काभ्रे उद्योग वाणिज्य संघले मनायो ४३ औं वार्षिक साधारण सभा

21
Shares

काठमाडौं । काभ्रे उद्योग वाणिज्य संघको‌ ४३ औं वार्षिक साधारण सभा एवं ५९ औं स्थापना दिवस सम्पन्न भएको छ ।

संघकाअध्यक्ष प्रताप वैद्यको सभापतित्वमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले प्रत्येक आन्दोलनमा उद्योग, व्यवसाय र निजी सम्पत्ति निशानामा पर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरे । उनले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसँग भेटी निजी क्षेत्रको मनोबल उच्च राख्ने पहल गरिएको बताए ।

सभामा अध्यक्ष वैद्यले उद्योगी–व्यवसायीका लगानीको सुरक्षा, उद्योगमैत्री नीति, रोजगार सृजना तथा विकास निर्माणमा निजी क्षेत्रको योगदानबारे धारणा व्यक्त गर्दै सरकारले लगानीका लागि अनुकूल वातावरण बनाउनुपर्ने आग्रह गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष अञ्जन श्रेष्ठ, सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, भरत आचार्य लगायत विभिन्न स्थानीय निकायका प्रमुख तथा उद्योगी–व्यवसायीहरुको सहभागिता थियो ।

सभाले वार्षिक प्रतिबेदन तथा लेखा प्रतिवेदनमा छलफल गरी पारित गरेको छ । साथै बस्तुगत अन्तर्गत पार्टी प्यालेस तथा क्याटरिङ्ग वस्तुगत संयोजकमा लक्ष्मी नारायण श्रेष्ठ लगायत ३९ जना सदस्य र कार्यसमितितर्फ (आमन्त्रित )सदस्य १८ जना मनोनित गरेको छ ।