निजी क्षेत्रले अर्थतन्त्रमा दिएको योगदानको प्रचार र प्रशंसा कसैबाट नहुँदा हामीमाथि आक्रमण भयो

0
Shares

नेपालको निजी क्षेत्रले विभिन्न कालखण्डमा धेरै आरोह–अवरोह झेल्दै आएको छ । तर, भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मैले जे–जस्तो अनुभव गरें, त्यसले मलाई भित्रैदेखि हल्लाइदिएको छ ।

यस प्रदर्शनका क्रममा मेरो व्यवसायमा पनि भौतिक तथा आर्थिक क्षति भयो । लुटपाट र तोडफोडका कारण करोडौं रुपैयाँको नोक्सानी भयो । तर, मेरा लागि त्यो आर्थिक अंकभन्दा पनि ठूलो त मनोवैज्ञानिक क्षति हो । व्यवसायका भत्किएका संरचना त समयक्रममा पूर्ति होला । तर, त्यसले मेरो मनोबलमा पारेको गहिरो असरको भरपाई सहज छैन । आज म थप लगानी गर्ने वा व्यवसाय विस्तार गर्न ‘पर्ख र हेर’ को अवस्थामा छु ।

जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले बेहोर्नुपरेको क्षति केवल व्यापारिक प्रतिष्ठानमा मात्र सीमित रहेन । यसपटक प्रहारको प्रकृति निकै गम्भीर र व्यक्तिगत थियो । प्रदर्शनकारीहरू व्यवसायीहरूलाई व्यक्तिगत रूपमा लक्षित गर्दै उनीहरूको निजी निवासमै पुगेर आक्रमणमा उत्रिए । मानिसले संसारमा सबैभन्दा सुरक्षित ठान्ने आफ्नै घरभित्रै असुरक्षित हुनुपर्ने र ज्यान जोगाउन घरै छोडेर भाग्नुपर्ने परिस्थिति सिर्जना हुनु आधुनिक समाजको सबैभन्दा गम्भीर भौतिक र मनोवैज्ञानिक क्षति हो ।

मेरा व्यावसायिक सवारीसाधनहरूमा आगजनी गर्ने प्रयास गरियो । यसले मुलुकमा व्यवसायीहरू कतै पनि सुरक्षित छैनन् भन्ने सन्देश फैलाएको छ । त्यसकारण व्यवसायी र कर्मचारीहरूमा उत्पन्न भएको मानसिक तनावले काम गर्ने वातावरणलाई पूर्णतः विचलित पारेको छ ।

कोभिड–१९ को लामो र कष्टकर असरपछि बल्ल–बल्ल अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिन थालेका थिए । अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासिकदेखि बजारमा केही उत्साह सञ्चार भएको थियो । चालू आर्थिक वर्षको साउन र भदौमा राजस्व वृद्धिदर उत्साहजनक थियो र निर्माण क्षेत्रमा पनि माग बढ्न थालेको थियो । ठ्याक्कै त्यही समयमा भएको यस आन्दोलनले सुदृढ हुन लागेको लगानीको वातावरणलाई गम्भीर धक्का दिएको छ ।

नेपालमा हरेक १०–१० वर्षमा हुने राजनीतिक परिवर्तन र आन्दोलनले व्यवसायीहरूमा ‘देश कता जान्छ’ भन्ने अन्योल सधैं रहन्छ । जेनजी प्रदर्शनले सोही अनिश्चिततालाई पुनः ब्युँताइदिएको छ । सुरक्षा र स्थायित्व नभएको ठाउँमा लगानीकर्ताले जोखिम मोल्न सक्दैनन् ।

जेनजी आन्दोलनले म व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको पोस्ट जेनजी मुभमेन्ट स्ट्रेस धेरै छन् । डर, असुरक्षा, अनिश्चितताजन्य तनाव धेरै छन् ।

पहिलो तनाव राजनीतिक अस्थिरताको भयले दिएको छ । ‘राजनीतिक परिस्थिति कता जान्छ’ भन्ने अहिलेको मुख्य तनाव हो । चुनावको चर्चा र अदालतका निर्णयहरूले सिर्जना गर्ने अनिश्चितताले व्यावसायिक योजनाहरू प्रभावित भएका छन् ।

यता १०–१० वर्षमा हुने परिवर्तनको डरले गर्दा व्यवसायीहरूले दीर्घकालीन लगानी गर्न डराउने र अल्पकालीन मुनाफाका लागि मात्र सोच्नुपर्ने बाध्यकारी तनाव सिर्जना भएको छ ।

यसरी भविष्यमा आफ्नो व्यवसाय र लगानी कति सुरक्षित रहला भन्ने प्रश्नले व्यवसायी र कर्मचारी दुवैमा मानसिक बोझ थपेको छ ।

जेनजी प्रदर्शनपछि सरकारले व्यवसायीहरूको आत्मविश्वास फर्काउन केही कदमहरू चालेको छ । खासगरी सुरक्षाको आश्वासन र कानुनी प्रक्रियाको सुरुवात मुख्य विषय हुन् ।

सरकारले शान्ति सुरक्षाको व्यवस्थापन गर्ने र निजी क्षेत्रलाई संरक्षण दिने कुरामा प्रतिबद्धता जनाएको छ । ‘निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धन’ का एजेन्डाहरूमा सरकार सकारात्मक देखिएको छ । सुरुमा उजुरी वा किटानी जाहेरी दर्ता गर्न समेत आनाकानी गर्ने प्रशासनले अहिले निवेदन लिने र दोषीमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने कार्य सुरु गरेको छ । त्यसले व्यवसायीमा केही हदसम्म ‘कन्फिडेन्स’ दिन खोजेको देखिन्छ ।

