
काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रवन्धक पदका लागि १६ जनाको आवेदन परेको छ । निगम स्रोतका अनुसार आवेदन दिनेमा, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व कर्मचारी, वायुसेवा निगमका उच्च तहका कर्मचारी, हवाई उड्डयनका जानकार, इन्जिनियरदेखि हवाई क्षेत्रका लागि नयाँ अनुहारसम्मले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा हवाईक्षेत्रमा जानकार र विज्ञका रुपमा वायुसेवा निगमकै निर्देशकसम्म भएका व्यक्तिहरु छन् ।
निगमका मार्केटिङ विभागका निर्देशक टंकनिधि दाहाल, हवाई क्षेत्रका विज्ञ योगराज शर्मा कँडेलदेखि नयाँ अनुहारहरुले आवेदन दिएका छन । निगमको महाप्रवन्धकको लागि आवेदन दिनेमा नेपाल आर्मीको हवाई उडान विभागका काम गरिसकेका डा. दीपकप्रकास बास्तोला, भिमबहादुर चन्द, निगमका पूर्व कर्मचारी चिरन्जीवि उपाध्याय छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अपरेसन म्यानेजर सन्तुष्ट कुमार बस्नेत, उड्डयन प्राधिकरणका पूर्व कर्मचारी रघुनाथ विडारी, हवाई व्यवस्थापनमा काम गरेका आशिष थापा, इन्जिनियर अभिनव कार्की, काठमाडौं र धनगढीमा हवाई संग्रहालय सञ्चालन गरिरहेका क्याप्टेन वेदप्रसाद उप्रेती, क्यानका पूर्व कर्मचारी विष्णुबाबु मिश्रसहितका व्यक्तिहरुले आवेदन दिएका छन् ।
निगममा रिक्त रहेको महाप्रवन्धक पदपूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छनोट समिति बनेको छ । यो समितिले विहीबारसम्मको समय दिएर १५ दिने सूचना निकालेर आवदेन माग गरेको छ ।
छनोट समितिले आवदेकहरुमध्येबाट तोकिएको शर्त पालना गरेहरुलाईलाई सर्ट लिष्ट गर्ने र कार्यपत्र प्रस्तुतीसहित अन्तरवार्ताको प्रक्रिया पूरा गरेर उपयुक्तमध्ये तीन जनाको नाम सिफारिश गर्ने छ । यो समितिले सिफारिस गरेकामध्येबाट एक जनालाई सरकारले निगमको आगामी ४ वर्षका लागि कार्यकारी प्रमुख अर्थात महाप्रवन्धक पदमा नियुक्त गर्ने छ ।







प्रतिक्रिया