
काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगरमा पाँचतारे होटेल निर्माण हुने भएको छ । एमेराल्ड प्यालेस कम्पनीले सिद्धार्थनगरमा पाँचतारे होटेल निर्माण गर्ने भएको हो ।
कम्पनीले उक्त स्थानमा १०९ वटा कोठाको सुविधासहितको होटेल निर्माण गर्ने जनाएको छ ।
होटेलमा ब्याङ्क्वेट, स्विमिङ पुल, क्यासिनो र स्पाको सुविधा हुनेछ । होटेल ९६ हजार ६ सय ८६ स्क्वायर फिट क्षेत्रफलमा फैलिनेछ ।
कम्पनीका अनुसार होटेलमा २ वटा सभाहल, २ वटा बिजनेस सेन्टर, क्यासिनो र जिमको सुविधा रहनेछ । सन् २०२० मा दर्ता भई निर्माण कार्य अगाडि बढाएको कम्पनीले २ अर्ब रुपैयाँ लगानीमा होटेल बन्ने अनुमान गरेको छ ।
कम्पनीले होटेल निर्माणका लागि ८०:२० को लगानी अनुपात राखेको छ, जसमा ८० प्रतिशत कर्जा र २० प्रतिशत इक्विटीबाट लगानी गरिनेछ ।
कम्पनीका अनुसार हालसम्म इक्विटीको ५ करोड रुपैयाँ व्यवस्थापन भइसकेको छ र आयोजनाको आर्थिक प्रगति ११ प्रतिशत पुगेको छ ।
कम्पनीले होटेल निर्माण सम्पन्न गरी सन् २०२९ को जुलाईदेखि व्यावसायिक कारोबार गर्ने योजना रहेको रेटिङमा उल्लेख छ ।
कम्पनीका अनुसार हालसम्म कर्जाका लागि प्रक्रिया अगाडि बढाइएकामध्ये १९ करोड रुपैयाँ व्यवस्थापन भइसकेको छ । त्यस्तै, सन् २०२५ को जुलाईसम्ममा २२ करोड ३० लाख रुपैयाँ निर्माणतर्फ खर्च भइसक्ने कम्पनीको भनाइ छ ।
होटेल लुम्बिनीबाट २२ किमी र सुनौली सीमा नजिकै ६ किमी टाढा पर्ने स्थानमा बन्ने भएकोले धार्मिक तथाआध्यात्मिक पर्यटकहरूका लागि लक्षित सेवा प्रदान गर्ने योजना छ ।
योगेश घिमिरे अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ६० करोड रुपैयाँको रेटिङ गराएको छ । यसअघि १ अर्ब रुपैयाँको रेटिङ गराएको थियो । घिमिरेसँग दुई दशकभन्दा बढी व्यावसायिक अनुभव छ ।








प्रतिक्रिया