जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरणबारे क्लिकमान्डुको अध्ययन प्रतिवेदन सार्वजनिक


काठमाडौं । क्लिकमान्डु डटकमले मुलुकको पछिल्लो व्यावसायिक वातावरण र लगानीकर्ताको आत्मविश्वासको अवस्थाबारे तयार पारेको एक विशेष अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । २०८२ माघ २५ गते राजधानीमा आयोजित ‘क्लिकमान्डु सिम्पोजियम’ मार्फत ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हा र राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रकाश कुमार श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए । ५६७ जनाको उपस्थिति रहेको  कार्यक्रममा नेपालको निजी क्षेत्र, सरकारी अधिकारी र सरोकारवालाहरूबीच गहन बहस भएको थियो ।

कार्यक्रमको उद्घाटन लगत्तै जेनजी विद्रोहको क्रममा व्यवसायीहरूमाथि गरिएको आक्रमण सम्बन्धी भिडियो रिपोर्ट देखाइएको थियो । त्यसपछि प्रतिवेदन विमोचन गरिएको थियो । मञ्चमा आसीन सभापति, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा प्रतिवेदनको विमोचन गरे ।

प्रतिवेदन विमोचनपश्चात् क्लिकमान्डुको सानो परिचयात्मक भिडियो प्रदर्शन गरिएको थियो । त्यसमा क्लिकमान्डुले गरिरहेको सञ्चारकर्मका साथै प्रतिवेदनसँग सम्बन्धित जानकारी दिइएको थियो ।

क्लिकमान्डुले जेनजी विद्रोहका क्रममा उत्पन्न परिस्थितिको पृष्ठभूमिमा देशका ठूला १२१ उद्योगी व्यवसायीमाथि केन्द्रित रहेर यो अध्ययन तयार पारेको हो । प्रतिवेदन विमोचन गर्दै क्लिकमान्डुका अध्यक्ष तथा प्रधानसम्पादक पुष्प प्रसाद दुलालले यो अध्ययन केवल तथ्यांकको संग्रह मात्र नभई नेपालको निजी क्षेत्रको यथार्थ मनोविज्ञानको चित्रण भएको बताए । उनले अर्थतन्त्रको मेरुदण्ड रहेको निजी क्षेत्रमाथि भएका आक्रमण र त्यसले उत्पन्न गरेको त्रासलाई सम्बोधन गर्न यो प्रतिवेदनले दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे।

नेपाल सरकारका पूर्वसचिव केवल प्रसाद भण्डारीले प्रतिवेदनको विस्तृत प्रस्तुति दिँदै व्यवसायीहरूको पुँजी, रोजगारीको आकार, व्यावसायिक संलग्नता अवधि र आक्रमण हुनुका कारणहरूबारे प्रकाश पारे ।

‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण, २०८२’ अध्ययन प्रतिवेदनले पनि निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको छ । प्रतिवेदनअनुसार ९८ प्रतिशत लगानीकर्ताको मनोबल कुनै न कुनै स्तरमा कमजोर भएको देखिएको छ भने ९७ प्रतिशत व्यवसायीले लगानीको वातावरण कमजोर भएको महसुस गरेका छन् । यसैगरी ७० प्रतिशत व्यवसायी थप लगानीका निमित्त ‘पर्ख र हेर’को अवस्थामा रहेको प्रतिवेदनको ठहर छ ।

भौतिक तथा आर्थिक क्षति र लगानीकर्ता व्यवसायीको मनोबल मापन गर्ने तथा व्यावसायिक वातावरण जाँच गर्ने उद्देश्यका साथ गरिएको सो अध्ययनले नेपालका स्थापित र ठूला व्यवसायीहरूमा गहिरो मनोवैज्ञानिक र आर्थिक चोट पुर्याएको देखाएको छ । खासगरी भौतिक क्षतिको तुलनामा विश्वास र मनोबलको क्षति निकै डरलाग्दो देखिएको छ ।

मुलुकको कूल गार्हस्थ्य उत्पादन, पुँजी निर्माण, रोजगारी सिर्जना तथा सरकारी राजस्व परिचालनमा निजी क्षेत्रको योगदान उल्लेखनीय छ । तर दुई दिनको गतिविधिले निजी क्षेत्रको भौतिक संरचना, उत्पादन प्रणाली, सेवा प्रवाहमा गम्भीर क्षति पुर्याउनुका साथै उद्यमीहरूको मनोबलमा निकै नराम्रो असर पुर्याएको प्रतिवेदनको ठहर छ । अर्बौं रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति, उत्पादन र बिक्रीमा आएको अवरोध, आपूर्ति शृङ्खलाको विच्छेद र लाखौं नेपालीको रोजगारी गुम्ने अवस्था जेनजी विद्रोहका प्रत्यक्ष नतिजा भएको विषय अध्ययनमा सहभागी लगानीकर्ता व्यवसायीले उठाएका छन् ।

