
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले निजी क्षेत्रका विभिन्न तहमा फरक–फरक किसिमको प्रभाव पारेको छ । बैंक तथा बिमा क्षेत्रजस्तो तुलनात्मक रूपमा सुरक्षित मानिने क्षेत्रमा प्रत्यक्ष भौतिक क्षति नदेखिए पनि आन्दोलनले सिर्जना गरेको अनिश्चितताले लगानी र विश्वासको वातावरणमा असर गरेको छ।
खासगरी जेनजी प्रदर्शनपछि लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ भने आम मानिसमा एक किसिमको अनिश्चितताको स्थिति सिर्जना भएको छ । जेनजी आन्दोलनले सिर्जना गरेको अनिश्चितताले सुदृढ हुँदै गएको लगानी वातावरणमा धक्का दिएको छ ।
लगानी तथ्यांक र नाफाको गणनामा मात्र आधारित हुँदैन । यो स्थायित्व, सुरक्षा र भरोसासँग गाँसिएको विषय हो । राज्यले लगानीकर्तालाई दीर्घकालीन सुरक्षा र स्पष्ट दिशानिर्देश नसक्दा लगानीको मात्रा बढ्न सक्दैन । त्यसैले अहिले लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् ।
आन्दोलनपछि वित्तीय संस्थामा नकारात्मक असर पुगेको छ भने दक्ष जनशक्ति र लगानीकर्ताको सोचमा परिवर्तन आएको छ । अनिश्चित वातावरणमा दीर्घकालीन योजना बनाउन कठिन हुने, नयाँ लगानीको निर्णय रोकिने र जोखिमप्रति संवेदनशील बन्ने प्रवृत्ति बढेको छ । यसले समग्र अर्थतन्त्रमा असर पारेको छ ।
आन्दोलनपछिको अवस्थामा व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू उत्तीर्ण हुनका लागि आवश्यक अंक पुग्ने खालका छैनन् । सरकारको अभिभावकीय भूमिकाको अनुभव कुनै पनि क्षेत्रका लगानीकर्ताले गर्न पाएका छैनन् । राहत र संवादका केही पहलहरू देखिए पनि ती पर्याप्त र प्रभावकारी छैनन् । व्यावसायिक समुदायलाई स्पष्ट सुरक्षाको प्रत्याभूति र सरकारी प्रतिबद्धताको कार्यान्वयन निजी क्षेत्रले अपेक्षा गरेको मुख्य कुरा हो ।
भविष्यमा यस्ता आन्दोलन वा आक्रमणबाट निजी क्षेत्रलाई जोगाउन राज्यको भूमिका निर्णायक हुन्छ । कानुन उल्लंघन गर्नेहरूमाथि कडा र देखिने कारबाही हुनुपर्छ । व्यावसायिक सम्पत्ति र सुरक्षाको सुनिश्चितताका लागि विशेष संयन्त्र र लगानीकर्तालाई प्रत्यक्ष रूपमा विश्वास दिलाउने सरकारी आश्वासन अहिलेको आवश्यकता हो । नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारको नेतृत्वदायी भूमिका अपरिहार्य छ । लगानीकर्ताले सुन्न चाहेको कुरा भाषण होइन, व्यवहार हो ।
सम्पत्तिको रक्षा र सुरक्षाको प्रत्याभूति, कानुनको प्रभावकारी कार्यान्वयन र राजनीतिक स्थिरताले मात्र निजी क्षेत्रको भरोसा फर्काउन सक्छ । भौतिक क्षतिभन्दा पनि लगानीकर्ताहरूको विश्वास गुम्नु खतरनाक कुरा हो । जेनजी आन्दोलनले दिएको सबैभन्दा ठूलो सन्देश यही हो । यसलाई बुझेर सरकार र निजी क्षेत्र अघि बढ्न आवश्यक छ ।
(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पौडेलले दिएको जवाफका आधारमा तयार पारिएको हो।)








प्रतिक्रिया