जेनजी आन्दोलन प्रतिवेदन: संसद् भवन क्षेत्रबाटै गोली प्रहार, तर चलाउने व्यक्तिको पहिचान भएन

161
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको गोलीकाण्डका दोषी पहिचान गर्न नसकिएको खुलासा गरेको छ ।

आन्दोलनका क्रममा गोली प्रहार भए पनि त्यसको जिम्मेवार व्यक्तिको किटान गर्न अनुसन्धानमा चुनौती देखिएको आयोगको निष्कर्ष छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगद्वारा गठित छानबिन समितिकी संयोजक एवं सदस्य डा लिली थापाले घटनाको विवरण सार्वजनिक गरेकी हुन् ।

उनले संसद् भवन क्षेत्रबाटै गोली चलेको देखिए पनि कुन सुरक्षाकर्मी वा व्यक्तिले गोली चलाएको हो भन्ने प्राविधिक पुष्टि हुन नसकेको जानकारी दिइन् ।

आयोगको प्रतिवेदनले आन्दोलन नियन्त्रणका नाममा सुरक्षा निकायबाट अत्यधिक बल प्रयोग भएको ठहर गरेको छ ।

फरेन्सिक र ब्यालेस्टिक परीक्षणबाट प्रयोग भएको गोलीको प्रकृति र मिलिमिटर खुले पनि गोली हान्ने व्यक्तिको ठोस पहिचान हुन नसकेको आयोगले जनाएको छ ।

विशेषज्ञ डा हरिहर बस्तीमार्फत गरिएको फरेन्सिक रिपोर्टको विश्लेषण अनुसार, प्रदर्शनकारीहरूलाई लागेको गोली शरीरको संवेदनशील भागमा केन्द्रित रहेको पाइएको छ ।

अधिकांश घाइतेहरूको छाती र पेटभन्दा माथिल्लो भागमा गोली लागेको देखिएकाले सुरक्षाकर्मीको नियतमाथि प्रश्न उठाइएको छ ।

घटनाको समयमा विशेष कार्यदल (एसटीएफ) अग्रपङ्क्तिमा खटिएको र संसद् भवनको परिसरबाटै गोली प्रहार भएको देखिएको डा थापाले बताइन् ।

आयोगको अध्ययनले गोली प्रदर्शनकारीको घेराभित्रैको क्षेत्रबाट चलेको निष्कर्ष निकाले पनि दोषीको अनुहार भने अझै रहस्यकै गर्भमा रहेको छ ।

आयोगले सुरक्षा संयन्त्रबाट गम्भीर कानुनी त्रुटि भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

भीड नियन्त्रणका क्रममा बल प्रयोग गर्दा अनिवार्य रूपमा ‘घुँडामुनि गोली चलाउनुपर्ने’ अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्ड र नेपालको प्रचलित कानुनको पूर्णतः उल्लंघन भएको आयोगको ठहर छ ।