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न व्यावसायिक प्रतिष्ठानमा भौतिक तथा आर्थिक क्षति भएको छ भने धेरै व्यवसायीको व्यावसायिक गतिविधिमा मात्र नभई व्यक्तिगत घर र गाडीमा आक्रमण भएको छ । जेनजी प्रदर्शनका कारण व्यवसायीले भोगेको क्षतिको प्रकृति विश्लेषण गर्दा भौतिक क्षतिभन्दा ठूलो असर मनोबलमा परेको पाइएको हो ।

प्रतिवेदनमा प्रमुख सूचनादाताका रुपमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भनेका छन्, ‘दशकौँको मेहनत र अर्बौंको लगानीबाट खडा गरिएका उद्योग र व्यावसायिक प्रतिष्ठानमा तोडफोड र लुटपाट हुँदा त्यसले भौतिक क्षति मात्र गर्दैन, एउटा उद्यमीको आत्मविश्वासको जग नै हल्लाइदिन्छ । आफ्नो लगानी र सम्पत्ति सुरक्षित छ त ? भन्ने त्रासमा बाँच्नुपर्ने अवस्था कुनै पनि व्यवसायीका लागि सबैभन्दा ठूलो पीडा हो ।’

उनका अनुसार अङ्कमा मापन गर्नै नसकिने ‘मनोवैज्ञानिक क्षति’ भौतिक क्षतिभन्दा निकै बढी छ । लगानीकर्ताको मनोबल टुट्नु र असुरक्षाको भावना बढ्नु मुलुकको दीर्घकालीन विकासका लागि निकै महँगो साबित हुने उनको भनाइ छ ।

महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छाले भनेका छन्, ‘प्रदर्शनपछि आर्थिक क्षतिका विवरण आइरहेकै छन् । तर, आर्थिकभन्दा मानसिक क्षति बढी भएको महसुस मैले गरेको छु । रोजगारी सिर्जना गर्ने, कर तिर्ने र जोखिम मोलेर सम्पत्ति सिर्जना गर्ने वर्गमाथि ईष्र्या र रिसइबीका कारण प्रहार हुनु असह्य छ ।’

निजी क्षेत्रले जोखिम नमोल्ने र व्यवसाय नगर्ने हो भने देश सञ्चालन हुने नसक्ने भन्दै गोल्छा थप्छन्, ‘तर, हामीलाई जहिले पनि ‘नाफाखोर’ का रूपमा मात्र हेरिन्छ । हामीले जोखिम नमोले रोजगारी सिर्जना हुँदैन, सरकारले कर पाउँदैन ।’ नाफा वास्तबमा खराब शब्द नभएको दाबी गर्ने गोल्छाका अनुसार व्यवसायीले कानुनको परिधिभित्र रहेर मर्यादित रूपमा नाफा कमाउँछ र कर तिर्छ । ‘केही सीमित व्यक्तिको खराबीलाई हेरी सम्पूर्ण निजी क्षेत्रलाई एकै डालोमा राखेर आक्रमण गर्नु अशिक्षाको उपज हो’, गोल्छाको भनाइ छ ।

क्लिकमान्डुको अध्ययनमा सहभागी ९८ प्रतिशत व्यवसायीले जेनजी प्रदर्शनका कारण आफ्नो मनोबलमा सामान्य, ठूलो वा अत्यधिक असर परेको जवाफ दिँदा दुई प्रतिशत व्यवसायीले मात्र मनोबलमा फरक नपरेको जवाफ दिएका छन् । यो तथ्यले व्यवसायीको आत्मविश्वास निकै कमजोर बनेको पुष्टि गर्छ । आठ प्रतिशत व्यवसायीले लगानी थप गर्न वा व्यवसाय विस्तार गर्न आफू तयार नभएको बताउँदा पर्ख र हेरको अवस्थामा ७० प्रतिशत व्यवसायी छन् । २१ प्रतिशत व्यवसायी भने थप लगानी गर्न इच्छुक देखिएका छन् ।

