सगरमाथाबाट स्की गर्दै यसरी झरेका थिए पोल्याण्डका ३७ वर्षीय बार्गियल (भिडियो)

1.6k
Shares

काठमाडौं । पोल्याण्डका ३७ वर्षीय स्कीचालक आन्द्रेज बार्गियलले अतिरिक्त अक्सिजनको प्रयोग नगरी सगरमाथाको शिखरबाट स्कीमार्फत अवतरण गरे ।

असोज ६ गते सगरमाथाको ४ नम्बर बेस क्याम्प पुगेका उनी सोही दिन दिउँसो ३ बजे उनले त्यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने यात्रा सुरु गरेका थिए ।

क्याम्प नम्बर ४ बाट हिँडेको १६ घण्टामा उनी सगरमाथाको चुचुरोमा पुगेका हुन् । शिखरमा पुगेको केही समयमै उनले स्की बाँधेर अवतरण सुरु गरेका थिए । बिना अक्सिजन स्केटिङ गरेर फर्किएको उनको भिडियो सार्वजनिक भएको छ । रेड बुलको युट्युब च्यानलमा सार्वजनिक उक्त भिडिओमा स्केटिङ गर्दै उनी तल झरेको हेर्न सकिन्छ । दिउँसो ३:१७ बजेको समयमा सगरमाथाको चुचुरोमा पुगेको दृश्यबाट भिडियो सुरू हुन्छ ।

सगरमाथाको शिखरबाट ८,७९० मिटर उचाइमा रहेको हिलारी स्टेप पार गर्न उनलाई तय गरिएको समयभन्दा धेरै ढिलो भयो। त्यसका कारण अँध्यारो परेको बेला अगाडि बढ्नु अत्यन्त जोखिमपूर्ण र कठिन बन्यो।

भोलिपल्ट बिहान, उनले आफ्नै भाइ बार्तेकले उडाएको ड्रोनको मार्गदर्शन लिएर खतरनाक खुम्बु हिमपहिरो क्षेत्र हुँदै स्कीमार्फत तल झरे। बेस क्याम्पमा सुरक्षित रूपमा पुगेसँगै, उनले अतिरिक्त अक्सिजन विना नै सगरमाथा आरोहण र स्कीमार्गबाट अवरोहण पूर्ण गर्ने पहिलो व्यक्ति बन्न सफल भए ।

समुद्री सतहबाट ८,००० मिटरभन्दा माथिको उचाइलाई ‘डेथ जोन’ भनिन्छ। यहाँ कृत्रिम अक्सिजन विना मानिसहरू करिब १७–१८ घण्टामात्र बाँच्न सक्ने बताइन्छ । बार्गियलले डेथ जोनमा अक्सिजन बिना नै १८ घन्टा बिताएको भिडियोमा उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय माउण्टेन गाइड समेत रहेका उनले सन् २०१८ मा पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल केटुबाट पनि स्की अवतरण गरेर इतिहास रचेका थिए ।

नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि उनले नेपाल पर्यटन बोर्डसँग भदौ ५ गते अनुमति लिएका थिए । उनले अवतरण गर्ने बेलामा स्की गरेरै अवतरण गर्नको लागि बोर्डबाट अनुमति लिएका थिए ।

बार्गियलले लोत्से हिमाल पनि सोही अनुसार नै अवतरण गर्ने अनुमति लिएका थिए । तर, मौसम खराबीको कारण गर्न सकेका थिएनन् ।