
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार १ खर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत एकैदिन सो रकम बराबरको तरलता प्रशोचन गर्न लागेको हो।
५६ दिनका लागि बोलकबोल हुने यस निक्षेप संकलन उपकरणमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू सहभागी हुन सक्नेछन्। वैशाख ४ गते बोलकबोल हुने यो उपकरण शुक्रबार नै निष्कासन गरिने बैंकले जनाएको छ।
बैंकहरूले ‘अनलाइन बिडिङ सिस्टम’ सफ्टवेयरमार्फत बोलकबोलमा सहभागिता जनाउन सक्नेछन्। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलकै माध्यमबाट तय हुनेछ। यसको सावाँ तथा ब्याज भुक्तानी २०८३ जेठ २९ गते हुने सूचनामा उल्लेख छ।
बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्। यो उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन। तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात तथा तरलता अनुपातमा भने गणना गर्न पाइने बैंकले जनाएको छ।










प्रतिक्रिया