
काठमाडौं । सञ्चार मन्त्रालयको काम एकै दिनमा टुंग्याउनुपर्ने गरी कर्मचारीको लागि आचारसंहिता जारी भएको छ । कर्मचारीको लागि सञ्चार मन्त्रालयले जारी गरेको ९ बुँदे आचारसंहितामा दैनिक कार्यसम्पादनमा देखिँदै आएको ढिलाइ अन्त्य गर्दै सेवा प्रवाहलाई तीव्र र प्रभावकारी बनाउन खोजिएको उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ कार्यनीतिमा मन्त्रालय र यसअन्तर्गतका सबै निकायका कर्मचारीहरूका लागि लागू गरिएको उक्त व्यवस्थाअनुसार अब कुनै पनि फाइल वा काम कर्मचारीको डेस्क वा प्रणालीमा पुगेपछि सकेसम्म सोही दिनभित्र गर्नुपर्ने छ । एक दिनमा नभ्याएको अवस्थामा मात्रै भोलिपल्टभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ ।
मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीले कर्मचारीलाई आफ्नो जिम्मेवारी छिटो, पूर्ण र गुणस्तरीय रूपमा पूरा गर्न उत्प्रेरित गर्ने उद्देश्यले यो व्यवस्था ल्याईएको बताए ।
नयाँ नियमअनुसार निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकिने अवस्था आएमा सम्बन्धित कर्मचारीले तुरुन्तै आफ्नो माथिल्लो तहलाई जानकारी गराउनुपर्नेछ । साथै, कुनै पनि पत्र वा निर्णय प्रक्रिया सुरु गर्ने कर्मचारीले त्यसको अन्त्यसम्म अनुगमन गर्ने र प्रगतिको विवरण राख्ने दायित्व पनि लिनुपर्नेछ ।
यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै कर्मचारीसँग प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइने र त्यसको कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यस कदमले कर्मचारीमा अनुशासन कायम गर्नुका साथै कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यसबाट सेवाग्राहीले छिटो, सहज र प्रभावकारी सेवा पाउने विश्वास लिइएको छ ।
मन्त्रालयले यस अभ्यासलाई मातहतका सबै निकायमा विस्तार गर्दै दीर्घकालीन कार्यसंस्कृतिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । साथै, स्रोतसाधनको मितव्ययी तथा प्रभावकारी उपयोग गर्न पनि मातहतका कार्यालयहरूलाई निर्देशन दिइएको छ।











प्रतिक्रिया