भिभोको फोन बेच्ने कम्पनीको व्यापार १५% ले वृद्धि, कति गर्यो कारोबार ?

56
Shares

काठमाडौं । भिभो ब्रान्डको स्मार्टफोन र एक्सेसरिज बेच्ने एपेक्स मनोकामनाको व्यापार १५ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १५ प्रतिशतले बढेको हो ।

सन् २०२४ मा १ अर्ब ६८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले गत आवमा २ अर्ब ७ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीका अनुसार गत आवमा मोबाइलको बिक्री बढ्दा कारोबार उल्लेख्य बढेको छ । गत आवमा १ अर्ब ९९ करोड ६० लाख रुपैयाँको मोबाइल बिक्री भएको कम्पनीले जनाएको छ । बाँकी ७ करोड ५० लाख रुपैयाँको अन्य सामग्रीबाट आम्दानी भएको छ । सन् २०२४ मा १ अर्ब ५२ करोड ७० लाख रुपैयाँको मोबाइल बिक्री गरेको थियो भने ८ करोड १० लाख रुपैयाँको अन्य सामग्री बिक्री भएको थियो ।

गत आवमा नयाँ मोडल र भेरियन्टको मोबाइल सार्वजनिक गरेकाले कारोबार सकारात्मक देखिएको जनाएको छ ।

कम्पनीले सन् २०२५ मा १ प्रतिशत मात्रै खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.६९ प्रतिशत खुद नाफा कमाएको थियो । कम्पनीको कुल नगद सञ्चय पनि बढेको छ । सन् २०२४ मा १ करोड ५० लाख रुपैयाँ कुल नगद सञ्चय रहेकोमा गत आवमा २ करोड ४० लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, कम्पनीले चालू आवको ६ महिनाको अवधिमा १ अर्ब ५२ करोड ७० लाख रुपैयाँको व्यापार गरिसकेको छ । सन् २०१७ मा स्थापना भएको कम्पनी भिभो ब्रान्डको स्मार्टफोन र एक्सेसरिजको आधिकारिक विक्रेता हो । कम्पनीले आयात गरेको स्मार्टफोन बागमती, नारायनी र जनकपुर क्षेत्रमा बिक्री हुँदै आएको छ । कम्पनीले वितरकका लागि मेगा विज्डमसँग सम्झौता गरेको छ । नेपालमा भिभो ब्रान्डको मोबाइल आयात गर्ने दुई वटा कम्पनी छन् । त्यसमध्ये कम्पनी एक हो । कम्पनीको देशभर २३ वटा डिलर छन् ।

मुकुन्दप्रसाद तिमल्सिना अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९३ करोड ५३ लाख रुपैयाँको रेटिङ गराएको हो ।