मिराया वेलनेसले तीन दिने सिग्नेचर वेलनेस रिट्रिट गर्दै, जेनिशा मोक्तानको विशेष उपस्थिति

21
Shares

काठमाडाैं । व्यस्त दैनिकीबाट विश्राम लिँदै शरीर र मनलाई पुनर्ताजगी गराउने उद्देश्यका साथ मिराया वेलनेसले आगामी साउन १० देखि १२ गतेसम्म (जुलाई २५-२७) तीन दिने ‘सिग्नेचर वेलनेस रिट्रिट’ आयोजना गर्ने भएको छ।

नवलपुरकोमा आयोजना हुने यस ३ दिने र २ रातको कार्यक्रममा सहभागीहरूलाई एक पूर्ण रूपान्तरणकारी स्वास्थ्य यात्रामा लगिनेछ। कार्यक्रमको मुख्य आकर्षणको रूपमा चर्चित माइन्डसेट कोच, उद्यमी तथा इन्फ्लुएन्सर जेनिशा मोक्तानको विशेष उपस्थिति रहनेछ । उनले सहभागीहरूलाई मानसिक स्वास्थ्य र सकारात्मक सोचका बारेमा प्रेरित गर्नेछिन्।

यस रिट्रिटमा सहभागीहरूले विलासी बसोबासका साथै स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिने विभिन्न गतिविधिहरूमा सहभागी हुन पाउनेछन्। जसमा व्यक्तिगत आयुर्वेदिक परामर्श, दैनिक योग तथा ध्यानका सत्रहरू, साउन्ड हिलिङको विशेष अनुभव र खेतबाट सिधै भान्सासम्म ल्याइएका ताजा एवं सात्विक भोजनहरू समावेश छन्।

रिट्रिटको पहिलो दिन सहभागीहरूको आगमनपछि ग्राउन्डिङ सेसन र डाक्टरसँगको परामर्श हुनेछ भने साँझमा शाश्वतधाम मन्दिरमा आरती दर्शनको व्यवस्था गरिएको छ। दोस्रो दिन हठ योग, आयुर्वेदिक उपचार र जर्नल राइटिङ जस्ता गतिविधिहरू हुनेछन् भने अन्तिम दिन साउन्ड बोल सेसन र समापन समारोहपछि कार्यक्रमको विसर्जन गरिनेछ।

यस स्वास्थ्य यात्रालाई सफल बनाउन अनुभवी विशेषज्ञहरूको टोली खटिनेछ। भारतको केरलाबाट आएकी १० वर्षभन्दा लामो अनुभव प्राप्त आयुर्वेदिक चिकित्सक डा. क्रिस्टिना फ्रान्सिसले सहभागीहरूको स्वास्थ्य परीक्षण र परामर्श प्रदान गर्नेछिन्।

फिलिपिन्सकी अनुभवी योग तथा साउन्ड हिलिङ प्रशिक्षक सर्मिन एनी जाओले कुण्डलिनी योग, रेकी र साउन्ड बोल हिलिङमार्फत सहभागीहरूलाई गहिरो मानसिक शान्तिको अनुभव गराउनेछिन्।

आध्यात्मिकता, योग र गल्फको विशिष्ट संगम रहेको मिरैया वेलनेसमा आयोजना हुने यस कार्यक्रमले मानिसलाई आफ्नो वास्तविक स्वरूपसँग पुनर्मिलन गराउने विश्वास लिइएको छ।

मिरायाले यस विशेष वेलनेस प्याकेजको मूल्य दुई जनाका लागि ४० हजार नेपाली रुपैयाँ तोकेको छ, जसमा सबै सुविधाहरू समावेश गरिएको छ। सिमित सिटहरू उपलब्ध रहेको यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले मिराया वेलनेसमा सम्पर्क गर्न सक्ने पनि वेलनेसले जानकारी दिएको छ ।