‘वि.सं. २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भौतिक वा आर्थिक क्षति समय क्रममा पुनरुत्थान हुँदै जानेछ तर यसबाट व्यवसायीमा परेको आघात भने अमिट छ’, प्रतिवेदनमा भनिएको छ, ‘अध्ययनका क्रममा व्यवसायीहरूमा चरम निराशा, असुरक्षा र अनिश्चितताजन्य त्रास फैलिएको पाइएको छ ।’

प्रतिवेदनले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको देखाएको छ । नयाँ लगानीका योजना स्थगित भएको र केही उद्यमीहरूले ‘पुँजी पलायन’ सम्मको सोच बनाउन थालेको प्रतिवेदनमा उल्लेख छ । नेपाल लगानीका लागि असुरक्षित गन्तव्य बनेको सन्देश जाँदा वैदेशिक लगानी प्राप्त हुने सम्भावना झन क्षीण भएको छ ।

जेनजी विद्रोहका क्रममा उद्योग, बैंक, व्यापारिक प्रतिष्ठान तथा सवारीसाधनमा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३४ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ । प्रत्यक्ष भौतिक क्षतिभन्दा अप्रत्यक्ष आर्थिक क्षति अझ भयावह छ, जुन करिब ८१ अर्ब रुपैयाँ छ । यसले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब पाँच प्रतिशतसम्म प्रभाव पार्ने अनुमान गरिएको छ ।

समाजमा व्यवसायीलाई रोजगारी सिर्जना र राजस्वमा योगदान गरेबापत आर्थिक विकासका सारथि भन्नुपर्नेमा ‘नाफाखोर’ वा ‘शोषक’ का रूपमा हेर्ने गलत भाष्य विकास भएको महसुस उत्तरदाता व्यवसायीले गरेका छन् । खासगरी मिडिया, राजनीतिक दल र शिक्षा प्रणालीले उद्यमशीलतालाई सम्मान गर्ने संस्कृति विकास गर्न नसक्दा निजी क्षेत्रप्रति सर्वसाधारणमा नकारात्मक दृष्टिकोण हाबी भएको प्रतिवेदनको ठहर छ ।

यद्यपि, जेनजी विद्रोहलगत्तै सरकारले शान्तिसुरक्षा कायम गर्न, निजी क्षेत्रका कुरा सुन्दै केही तत्कालीन राहतका प्याकेज ल्याउँदा लगानीकर्तामा केही आशा पलाएको देखिन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा सार्वजनिक भएको यो अध्ययन प्रतिवेदनले राजनीतिक दलहरुलाई घचघच्याएको र व्यावसायिक जगतको आत्मविश्वासमा सुधार ल्याउन हदैसम्म सकारात्मकता विकास गर्नुपर्ने सन्देश दिएको छ ।

प्रतिवेदनका अनुसार व्यवसायीको आत्मविश्वासमा गहिरो चोट पुगेको छ भने आज पनि व्यवसायी मनोवैज्ञानिक त्रासमा बाँच्नुपरेको छ । ‘व्यवसाय गरेर नाफा कमाउनु अपराध हो र भन्ने निराशाजनक भावना र ‘धनीविरुद्ध गरिब’ को भाष्यले लगानीकर्ताको मनोबल र व्यावसायिक आत्मविश्वासलाई पूर्णतः धराशायी बनाएको प्रतिवेदनको निष्कर्ष छ ।

‘लगानीको वातावरणमा गहिरो संशय व्यक्त हुँदा राज्यले शान्ति सुरक्षा र कानुनी शासनको प्रत्याभूति दिलाउन नसकेसम्म र व्यवसायीको खस्किएको मनोबल उकास्ने ठोस कदम नचालेसम्म लगानीको वातावरण पुरानै लयमा फर्कन निकै लामो समय लाग्ने देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ ।

निजीक्षेत्र नै अर्थतन्त्रको इञ्जिन भएका कारण सरकारले निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र आत्मविश्वासको जागरणबिना दिगो आर्थिक विकास सम्भव नहुने निष्कर्ष अध्ययन प्रतिवेदनको छ । राज्य, निजीक्षेत्र र समाजमा पारस्परिक विश्वास, संवाद र सहकार्य सुदृढ गर्न सकिए मात्र नेपालको अर्थतन्त्रलाई स्थायित्व र दिगोपनतर्फ अग्रसर गराउन सकिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले निजी क्षेत्रको मनोबल उकास्न तत्काल, मध्यकाल र दीर्घकालमा तत्तत् निकाय वा क्षेत्र गर्नुपर्ने कामसमेत सुझाएको छ । ‘राज्यले ‘सहजकर्ता’ को भूमिका खेल्ने, निजी क्षेत्रले ‘व्यावसायिकता’ देखाउने र समाजले ‘सम्मान’ व्यक्त नगरेसम्म लगानीको दिगो वातावरण बन्न सक्दैन, राज्यले निजी क्षेत्रलाई ‘दूध दिने गाई’ मात्र सम्झिनु हुँदैन, निजी क्षेत्रले पनि राज्यलाई ‘दुःख दिने संयन्त्र’ मात्र मान्नु हुँदैन । यी दुवैबीच विश्वासको पुल निर्माण गरेमात्र देशमा समृद्धि आउँछ, यो नै आजको एकमात्र विकल्प हो’, प्रतिवेदनको सुझाव छ ।

