निरासामै बित्यो अटो व्यवसायीको मुख्य सिजन, अर्को आन्दोलनको घोषणाले थपिँदै अन्यौलता

1.1k
Shares

काठमाडौं । सवारीसाधन खरिदबिक्रीको मुख्य सिजनमै निरासा भोगेका अटो व्यवसायी अर्को आन्दोलनको हल्लाले थप चिन्तित बनेका छन् । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि व्यापार व्यवसायमा ठूलो धक्का बेहोरेका अटो व्यवसायी मंसिर ७ देखि हुने अर्को आन्दोलनको घोषणाले थप चिन्तित बनेका हुन् ।

जेनजी प्रदर्शनका कारण सवारीसाधन खरिदबिक्रीको महत्वपूर्ण समय मानिने यस वर्षको दसैं-तिहार अटो व्यवसायीका लागि उल्लासमय बन्न सकेन । चाडपर्व लक्षित अफरमार्फत् ग्राहक आकर्षण गर्नेदेखि सवारीसाधन प्रदर्शनीमा बुकिङ गरिएका गाडीको डेलिभरीमा व्यस्त हुने व्यवसायीले यसपटक सोही किसिमको अनुभूति लिन पाएनन् ।

बरु, जेनजी प्रदर्शनपछि विस्तारै बजार लयमा फर्किने आशा गरेका व्यवसायीमा अर्को आन्दोलनको घोषणाले अन्यौलता सिर्जना गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष (एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक) मिलनबाबु मल्ल एकपछि अर्को आन्दोलन र अस्थिरताको संकेतले बजारको मनोबल थप कमजोर बनाएको बताउँछन् ।

‘जेनजी प्रदर्शन अगाडिसम्म अटो बजारको माहोल राम्रो बनेको थियो । अटो प्रदर्शनीमा देखिएको मानिसको सहभागिता र गाडी बुकिङले पनि व्यापार राम्रै हुने अपेक्षा हामीमा थियो,’ मल्ल भन्छन्, ‘तर, प्रदर्शनपछि सबै कुराहरु अस्तव्यवस्त बन्यो । दसैं तिहारमा पनि गाडी बिक्रीको अवस्था निरासाजनक रह्यो ।’

उनले यस्तो अन्यौलताको अवस्थामा गाडी खरिदमा मानिसले मन नलगाउने बताउँदै व्यापारका हिसाबमा अटो व्यवसायी सहज अवस्थामा नरहेको उल्लेख गरे । जेनजी प्रदर्शनले दसैं-तिहारको व्यापार खुम्चिएर बसेका व्यापारीलाई अर्को आन्दोलनको हल्लाले अब कसरी अगाडि बढ्ने भन्ने अन्यौलता सिर्जना गरेको मल्लको भनाइ छ ।

जेनजी प्रदर्शनले पुराएको चोटमा मलम लाग्न नपाउँदै फेरि अर्को आन्दोलनको हल्ला चल्न थालेपछि व्यवसायी चिन्तित बन्नु स्वभाविक हो । राजावादी पक्षको वकालत गर्दै आएका एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक बताउने दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्।

यसअघि, गत चैत १५ गते प्रसाईं राजावादी आन्दोलनको कमाण्डर बनेर सडकमा उत्रिँदा पनि प्रदर्शन निकै हिंसात्मक बनेको थियो । सो समयमा काठमाडौंको तीनकुनेमा तोडफोड, आगजनी र लुटपाट मच्चिएको थियो भने सञ्चारगृह, व्यापारिक केन्द्र, निजी तथा सरकारी भवन पनि निसानामा परेका थिए ।

यहिकारण पनि प्रसाईंको आन्दोलनप्रति मानिसमा एक किसिमको त्रास देखिने गर्दछ । झन् जेनजी प्रदर्शनका क्रममा मुलुकका महत्त्वपूर्ण सरकारी संरचना, निजी क्षेत्रका व्यवसायीक भवन र सम्पत्तीमा ठूलो नोक्सानी पुगेकाले निजी क्षेत्र त्रसित अवस्थामै छ।

यस्तो अवस्थामा थप अन्य आन्दोलन घोषणा हुनुले समग्र बजारमा नकारात्मक असर पर्ने नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलिया बताउँछन् ।

‘अटो व्यवसाय लङटर्मका लागि योजना तय गरी गरिने व्यवसाय हो । तर, एकपछि अर्को आन्दोलनले हामीलाई व्यवसायीक योजना बनाएर अगाडि बढ्न कठिन बनाएको छ,’ थपलिया भन्छन्, ‘मुख्य सिजनमै व्यापार गुमाएका व्यवसायीलाई अर्को आन्दोलनको कुराले थप अन्यौलता सिर्जना गरेको छ ।’ उनले यस्ता गतिविधिले सवारीसाधन खरिद गर्न चाहनेलाई समेत निरुत्साहित गर्ने बताए ।

