
काठमाडौं । कैलाली जिल्लामा आईएमई ग्रुपको लगानीमा निर्माण भइरहेको जाल्पादेवी केबलकारको कार्य अन्तिम चरणमा पुगेको छ । २ महिनामा निर्माण सम्पन्न हुने गरी कम्पनीले काम अघि बढाएको हो ।
आईएमई ग्रुपले बनाइरहेको यो परियोजना अन्तर्गत केबलकारसँगै पाँचतारे होटल बन्नेछ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार बैशाख १ गते मंलबार पोल ठड्याउने काम सुरु भएको छ ।
‘नयाँ वर्षमा, नयाँ सुरूवात’ भन्दै ढकालले फेसबुकमार्फत् पोल ठड्याउने काम औपचारिक रुपमा सुरु भएको जानकारी गराएका छन् ।

‘नववर्ष २०८३ को पहिलो दिन, आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनामा आजैदेखि केबलकार जडानको लागि पोल ठड्याउने काम औपचारिक रूपमा प्रारम्भ गरेका छौं,’ उनले लेखेका छन्, ‘यो केवल एक परियोजना मात्र होइन, यसले क्षेत्रीय पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो । नयाँ वर्षको पहिलो दिनमै सुरु भएको यो कामले हामीलाई नयाँ आशा, नयाँ यात्रा र नयाँ उपलब्धिको अझ दृढ विश्वास दिएको छ ।’ उनले अबको २ महिनाभित्र यो परियोजना सम्पन्न गर्ने लक्ष्यसहित अघि बढेको बताए ।
सन् २०१८ मा स्थापना भएको जाल्पादेवी केबलकारले केबलकारसँगै पाँच तारे होटल निर्माण गर्नेछ । कम्पनीले केबलकारको सुविधाका साथ एक सय कोठाको रिसोर्ट निर्माण गर्ने भएको हो ।
योजनाअनुसार होटलको निर्माण कार्य सुरु हुन लागेको कम्पनीले जनाएको छ । कम्पनीले केबलकार र होटल गरी ४ अर्ब ४ करोड रुपैयाँ लागत खर्च हुने अनुमान छ । जसमा हालसम्ममा ४६ प्रतिशत खर्च भइसकेको छ ।
कम्पनीले २ अर्ब ७५ करोड ९० लाख रुपैयाँ (निर्माण समयको ब्याजसहित) मा केबलकार र १ अर्ब २८ करोड २० लाख रुपैयाँ लगानीमा होटल निर्माण गर्ने जनाएको छ । आयोजना निर्माण गर्न ७५ः२५ को कर्जा–स्वपुँजी अनुपात छ । जसमध्ये हालसम्ममा २४ प्रतिशत कर्जा र ५४ प्रतिशत इक्विटीको रकम लगानी भइसकेको छ ।
चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब १२ करोड ४२ लाख रुपैयाँको रेटिङ गराएको छ ।











प्रतिक्रिया