लागि पेसी तोकेको छ ।

पहाडीले निगमको कार्यकारी प्रमुख नियुक्त गर्दा विज्ञ व्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा ३० वर्षे व्यक्तिले आवेदन दिनुपर्ने र ६५ वर्ष ननाघेको भनेर सीमा तोकिदिएको भन्दै यसलाई खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।
वायुसेवा निगमका महाप्रवन्धक छनोट समितिले कात्तिक २७ मा १५ दिनको समय दिएर माग गरेको दरखास्तमा ३० वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ । यो व्यवस्था वायुसेवा निगम ऐन २०१९ तथा यस अघि वायुसेवा निगमको संरचनागत सुधारसम्बन्धी कुलबहादुर लिम्बु नेतृत्वको एक समितिले दिएको प्रतिवेदन विपरीत भएको दाबी गरिएको छ ।
लिम्बुको प्रतिवेदनले निगमको संरचनागत सुधार गर्न कार्यकारी प्रमुख लागि योग्यता तथा अनुभव तोक्दा उमेरहद ४० वर्ष ननाघेको राख्न र माथिल्लो सीमाको बारेमा उल्लेख नगरी सुझाव दिएको थियो । निगम ऐनले पनि कार्यकारी प्रमुख नियुक्तिको लागि कुनै उमेरहद नतोकेको दाबी रिट निवेदन पहाडीको छ ।
पहाडीले क्लिकमान्डुसँग भने ‘संस्था राम्रो बनाउन योग्यता र क्षमता भएका व्यक्ति छान्नुपर्नेमा विज्ञलाई उमेरहदले छेक्ने गरी कार्यविधि बनाएर आफूलाई आवदेन दिनबाट रोकिएको छ ।’ पहाडीले निगमको कार्यकारी प्रमुखको लागि आवेदन दिने रुची देखाएको भएपनि उनलाई उमेरहदले कारण बञ्चित गरिएको छ ।
पहाडी निगममा लामो समय काम गरेका र हवाई उड्डयन विज्ञका रुपमा काम गरिसकेका भएपनि ६५ वर्षे उमेरहदका कारण ६७ वर्षिय पहाडी महाप्रवन्धकको लागि आवेदन दिनबाट बञ्चित भएका हुन् ।

निगमले आफू अनुकुल कार्यविधि बनाउने र सिमित व्यक्तिलाई मात्रै नियुक्त गर्ने यस्तो गर्ने गरेको दाबी पनि उनको छ । यस अघि मदन खरेललाई नियुक्त गर्न ५५ वर्ष ननाघेको कार्यविधि बनाएका निगमले फेरि त्यसपछि ६५ वर्ष नाघेको सुगतरत्नलाई नियुक्त गर्दा भने उमेरहद राखेको थिएन् ।
त्यसो त निगमले यस अघि एयरहोस्टेज नियुक्त गर्दा पनि फरक फरक हाइट र उमेर तय गर्ने गरेको विषयले पनि निगम सुधारको लागि विज्ञलाई उमेरहदले छेक्न नहुने तर्क पहाडीको छ ।
वायुसेवा निगमको रिक्त महाप्रवन्धकको लागि मागिएको १५ दिने आवेदनको आज (विहीबार) अन्तिम दिन हो । बुधबारसम्म नै ७ जनाभन्दा बढीले आवेदन दिइसकेकाले विहीबार थप आवेदन आउने निगमले जानकारी दिएको छ ।
निगमको पदपूर्ति छनोट समितिले रिक्त महाप्रबन्धक पदको पदपूर्तिको लागि दरखास्त आव्हान सम्बन्धी सूचनाको १(ख) मा पैसठ्ठी वर्ष ननाघेको भनी उमेर हद तोकेको छ । यो सूचना संविधान, ऐन र कानुन सम्मत नरहेको र प्रचलित ऐन विपरीत रहेको दाबी गर्दै यो सूचना बदर गरी विपक्षी पदपूर्ति समितिका काम कारबाही तत्काल रोक्न रिट निवेदक पहाडीले माग गरेका छन् ।
पर्यटन मन्त्रालय सम्बध्द सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ३(क)सँग बाझिएको हुँदा बदर गरी अमान्य घोषित गर्न उक्त रिट निवेदनले माग गरेको छ ।







प्रतिक्रिया