होर्मुजदेखि पनामासम्म, विश्वका कुन–कुन जलमार्गमा लाग्छ शुल्क ?

0
Shares

एजेन्सी । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी युद्ध सुरु गरेपछि इरानले होर्मुज स्ट्रेटमा प्रतिबन्ध लगाएको छ । यस कदमले क्षेत्रमा अधिकांश समुद्री आवतजावत ठप्प भएको छ । यस घटनापछि विश्वभरका सरकारहरू, फाइनान्सियल सेक्टर र इनर्जी सेक्टरबाट व्यापक प्रतिक्रिया आएको छ ।

यही क्रममा इरानले उक्त रणनीतिक जलमार्ग हुँदै जाने जहाजहरूबाट टोल शुल्क उठाउने योजना पनि घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा यसप्रति कडा प्रतिक्रिया दिएका थिए । तर इरानी अधिकारीहरूले भने यो योजना गम्भीर रूपमा अघि बढाइने र कानुनी रूपमा कार्यान्वयन गरिने बताएका छन् ।

यस सन्दर्भमा इस्लामिक एडभाइजरी काउन्सिलको राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगले १७ अप्रिलदेखि ‘होर्मुज स्ट्रेटमा इस्लामिक गणतन्त्रको सार्वभौम अधिकार प्रयोग’ सम्बन्धी योजना स्वीकृत गरेको छ ।

यस योजनामा रियाल, सुरक्षा, समुद्री यातायात तथा वातावरणीय प्रदूषणसम्बन्धी विभिन्न शुल्कहरू उठाउने प्रावधान समावेश गरिएको छ ।

केही इरानी अधिकारीहरूले जहाजहरूको ‘सुरक्षित आवतजावत’ सुनिश्चित गर्न केही जहाजबाट २० लाख डलरसम्म शुल्क लिन सकिने बताएका छन् । यसबारे तेल, ग्यास तथा पेट्रोकेमिकल निर्यातक संघका प्रवक्ता हामिद हुसेनीले इरान यस्तो शुल्क प्रणाली लागू गर्न दृढ रहेको र यो नीति युद्धविरामजस्ता राजनीतिक घटनाक्रमबाट प्रभावित नहुने बताएका छन् ।

यी घटनाक्रमहरूले यस्तो योजना कानुनी रूपमा कति वैध छ र कसरी लागू हुन्छ भन्नेबारे विभिन्न प्रश्नहरू उठाएका छन् । अब विश्वका ती जलमार्गहरूबारे चर्चा गरिन्छ जहाँ टोल शुल्क लिने प्रचलन छ । अन्तर्राष्ट्रिय जलमार्गबाट टोल असुल्नु नयाँ कुरा होइन, विश्वका विभिन्न भागमा यसको लामो इतिहास रहेको छ ।

स्वेज क्यानाल

स्वेज क्यानालले रातो सागरलाई भूमध्य सागरसँग जोड्छ र यसले एसिया र युरोपबीचको यात्रा समय कम्तीमा १० दिनले घटाउँछ । यो जलमार्गले विश्व समुद्री व्यापारको करिब १० प्रतिशत हिस्सा सम्हाल्छ । यसमा २२ प्रतिशत कन्टेनर यातायात, २० प्रतिशत सवारीसाधन ढुवानी र १० प्रतिशत कच्चा तेलको ढुवानी समावेश छ । यहाँ टोल शुल्क इजिप्टको स्वेज क्यानाल अथोरिटीले उठाउँछ, जुन जहाजको आकार, प्रकार र बोकिएको सामानका आधारमा निर्धारण हुन्छ र लाखौं डलरसम्म पुग्न सक्छ । सन् २०२१ मा एउटा ठूलो जहाज अड्किँदा क्यानाल ६ दिन बन्द हुँदा करिब १० अर्ब डलर बराबरको व्यापार प्रभावित भएको थियो ।

यस क्यानालको सबैभन्दा संवेदनशील भाग रातो सागरको दक्षिणी छेउमा रहेको बाब-अल-मन्देब स्ट्रेट हो । सन् २०२३ देखि २०२५ बीच यमनका इरान समर्थित हूती विद्रोहीहरूले इजरायलविरुद्ध गाजामा भएको युद्धको प्रतिक्रियामा कमर्शियल जहाजहरूमा आक्रमण गरेका थिए । यसका कारण धेरै जहाजहरूले आफ्नो मार्ग परिवर्तन गर्नुपरेको थियो र स्वेज हुँदै जाने जहाज संख्या २०२३ मा करिब २६ हजारबाट २०२४ मा घटेर करिब १३ हजार पुगेको थियो ।