क्लिकमान्डु सिम्पोजियम कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निजी क्षेत्र कुनै राजनीतिक शक्ति वा पक्षको शत्रु नभई रोजगारी र राजस्वको आधार भएको बताए । उनले आक्रोशको समाधान भौतिक संरचनाको विनाश हुन नसक्ने भन्दै व्यवसायीहरूलाई पनि उच्च व्यावसायिक नैतिकता र पारदर्शिता कायम राख्न सुझाव दिए ।

उनले लगानीकर्ताको मनोविज्ञान तथा आत्मविश्वास र देशको व्यावसायिक वातावरणमा पुगेको चोटका बारेमा क्लिकमान्डुको प्रतिवेदनले प्रस्तुत गरेको विवरणले सबैलाई सोच्न बाध्य बनाएको बताए । राज्यले अपेक्षाहरू सम्बोधन गर्न नसक्दा नागरिकमा विकास भएको आक्रोशको समाधान भौतिक संरचनाको विनाश होइन र हुनु पनि हुँदैन भन्दै उनले निजी क्षेत्र कुनै राजनीतिक शक्ति वा पक्षको शत्रु नभई आम नागरिकका लागि रोजगारीको क्षेत्रका साथै उत्पादन, राजस्व र नवप्रवर्तनको क्षेत्र भएकोमा जोड दिए । स्वच्छ र पारदर्शी व्यावसायिक आचरणले नै निजी क्षेत्रप्रतिको सामाजिक बुझाइलाई सकारात्मकता प्रदान गर्ने बताउँदै राज्यलाई पनि निजी क्षेत्रको पक्षमा बलियो नीतिगत अडान लिन बल प्रदान गर्ने उनको भनाइ थियो ।

विशेष अतिथि गृहमन्त्री ओमप्रकाश अर्यालले उद्योग र लगानीको सुरक्षा राज्यको प्राथमिक जिम्मेवारी भएको बताए । उनले भने, ‘क्लिकमान्डुको यो प्रतिवेदन सरकारका लागि आलोचना मात्र होइन, सुधारको स्पष्ट रोडम्याप पनि हो । यसमा दिइएका सुझावहरूलाई हामी नीतिगत तहमा गम्भीरतापूर्वक कार्यान्वयन गर्नेछौं ।’ यसैगरी, उद्योगमन्त्री अनिल कुमार सिन्हाले भदौ २३ र २४ गतेका घटनाले व्यावसायिक वातावरणमा पुर्‍याएको चोटलाई यो प्रतिवेदनले ऐनाको रूपमा देखाएको टिप्पणी गरे । उनले सुझावहरू कार्यान्वयन गर्न सरकारी निकाय तयार रहेको र यसबाट निजी क्षेत्रको आत्मविश्वास पुनर्जागृत हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले रोजगारी सिर्जना हुन नसक्दा युवा असन्तोष प्रदर्शनका रूपमा बाहिर आएको विश्लेषण गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जेनजी विद्रोहपछि निजी क्षेत्र स्तब्ध रहेको र अझै पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार नआएको गुनासो गरे । किनोट स्पिकरका रूपमा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले देशमा अवसर हुँदाहुँदै पनि असुरक्षा र त्रासका कारण निराशा बढेको बताए । उनले मिडियाले सधैं राजनीतिक विवाद मात्र नभई उद्योग व्यवसायका सकारात्मक कुरा पनि उठाउनुपर्नेमा जोड दिए ।

भर्चुअल माध्यमबाट जोडिएका नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिलाई समावेशी बनाउन नसक्दा विद्रोहको जोखिम बढ्ने संकेत गर्दै अवसरहरूको न्यायोचित वितरणमा जोड दिए ।