व्यवसायीको मनोबल बढाउन सरकारले धेरै काम गर्नुपर्ने देखिन्छ । आश्वासन मात्र पर्याप्त छैन । सरकारले नीतिगत स्थिरता र निरन्तरता सुनिश्चित गर्नुपर्छ । निजी क्षेत्रप्रति समाज र राज्य दुवैको विश्वास बढाउने वातावरण बनाउनुपर्छ ।

भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट धेरै किसिमका पहलहरूको आवश्यकता छ । निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति (दृष्टिकोण) बदल्न अथक प्रयासको खाँचो छ ।

प्रथमतः निजी क्षेत्रप्रतिको सामाजिक र सरकारी धारणा परिवर्तन गर्न व्यापक पहलको आवश्यकता छ । हाम्रो समाजमा नाफा कमाउनु वा धनी हुनु अपराध हो, नाफा गर्नेले लुटेका हुन् भन्ने भाष्य नै गलत छ । यस मानसिकतालाई बदलेर उद्योग व्यवसाय गर्नु राष्ट्रसेवा हो भनी बुझाउनुपर्छ ।

यसैगरी विद्यार्थीले पढ्ने पाठ्यक्रममा व्यापक परिवर्तनको खाँचो छ । स्कुल र कलेजको पाठ्यक्रममै उद्यमशीलता र व्यवसाय सञ्चालनका विषयहरू समावेश गरिनुपर्छ । युवाहरूलाई ‘जागिर खाने’ मात्र होइन ‘जागिर दिने’ मानसिकताका साथ तयार पारिनुपर्छ ।

त्यसो त निजी क्षेत्रले अर्थतन्त्रमा दिएको योगदानको प्रचार खासै हुँदैन । कसैबाट प्रशंसा पनि हुँदैन । निजी क्षेत्रले राज्यले भन्दा बढी रोजगारी सिर्जना गरिरहेको यथार्थ (जस्तै, राज्यले वार्षिक हजारौंजनालाई जागिर दिन नसक्दा निजी क्षेत्रले लाखौंलाई दिइरहेको) सर्वसाधारणलाई बुझाउनुपर्छ ।

यसमा व्यवसायी, मिडिया, सरकार लगायतको विशिष्ट भूमिका रहन्छ । व्यवसायीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत समाजमा अहिलेको भन्दा बढी प्रत्यक्ष योगदान पुर्‍याउनुपर्छ र स्पष्ट नीति बनाएर सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ । मिडियाले नकारात्मकता मात्र नफैलाई निजी क्षेत्रका सकारात्मक र सफल कथाहरूलाई स्थान दिनुपर्छ ।

यसैगरी सरकारले निजी क्षेत्रलाई शत्रुको रूपमा नभई साझेदारको रूपमा हेर्ने दृष्टिकोण विकास गर्नुपर्छ । निजी क्षेत्रमाथिको दृष्टिकोण बिस्तारै परिवर्तन भए यस्ता गतिविधिको तारोमा हामी व्यवसायी पर्ने थिएनौं ।

अन्त्यमा, नेपालमा लगानीमैत्री वातावरण बनाउनका लागि केही गर्नैपर्ने कामहरू छन् । त्यसमा सरकारको भूमिका सबैभन्दा धेरै छ । खासगरी व्यावसायिक लागत घटाउने विषयमा सरकारको मुख्य भूमिका हुन्छ । यातायात र ढुवानीको लागत घटाउन राजमार्ग र पूर्वाधारको छिटो र गुणस्तरीय निर्माण हुनुपर्छ । नारायणगढ–बुटवल सडकखण्ड १० वर्ष लगाइनु हुँदैन ।

अर्को विषय नीतिगत स्थिरता र सरलता हो । मन्त्री फेरिएपिच्छे नीति फेरिने परिपाटी अन्त्य हुनुपर्छ । कम्तिमा १० वर्षका लागि स्थिर र प्रक्षेपणयोग्य नीतिहरू हुनुपर्छ ।

व्यवसायको प्रकार हेरेर वित्तीय विभेद हुनुपर्छ र सोहीअनुसार ऐनमा सुधार गरिनुपर्छ । जस्तो कि उद्योग र व्यापारका लागि बैंकको ब्याजदर फरक हुनुपर्छ । वन ऐन जस्ता विकास र उद्योग विरोधी पुराना ऐनहरूलाई समयसापेक्ष परिमार्जन गरी प्रक्रियागत झन्झट हटाउनुपर्छ ।

यसैगरी राज्यको भूमिका नै परिवर्तन गर्न आवश्यक छ । राज्यले आफैं व्यापार गर्ने होइन, बरु निजी क्षेत्रलाई व्यापार गर्ने सहज वातावरण बनाइदिनुपर्छ । राज्यको भुमिका प्रतिस्पर्धी होइन, सहजकर्ताको हुनुपर्छ । उद्यमशीलता मर्ने वातावरण बनेमा देशकै अर्थतन्त्र संकटमा पर्ने भएकाले यसलाई जोगाउनु राज्यको पहिलो प्राथमिकता हुनुपर्छ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले दिएको जवाफका आधारमा तयार पारिएको हो।)