
विराटनगर । विराटनगरको व्यस्त सडकमा एउटा बस गुड्छ-नम्बर हो को १ ख ५३१४ । यो बसले यात्री बोक्दैन, नाफाको हिसाब राख्दैन । यसले त केवल सहरका भित्री कुनाहरूबाट शव, मलामी र आँसु बोकेर घाटसम्म पुर्याउँछ ।
यो बसको स्टेयरिङमा एउटा यस्तो मान्छेको अठोट छ, जसले बाल्यकालमा कहिल्यै अघाउञ्जेल खान पाएनन् । उनी हुन् ३७ वर्षीय करिम अन्सारी, जो विगत पाँच वर्षदेखि विराटनगरमा ‘निःशुल्क मलामी बस सेवा’ दिँदै मानवीय संवेदनशीलताको गहिरो सन्देश फैलाइरहेका छन् ।
अभावको त्यो अँध्यारो झुपडी र आमाको वियोग
करिमको बाल्यकाल गरिबी, अभाव र दुःखमा बित्यो । विपन्नता यतिसम्म थियो कि बाल्यकालमा कहिल्यै दुई छाक पेटभरि खाना खाएको हेक्का उनलाई यस बेला पनि छैन । ‘नयाँ लुगा त सपना जस्तै थियो, अर्काका पुराना लुगा सिलाएर लगाउनु मेरो दिनचर्या थियो,’ उनी विगत सम्झन्छन् । आर्थिक अभावले उनी केवल २ कक्षासम्म मात्र स्कुल जान पाए ।
दुःखको पहाड त्यतिबेला थपियो, जब करिम सात वर्षका मात्र थिए । उनकी आमा मुन्नी अन्सारीको आर्थिक अभावकै कारण समयमा उपचार नपाउँदा यहीँको कोसी अस्पतालमा ज्यान गयो ।
बाबु नशिम मजदुरी गरेर सात जनाको परिवारको जेनतेन हातमुख जोड्थे । नशिमको कमाइले नधान्दा करिमसहित उनका दुई भाइ र दुई बहिनीले भोक टार्न कसैले जे दियो, त्यही हात थापेर भोक मेट्नुपर्थ्यो ।
१० वर्षको उमेरमा घर छाडे
आमाको मृत्युको पीडा र रित्तो पेटको छटपटीले करिममा वेचैनी सुरु भयो । २०५५ सालको कुरा हो, एकदिन बाबु नशिमले साह्रै पिटेपछि त्यही पिटाईको रापले १० वर्षका करिमले घर छाडेर २० किलोमिटर उत्तरको इटहरी सहर पुगे । इटहरीमा न काम थियो, न ओत लाग्ने ठाउँ । सुरुका डेढ महिना उनले सडक र पाटीपौवामा रात बिताए । बटुवाहरूले दिने ५–१० रुपैयाँले पेट भर्थे।
बिस्तारै उनले इटहरीबाट झुम्का चल्ने टेम्पोमा सहचालकको काम पाए, जहाँ दैनिक ३५ रुपैयाँ ज्याला थियो । एक वर्षपछि इटहरीबाटै धरान, धनकुटा र हिलेसम्म चल्ने माइक्रोबसमा सहचालक भए । त्यहाँ उनले दैनिक ४–५ सय रुपैयाँ कमाउन थाले । तर, नियतिले उनलाई फेरि लखेट्यो । इराकमा नौ नेपालीको हत्या भएपछि उत्पन्न परिस्थितिका कारण उनी इटहरीबाट लखेटिएर पुनः विराटनगर झरे ।
विराटनगर आएर उनले जीविकाका लागि तीन पाङ्ग्रे रिक्सा गुडाए । त्यसपछि विराटनगर–धरान चल्ने बसमा ७ वर्ष सहचालक भएर काम गरे । मासिक १८ हजार कमाउँदै गर्दा उनले गाडीका हरेक पाटपुर्जा बुझे । त्यही बेला खर्च कटाएर उनले करिब २ लाख रुपैयाँ जम्मा गरे ।
करिमको मनमा ऋण गरेर भए पनि आफ्नै गाडी गुडाउने हुटहुटी चल्यो । आफूसँग भएको र ऋण गरेर उनले कुल ५ लाख रुपैयाँ जोडेका थिए । २०६६ सालमा जीवन विकास र नेरुढे लघुवित्त संस्थाबाट ऋण लिएका उनले ३० लाख पर्ने बस बिचौलियाको फन्दामा परेर ३४ लाखमा किने । उनले को १ ख ५८५९ नम्बरको बस किनेर आफैँ गुडाउन थाले । मेहेनतले एक वर्षमै अर्को गाडी थपे । आज उनीसँग विराटनगर–धरान चल्ने सातवटा बस छन् ।
घाटमा लिएको त्यो ५ हजार !
