
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् ।
केन्द्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताए ।
साथै ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको उनले जानकारी दिए ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए।
‘अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ । ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्दै राजस्व तिरेको २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्नेकाम आजैदेखि लागू भएको छ’, उनले भने ।
निरीक्षणका क्रममा मन्त्री डा तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्ति र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै यस केन्द्रलाई प्रभावकारी बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले आवश्यक इच्छाशक्ति र तत्परताको अभावका कारण विगतमा विभिन्न निकायमा समस्या जटिल बनेको बताए । अब ती समस्याहरू समाधान गर्दै संस्थागत जिम्मेवारी बढाउनुपर्नेमा उनले जोड दिए।
मन्त्री डा तिमिल्सिनाले केन्द्रमा रहेका उपकरणको प्रभावकारी उपयोग गर्न निर्देशन दिँदै ठूलो लगानीमा खरिद गरिएका उपकरण वर्षौंदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाए । करिब एक अर्ब बराबरका उपकरण, जेनेरेटरलगायत सामग्री प्रयोगमा ल्याउनुपर्नेमा उहाँले जोड दिए । तीन वर्षदेखि थन्किएर बसेका मेसिनहरू अहिले सञ्चालनमा ल्याइएको र छपाइ कार्य सम्भव भएको अवस्थामा विगतमा किन काम हुन सकेन भन्ने प्रश्न पनि उनले उठाए ।
निरीक्षणका क्रममा मन्त्री डा तिमिल्सिनाले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै सरकार जनताको हितमा मात्र सञ्चालन हुने स्पष्ट पारे । ‘सरकार कसैको स्वार्थमा होइन, जनताको चाहनामा चल्छ’, उनले भने ।
साथै, सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न, गुनासो सुन्न र समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
त्यसैगरी, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार गर्ने विषय पनि मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्री डा तिमिल्सिनाले बताए । नेपाल टेलिकमको सेवा गुणस्तरबारे आउने गुनासो समाधान गर्दै आगामी एक वर्षभित्र देशका सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको उनले उल्लेख गरे ।
सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले यो संस्थालाई दीर्घकालीन रूपमा बलियो बनाउने उद्देश्यले व्यावसायिक योजना तयार गरिरहेको जानकारी दिए । भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकरलगायत महत्वपूर्ण कागजात छाप्ने सकिने उनको भनाइ छ । केन्द्रले करिब रु आठ अर्बको बजेटसहित विस्तृत योजना सरकारसमक्ष पेस गरेको ढुङ्गानाको भनाइ छ ।
कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी लाइसेन्स छपाइ भइरहेको छ । विदेश जाने नेपाली नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकतामा राखिएको र यातायात व्यवस्था विभागबाट दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको उनले जानकारी दिए । यही वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उनको भनाइ छ ।
सो अवसरमा सांसदहरू मधुकुमार चौलागाईं, डा राम लामा, बदनकुमार भण्डारीलगायतको उपस्थिति रहेको थियो । मन्त्री डा तिमिल्सिनाले केन्द्रको भौतिक पूर्वाधार, मेसिनरी तथा खाली भवनको अवस्थाबारे समेत जानकारी लिएका थिए ।










प्रतिक्रिया