
काठमाडौं । अब व्यक्तिगत प्यान कार्ड बनाउन कर प्रशासनका कार्यालय धाउनुपर्ने आवश्यकता रहेन । घरमै बसेर सजिलै प्यान कार्ड प्राप्त हुने भएको छ । सोमबार राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय परिचयपत्र बाहकले घरै बसेर प्यान नम्बर लिन सकिने प्रणालीको सुरुवात पनि गरिसकेका छन् ।
यसअघि सबै विवरण अनलाइनबाट भरे तापनि विवरण प्रमाणीकरण गर्न सम्बन्धित कर कार्यालय पुग्नुपर्दथ्यो । अब भने राष्ट्रिय परिचयपत्र नम्बर हाले व्यक्तिगत विवरण प्रमाणीकरण गर्न सकिनेछ ।
तर यसका प्रक्रिया के छन् ? यसबारे तपाईंलाई जानकारी नहुन सक्छ । आज हामी राष्ट्रिय परिचयपत्र भएकाहरूले कसरी घरै बसेर व्यक्तिगत स्थायी लेखा नम्बर अर्थात् प्यान कार्ड लिने ? भन्नेबारे जानकारी दिँदैछौं ।
सर्वप्रथम आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा जानुहोस् । त्यसपछि त्यहाँ रहेको करदाता पोर्टलमा क्लिक गर्नुहोस् ।
करदाता पोर्टलभित्र रजिस्ट्रेसनमा क्लिक गर्नुहोस् । रजिस्ट्रेसनमा क्लिक गरेपछि एप्लिकेसन फर पीप्यान रजिस्ट्रेसनमा क्लिक गर्नुहोस् ।
त्यसपछि मोबाइल नम्बर राख्ने स्थान खुल्छ । त्यहाँ राष्ट्रिय परिचयपत्रमा जुन मोबाइल नम्बर प्रविष्ट गरिएको छ, सोही मोबाइल नम्बर राख्नुहोस् र त्यहाँ देखाइएको क्याप्चा पनि इन्टर गर्नुहोस् । त्यसपछि यसअघि मोबाइल नम्बरमा ओटीपी आउँछ, सो ओटीपी राख्नुहोस् ।
ओटीपी राखेर इन्टर गरेपछि कुन आन्तरिक राजस्व कार्यालयअन्तर्गत प्यान दर्ता गर्ने हो, सो कार्यालय चयन गर्नुहोस् । त्यसपछि ‘के तपाईंसँग राष्ट्रिय परिचयपत्र छ?’ भनेर प्रश्न सोधिन्छ, जहाँ ‘यस’ वा ‘नो’ अर्थात् छ वा छैन भन्ने विकल्प दिइएको हुन्छ । यदि परिचयपत्र छ भने ‘यस’ मा क्लिक गर्नुहोस् र छैन भने ‘नो’ क्लिक गर्नुहोस् । राष्ट्रिय परिचयपत्रमार्फत् प्यान बनाउने भएकाले यस थिचेर राष्ट्रिय परिचयपत्र नम्बर राख्नुहोस् र कन्टिन्यु प्रेस गर्नुहोस् ।
कन्टिन्यु प्रेस गरेपछि ‘तपाईंको यो विवरण आन्तरिक राजस्व विभागमा (तोकिएको स्थान) मा दर्ता हुनेछ, के तपाईं अगाडि बढ्न चाहनुहुन्छ?’ भनेर एउटा प्रश्न सहितको सन्देश पपअप डिस्प्ले हुन्छ । त्यसमा ‘यस’ क्लिक गरेर अगाडि बढेपछि तपाईंको सबै विवरण देखाइन्छ । तपाईंको राष्ट्रिय परिचयपत्रमा व्यक्तिगत विवरण यसअघि नै जोडिएको हुनाले एनआईडीमा भएका सबै विवरण स्वतः देखिन्छ । त्यसकारण बासिन्दाको प्रकार छानेर अगाडि बढ्न सकिन्छ । नेपालको बासिन्दा भएकाले बासिन्दा सेलेक्ट गर्नुपर्नेछ ।
त्यसपछि राष्ट्रिय परिचयपत्रमा भएको सबै विवरण देखिन्छ । अस्थायी र स्थायी ठेगाना चयन गरेर नेक्स्ट-नेक्स्ट गरेर अगाडि बढ्न सकिन्छ । त्यसपछि डकुमेन्ट सेक्सनमा पुगिन्छ । त्यहाँ राष्ट्रिय परिचयपत्रमा भएको नागरिकता नम्बर, जारी गरेको मिति र जारी गर्ने कार्यालय देखिन्छ । ती सबै डकुमेन्ट चेक गरेर नेक्स्ट गर्नुपर्छ । त्यसपछि पारिवारिक विवरण भर्ने स्थानमा पुगिन्छ । जहाँ बुवा अथवा आमा मध्ये एक जनाको नाम राखेपछि राष्ट्रिय परिचयपत्रमा भएको पारिवारिक विवरण यहाँ पनि स्वतः देखिन्छ । पारिवारिक विवरणबाट नेक्स्ट गरेपछि फाइनान्सियल इन्फर्मेसनमा पुगिन्छ ।
तपाईंको सम्पत्ति विवरण राष्ट्रिय परिचयपत्रमा प्रविष्ट नगरिएकाले उक्त विवरण आफैले राख्नुपर्ने हुन्छ तर यो अनिवार्य भने छैन, नराख्दा पनि हुन्छ ।
यदि सम्पत्ति विवरण राखेको खण्डमा आम्दानीको स्रोत, रोजगारको किसिम, बैंक खाताको विवरण राख्न सकिन्छ । अन्यथा सम्पत्ति विवरण नराखी अगाडि बढ्न पनि सकिन्छ ।
अन्त्यमा सम्पूर्ण विवरण राखेपछि प्रिभ्यू गर्न सकिन्छ ।
यदि केही विवरण मिस्टेक छ भने प्रिभ्यूमा गएर कहाँ मिस्टेक छ, त्यो सेक्सनमा क्लिक गरेर सच्याउन मिल्ने विवरण सच्याउन सकिन्छ । तर राष्ट्रिय परिचयपत्रमा पहिले नै प्रविष्ट भएका विवरण भने सच्याउन मिल्दैन । अन्य थप गरिएका विवरण भने सच्याउन सकिन्छ ।
अन्त्यमा यी सबै विवरण ठीक छ भनेर सेलेक्ट गरेर सबमिट गर्नुपर्छ । सबमिट गरिसकेपछि तपाईंको प्यान नम्बर जेनरेट अर्थात तयार हुन्छ । उक्त प्यान नम्बर इमेल अथवा तपाईंको मोबाइल नम्बरमा सन्देशमार्फत प्राप्त हुनेछ ।
फारम सबमिट गरेकै समयमा तपाईंले ओके थिचेपछि यहाँबाट प्यान कार्ड प्रिन्ट गर्ने विकल्प पनि दिइन्छ ।
यसरी यी प्रक्रियाबाट घरमै बसेर अनलाइनबाट आफ्नो व्यक्तिगत प्यान कार्ड लिन सकिन्छ । यो प्रक्रियाका लागि हालको जस्तो कर कार्यालय पुग्नै पर्दैन ।







प्रतिक्रिया