यो निःशुल्क सेवाको कथा २०७८ पुसको एउटा ठिहीबाट सुरु हुन्छ । विराटनगर–१२ का बाबुराम कट्टेलले छिमेकीको मृत्यु भएपछि मलामी बोक्न करिमलाई बसको व्यवस्था गर्ने जिम्मेवारी दिए । करिम आफ्नो को १ ख ५३१४ नम्बरको बस लिएर सिंघिया खोलाको हाटखोला घाट पुगे ।
अन्त्येष्टि पछि बाबुरामले भाडा सोधे, करिमले ७ हजार भने । तर बाबुरामले ‘विपन्न परिवार’ भएको भन्दै ५ हजार मात्र लिन आग्रह गरे । त्यो ५ हजार रुपैयाँ पनि बाबुरामले मलामीहरूबाटै संकलन गरेर करिमलाई दिए । करिमले भावुक हुँदै क्लिकमान्डुसँग भने, ‘म पनि त्यस्तै गरिबी र अभावबाट हुर्किएको हुँ । त्यो दृश्यले मलाई आफ्नो विगत र आफ्नी आमाको मृत्यु हुँदा अनि अन्त्येष्टि गर्दाको क्षणको याद आयो ।’
त्यही दिन उनले एउटा पवित्र अठोट गरे, ‘अल्लाहले मलाई नालाबाट उठाएर सडकमा ल्याएका छन्, म हिजोको गरिबीबाट माथि उठिसकेको छु, अब म हिजो म जस्तै समस्यामा परेका परिवारलाई मरिभराउमा निःशुल्क सहयोग गर्छु ।’ त्यसै दिनदेखि उनले आफ्नो यो यात्री बसलाई पूर्ण रूपमा ‘निःशुल्क मलामी बस’ मा परिणत गरे ।
करिमको बसले अहिले विराटनगरभित्रका सिंघिया र केसलिया घाटसम्म दैनिक ३–४ पटकसम्म निःशुल्क सेवा दिन्छ । अन्त्येष्टि पछि मलामीलाई घरसम्म ल्याइदिने जिम्मेवारी पनि उनकै हो । विराटनगर बाहिर चतरा वा इटहरी लैजानु पर्दा भने उनी ७ देखि १० हजार शुल्क लिन्छन् ।
करिमलाई बिचौलियाहरूको व्यापार देखेर अचम्म लाग्छ । सुरूमा उनले मलामीमा गाडी लैजाँदा ७ हजार भाडा लिन्थे, तर बिचौलियाले मृतकका परिवारसँग ९–१० हजारसम्म लिएर २–३ हजार कमिसन खाएको उनी बताउँछन् । त्यसपछि उनले नि:शुल्क रुपमा बस सञ्चालन गर्न थाले ।
यो अभियान चलाउन करिमलाई इन्धन र कर्मचारीको तलब गरी मासिक करिब एक लाख रुपैयाँ व्यक्तिगत खर्च हुन्छ । विराटनगर महानगरपालिकाले केही वर्ष ३ सय लिटर डिजेल दिए पनि विगत ६ महिनादेखि त्यो सुविधा बन्द गरिदिएकोमा उनको गुनासो छ ।
करिमको सेवा घाटमा मात्र सीमित छैन । उनी मुस्लिम समुदायका बालबालिकालाई आफ्नै बसमा राखेर सरौचियाको मदरसा पुर्याउने गर्छन् । आर्थिक अभावकै कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित एक छात्र र एक छात्रालाई यहाँको अर्किड कलेजमा कक्षा १२ सम्म पढ्ने व्यवस्था मिलाएका छन् । सडकमा दुःख पाएकाहरूलाई उनी खाना र नाना (लुगा) पनि बाँड्छन् ।
उनका एक छोरा र दुई छोरी पोखरियाको राधाकृष्ण उच्च माविमा कक्षा ८ र ४ मा पढ्दै छन् । उनका भाइ रहिम गाडी चालक हुन् भने अर्का भाइ यशिम कपडा सिलाउँछन् ।
करिम अन्सारीको कथा आफैँमा एउटा ठुलो प्रेरणा हो । उनले समाज बदल्न पद र शक्ति होइन, संवेदनशील मन र बलियो इच्छाशक्ति चाहिन्छ भन्ने देखाएका छन् । करिम भन्छन्, ‘यो बसले म बाँचुञ्जेल विराटनगरभरि निःशुल्क मलामी बोक्नेछ ।’








प्रतिक्रिया