कार्यक्रमको दोस्रो सत्रमा पूर्वबैंकर भुवन दहालले सञ्चालन गरेको प्यानल डिस्कसनमा अर्थसचिव डा. घनश्याम उपाध्याय, पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन कुमार श्रेष्ठ सहभागी थिए ।

प्यानलमा अन्जन श्रेष्ठले आम्दानी गर्नुलाई गलत ढंगले बुझ्न नहुने धारणा राखे । अर्थसचिव उपाध्यायले सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको दाबी गरे भने पूर्वगभर्नर नेपालले राजनीतिक प्रतिबद्धता बिना अर्थतन्त्र बलियो नहुने तर्क गरे । राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले सरकारी कामकाजमा ‘फेसलेस, पेपरलेस र क्याशलेस’ प्रविधिको आवश्यकता औंल्याए ।

छलफलका क्रममा फ्लोर ओपन गर्दा इप्पानका उपमहासचिव प्रकाश दुलाल, युवा व्यवसायी प्रतीकराज पहारी र नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दण्डहीनता, राजनीति र उद्यमको मिश्रण तथा मिडियाले सिर्जना गर्ने गलत भाष्यका विषयमा प्रश्न र टिप्पणी गरेका थिए ।

एनसेलका सीईओ माइकल फोलेले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै  व्यवसायमा आउने उतारचढाव र अवरोधहरूलाई नकारात्मक रूपमा लिन नहुने तर्क गरे । साथै व्यवसायी र सरकारले चुनौतीलाई खतराका रूपमा नभई अवसरको रूपमा लिनुपर्ने उनले बताए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले साना र ठूला दुवै लगानीकर्ताको आत्मविश्वास बढाउन मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताए ।

यसरी क्लिकमान्डु सिम्पोजियममार्फत् जेनजी विद्रोहपछि नेपालका १२१ ठूला उद्योगी व्यवसायीहरूको वास्तविक मनोवृत्ति, लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरणको सूक्ष्म अध्ययन गरी तयार पारिएको विशेष प्रतिवेदन सफलतापूर्वक सार्वजनिकीकरण गरिएको छ । कार्यक्रम राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, सरकारका उच्च अधिकारीहरू र निजी क्षेत्रका प्रमुख नेतृत्वलाई एकै ठाउँमा ल्याएर देशको आर्थिक चुनौती र व्यावसायिक सुरक्षाका विषयमा सार्थक संवाद गर्ने साझा मञ्च बनेको थियो ।

यसैगरी जेनजी विद्रोहका क्रममा व्यवसायीहरूले भोगेको भौतिक तथा मानसिक क्षति, उनीहरूमा पैदा भएको असुरक्षा र त्रासको गहिरो चित्रण गर्दै निजी क्षेत्रको वास्तविक मनोदशालाई राज्य र सरोकारवालासामु उजागर भएको छ । कार्यक्रममा सहभागी मन्त्री र मन्त्रीहरूले प्रतिवेदनका निष्कर्षहरूलाई सरकारका लागि सुधारको स्पष्ट मार्गचित्रका रूपमा स्वीकार गर्दै प्राप्त सुझावहरूलाई नीतिगत तहमा गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममार्फत् निजी क्षेत्र नाफामुखी मात्र नभई रोजगारी सिर्जना, राजस्व र नवप्रवर्तनको आधार स्तम्भ भएको तथ्य स्थापित गर्दै व्यवसायी र लगानीकर्ताप्रतिको सामाजिक दृष्टिकोण र मिडियाको भूमिकालाई सकारात्मक बनाउन सचेतना प्रसार भएको छ ।

क्लिकमान्डु सिम्पोजियमको ‘पावर्ड बाई’ प्रायोजक तानसेन सिमेन्ट रहेको थियो भने शिखर इन्स्योरेन्स, एनसेल र अर्घाखाँची सिमेन्टले प्रायोजन गरेका थिए । कार्यक्रमको सपोर्टेड बाइ प्रायोजकहरू एभरेष्ट ग्यास संसार, ग्लोबल आईएमई बैंक, टेस्ला, एसीसीए, किया, गोल्छा ग्रुप, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल, नबिल बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक,कामना सेवा विकास बैंक, अपि इन्फ्रा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लुमिनस, सन नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, सिटिजन लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, दक्षिणकाली इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज, लिटल एन्जल्स, नेपाल वित्तीय संस्था संघ र ग्लेन्फिडिच रहेका थिए । यसैगरी बेभरेज पार्टनर गोर्खा पिल्सनर रहेको थियो भने एप पार्टनर हातमा न्युज रहेको थियो ।