पनामा क्यानाल

पनामा क्यानालले प्रशान्त र एटलान्टिक महासागरलाई जोड्छ र विश्व समुद्री व्यापारको करिब २.५ प्रतिशत हिस्सा सम्हाल्छ । यो हिस्सा सानो देखिए पनि यसमार्फत कन्टेनर सामान, कार र अनाजजस्ता महत्वपूर्ण वस्तुहरूको ढुवानी हुन्छ । अमेरिकामा कन्टेनर कार्गोको करिब ४० प्रतिशत यही मार्गबाट हुन्छ, जसको वार्षिक मूल्य करिब २७० अर्ब डलर छ । यहाँ जहाजहरूले आकार र प्रकारअनुसार लाखौं डलरसम्म टोल तिर्नुपर्छ, जुन पनामाको क्यानाल अथोरिटीले उठाउँछ । २०२३–२०२४ मा खडेरीका कारण पानीको स्तर घट्दा जहाजहरूको संख्या र आकारमा सीमितता लगाउनुपरेको थियो ।

मलक्का स्ट्रेट

मलक्का स्ट्रेट विश्वका सबैभन्दा व्यस्त समुद्री मार्गमध्ये एक हो, जहाँबाट करिब २४ प्रतिशत विश्व समुद्री व्यापार हुन्छ । यसमा ठूलो मात्रामा कच्चा तेल र करिब २६ प्रतिशत सवारीसाधन ढुवानी समावेश छ । चीनको करिब ८० प्रतिशत तेल आयात यही मार्गबाट हुन्छ, जसलाई ‘मलक्का डिलेमा” भनिन्छ । यहाँ प्रत्यक्ष टोल लाग्दैन, तर पाइरेसी (समुद्री डकैती) र भू-राजनीतिक तनाव यहाँका मुख्य जोखिम हुन् ।

कील क्यानाल

कील क्यानाल जर्मनीमा रहेको एक पुरानो नहर हो, जसले उत्तरी सागर र बाल्टिक सागरलाई जोड्छ । यहाँबाट वार्षिक २५ हजारभन्दा बढी जहाजहरू आवतजावत गर्छन् । यस क्यानालमा जहाजको तौल र आकारअनुसार टोल उठाइन्छ, जसले यसको मर्मतसम्भार खर्चको केही हिस्सा धान्छ । यो शुल्क स्वेज क्यानाल र पनामा क्यानालको तुलनामा कम हुन्छ । यी क्यानालहरूले संयुक्त रूपमा विश्व व्यापारको १० देखि १५ प्रतिशत हिस्सा सम्हाल्छन् र अर्बौं डलर आम्दानी गर्छन् ।

टर्कीका बोस्फोरस र डार्डानेल्स स्ट्रेटहरू काला सागर र भूमध्य सागरबीचको एक मात्र समुद्री मार्ग हुन् । यहाँबाट करिब ३ प्रतिशत विश्व व्यापार हुन्छ, जसमा विश्व गहुँ निर्यातको करिब २० प्रतिशत हिस्सा समावेश छ । मोन्ट्रो कन्भेन्सनकाअनुसार यहाँ प्रत्यक्ष टोल लाग्दैन, तर पाइलटेज वा सुरक्षाजस्ता सेवाका लागि शुल्क लाग्न सक्छ । यी मार्गहरू अत्यन्त साँघुरा छन् (केही स्थानमा मात्र ७०० मिटर चौडा), त्यसैले आवतजावत जटिल हुन्छ र साना दुर्घटनाहरू सामान्य हुन्छन् ।

सन् २०२२ मा रसियाले युक्रेनमाथि आक्रमण गरेपछि टर्कीले वारसिपहरूको आवतजावत सीमित गरेको थियो, तर कमर्शियल जहाजहरूको आवतजावत भने जारी राखेको थियो । काला सागर क्षेत्रमा तनाव बढेमा विश्व अनाज बजारमा ठूलो असर पर्न सक्छ । साथै, यस क्षेत्रमा उच्च भूकम्पीय जोखिम पनि रहेको छ ।

बीबीसी हिन्दीबाट