कृष्णहरी पुस्कर पक्राउ प्रकरण

गृहजिल्लाको साइनो जोड्दै सचिव पुष्करले बालेनलाई दिएका थिए नियुक्तिको २ विकल्प

7
Shares

काठमाडौं । उपराष्ट्रपतिका कार्यालयका सचिव कृष्णहरि कर्ण पुष्करले प्रधानमन्त्री बालेन शाहलाई राजनीतिक नियुक्तिका २ विकल्प दिएको खुलेको छ । सचिव कर्णले आफू महोत्तरीकै भएको भन्दै बालेनलाई मार्गप्रसस्त समेत गरिदिन ‘बिन्ती’सहित म्यासेज गरेका हुन् ।

आगामी असार २४ गते अनिवार्य अवकाशमा जान लागेका सचिव कर्णले राजदूत पदमा नियुक्त हुन प्रधानमन्त्रीको साथ मागेका हुन्।

प्रधानमन्त्रीलाई सम्बोधन गरिएको उक्त सन्देशमा पुष्करले प्रशासनिक सेवाको सर्वोच्च पद ‘मुख्यसचिव’ वा राजदूत बनाउन विकल्प दिएका हुन् । त्यसमध्ये मुख्यसचिव बन्ने सम्भावना नरहेको भन्दै राजदूत बन्ने इच्छा व्यक्त गरेको देखिन्छ । उनले सन्देशमा लेखेका छन्, ‘मुख्यसचिव पदमा हजुरको विशेष ध्यान भए मात्रै, नत्र कुनै सम्भावना छैन हजुर । त्यही भएर मेरो सेवानिवृत्ति आगामी असार २४ गते सुनिश्चित छ ।’

सरकारले हालै राजदूत नियुक्तिका लागि आवेदन आह्वान गरेको सन्दर्भमा आफूले पनि आवेदन दिएको जानकारी गराउँदै उनले प्रधानमन्त्रीसँग ‘सहयोग’को अपेक्षा गरेका हुन् । सन्देशमा उनले अगाडि लेखेका छन्, ‘राजदूत पदका लागि विज्ञापन हेरें र मैले पनि आवेदन पेश गरें, हजुर । यस सन्दर्भमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु ।’

कुनै समय अर्थ मन्त्रालय जस्तो शक्तिशाली निकाय सम्हालेका सचिव पुष्करले सन्देशको अन्त्यमा ‘अगाडि हजुरको जो आदेश’ भन्दै आफूलाई आज्ञाकारी कर्मचारीको रूपमा प्रस्तुत गरेका छन् ।

पुष्कर बालेनको गृहजिल्ला महोत्तरीको जलेश्वर निवासी हुन् । उनले म्यासेजमा जलेश्वर-४, सुगा आफ्नो स्थायी ठेगाना रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीलाई सिधै म्यासेज पठाएर राजनीतिक नियुक्ति माग गरेको भन्दै प्रहरीले सचिव पुष्करलाई हिजो कपनस्थित घरबाटै नियन्त्रणमा लिएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार करिब ७ घन्टा नियन्त्रणमा लिएको थियो ।