चीनको एआई कम्पनीले ठगी गरिरहेको एन्थ्रोपिकको आरोप

105
Shares

एजेन्सी । अमेरिकाको कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले तीनवटा प्रमुख चिनियाँ एआई प्रयोगशालाहरूमाथि आफ्नो क्लाउड मोडलबाट अवैध रूपमा क्षमताहरू निकालेर आफ्नै मोडलहरू विकास गरेको आरोप लगाएको छ । यसले राष्ट्रिय सुरक्षामा चिन्ता पैदा गर्ने दाबी पनि कम्पनीले गरेको छ ।

चिनियाँ युनिकर्न कम्पनीहरू डीपसीक, मिनिमाक्स र मूनशट एआईले २४ हजारभन्दा बढी फर्जी खाताहरू सिर्जना गरी क्लाउडसँग भएका १ करोड ६० लाखभन्दा बढी संवादहरू प्रयोग गरेर आफ्ना मोडलहरूलाई तालिम दिएको एन्थ्रोपिकले सोमबारको एक ब्लगपोस्टमा आरोप लगाएको छ । यस प्रक्रियालाई डिस्टिलेसन भनिन्छ ।

डिस्टिलेसन एआई उद्योगमा तालिम दिने एउटा सामान्य विधि हो जहाँ अग्रणी प्रयोगशालाहरूले प्रायः ग्राहकहरूका लागि सस्तो संस्करणहरू बनाउन आफ्नै मोडलहरूलाई डिस्टिल (प्रशोधन) गर्छन् । तर, एन्थ्रोपिक लगायत अधिकांश अग्रणी स्वामित्ववाला एआई मोडल प्रदायकहरूले यस्ता अभ्यासहरूलाई स्पष्ट रूपमा निषेध गरेका छन् । क्लाउड चीनमा उपलब्ध छैन ।

एन्थ्रोपिकको प्रतिद्वन्द्वी कम्पनी ओपनएआईले अमेरिकी संसद्को चीन सम्बन्धी विशेष समितिमा पठाएको एक ज्ञापनपत्रमा डीपसीक र अन्य चिनियाँ एआई कम्पनीहरूले विगत एक वर्षदेखि अवैध रूपमा आफ्ना च्याटजिपिटी मोडलहरू डिस्टिल गरिरहेको भन्दै यस्तै आरोप लगाएको केही समयपछि एन्थ्रोपिकको यो दाबी आएको हो ।

गत वर्ष डीपसीकले च्याटजिपिटी जस्ता उद्योगका अग्रणी मोडलहरूसँग प्रतिस्पर्धा गर्न सक्ने शक्तिशाली मोडल सार्वजनिक गरेर यस क्षेत्रमा हलचल ल्याएको थियो जसमा तुलनात्मक रूपमा कम कम्प्युटिङ स्रोतहरूको आवश्यकता परेको थियो ।

यस विकासले उन्नत मोडलहरूलाई तालिम दिन बढी प्रोसेसिङ पावर (क्षमता) चाहिन्छ भन्ने तत्कालीन धारणालाई चुनौती दियो र अमेरिकी प्रविधि तथा निर्यात नियन्त्रणको प्रभावकारितामाथि प्रश्न खडा गर्यो । ओपनएआईले त्यतिबेला डीपसीकले अनुचित रूपमा आफ्ना मोडलहरू डिस्टिल गरेको हुन सक्ने प्रमाणहरूको समीक्षा गरिरहेको बताएको थियो ।

यस महिनाको ज्ञापनपत्रमा ओपनएआईले डीपसीकको द्रुत प्रगति ओपनएआई र अन्य अमेरिकी अग्रणी प्रयोगशालाहरूले विकास गरेका क्षमताहरूमा सित्तैमा रजाइँ गर्ने उसको निरन्तर प्रयासमा आधारित रहेको बताएको छ । डीपसीकले ओपनएआईका आरोपहरूबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन ।

एन्थ्रोपिकले अवैध रूपमा डिस्टिल गरिएका मोडलहरूमा आफू र अन्य अमेरिकी मोडल प्रदायकहरूले लागू गर्ने सुरक्षात्मक मापदण्डहरू नहुन सक्ने चेतावनी दिएको छ । यी मोडलहरू साइबर अपराध र जैविक हतियार जस्ता कार्यमा प्रयोग भएमा राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्ने कम्पनीको भनाइ छ ।

‘यी मोडलहरूले अधिनायकवादी सरकारहरूलाई आक्रामक साइबर अपरेसन, भ्रामक प्रचार अभियान र व्यापक निगरानीका लागि उन्नत एआई प्रयोग गर्न सक्षम बनाउन सक्छन्,’ कम्पनीले भन्यो, ‘कारबाही गर्ने समय निकै कम छ ।’

डीपसीकको आश्चर्यजनक उदयले अमेरिकी निर्यात नियन्त्रण असफल भएको हो कि भन्ने बहस सुरु गरिदियो । तर, एन्थ्रोपिकले विवादास्पद चिनियाँ एआई प्रयोगशालाहरूले डिस्टिलेसन मार्फत उच्च प्रदर्शन गर्ने मोडलहरू विकास गर्नुले नै ती प्रतिबन्धहरूको सान्दर्भिकता पुष्टि गर्ने तर्क गर्यो । कम्पनीका अनुसार, उसले एआई क्षेत्रमा अमेरिकाको अग्रता कायम राख्न लामो समयदेखि यस्ता प्रतिबन्धहरूलाई समर्थन गर्दै आएको छ ।

डीपसीक बाहेक चीनमा मिनिमाक्स र मूनशट एआईको किमी मोडल निकै चर्चित भएका छन् र उनीहरूलाई एआई टाइगरको रूपमा चिनिन थालिएको छ । यी तीनवटै मोडलहरू हाल चर्चित आर्टिफिसियल एनालिसिसको वरियता सूचीमा उत्कृष्ट १५ भित्र पर्दछन् ।

एन्थ्रोपिकले डिस्टिलेसनका प्रयासहरूलाई उजागर गरेर निर्यात नियन्त्रणको प्रभावकारिता प्रमाणित भएको र उन्नत चिप्समा पहुँच बिना केवल आविष्कारबाट मात्र अत्याधुनिक मोडल विकास सम्भव छैन भन्ने देखाएको बताएको छ । ‘वास्तविकतामा यी प्रगतिहरू धेरै हदसम्म अमेरिकी मोडलहरूबाट निकालिएका क्षमताहरूमा निर्भर छन् र ठूलो स्तरमा यसरी क्षमता निकाल्नका लागि उन्नत चिप्समा पहुँच आवश्यक पर्दछ,’ कम्पनीले भन्यो ।