खासगरी, साउन २१ देखि २६ गतेसम्म भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो र भदौ ३ देखि ८ गतेसम्म भएको नाडा अटो शोले व्यवसायीमा एक किसिमको उत्साह सिर्जना गरेको थियो । दुई प्रदर्शनीमै व्यवसायीले सकेसम्म बढीभन्दा बढी गाडी बुकिङ गराएर दशैंसम्म डेलिभरी गर्ने योजना बनाएका थिए ।

भारी छुट तथा अफर योजना ल्याएर गाडी बुकिङ गराउँदै सुरु भएको अटो व्यवसायीको दशैंको अन्त्य भने त्यति सुखद रहन सकेन । अर्थात्, भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको प्रभाव समग्र बजारमा पर्दा अटो शोमा बुकिङ भएका गाडी दसैं अगाडि नै धमाधम रद्द हुन थालेको थियो ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स अफ नेपाल (नाडा)को आयोजनामा भएको दुई अटो शोमा करिब आठ हजार गाडी बुकिङ भएको व्यवसायीले बताएका थिए । डेलिभरीका लागि अटो व्यवसायीले गाडी भित्र्याउने काम पनि गरेका थिए ।

यद्यपि, प्रदर्शनीका कारण ठूलो मात्रामा बुकिङ रद्द भएको र दसैं-तिहारमा पनि व्यापार निकै संकुचित बनेको कोषाध्यक्ष मल्ल बताउँछन् । ‘सवारीसाधनको प्रदर्शनी अघिदेखि नै यस वर्ष राम्रै व्यापार हुने अपेक्षामा हामी थियौं तर, जेनजी प्रदर्शनले दसैं तिहारमा हुने ठूलो व्यापार ठप्प जस्तै बनायो,’ मल्ल भन्छन्, ‘अब भने माहोल सहज बन्ला सोचेको झनै आन्दोलनको कुरा आइरहेको छ ।’

खासगरी, अटो व्यवसायीको अधिकतम व्यापार र आम्दानी दसैं तिहारको समयमा हुने गर्दछ । तर, व्यापार बढी हुने मुख्य समयमा नै प्रदर्शनका कारण बुकिङ भएका गाडी अत्यासलाग्दो ढंगमा रद्द भएका थिए । यसपछि, व्यवसायीले चाडपर्व अफरसमेत घोषणा गरेपनि त्यसले व्यापारमा खासै सुधार ल्याउन सकेको थिएन ।

बजार चलयमान नभएको विषय उठिरहँदा पनि गाडी आयात भने संकुचन आएको देखिँदैन छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउनदेखि असोजसम्म)मा ६ अर्ब २५ करोड रुपैयाँ बराबरको २ हजार ६२० युनिट विद्युतीय सवारीसाधन आयात भएको छ ।

गत वर्षको सोही अवधिमा भने ६ अर्ब १० करोड रुपैयाँ बराबरको २ हजार ५१६ युनिट विद्युतीय सवारी आयात भएको थियो । तथ्यांकअनुसार चालु आवको असोजसम्ममा ५० किलोवाटसम्मको १ अर्ब २६ करोड रुपैयाँको ७५१ युनिट आयात भएको छ । गत आवको सोही अवधिमा भने ५० किलोवाटसम्मको १ अर्ब ३९ करोड रुपैयाँको ७७२ युनिट सवारी आयात भएको थियो ।

चालु आवको असोजसम्ममा १०० किलोवाट क्षमतासम्मको ४ अर्ब २ करोड रुपैयाँको १ हजार ५४५ युनिट सवारी आयात भएको छ । गत आवको सोही अवधिमा भने १०० किलोवाटसम्मको ४ अर्ब १६ करोड ३४ लाख रुपैयाँको १ हजार ५ सय ८२ युनिट सवारी आयात भएको थियो ।

तथ्यांकअनुसार चालु आवको असोजसम्ममा २०० किलोवाटसम्मको ९५ करोड ७० लाख रुपैयाँको ३२३ युनिट सवारी आयात भएको छ । गत आवको सोही अवधिमा भने २०० किलोवाटसम्मको ५३ करोड ३८ लाख रुपैयाँको १५९ युनिट सवारी आयात भएको थियो ।

यस्तै, चालु आवको तीन महिनामा ३०० किलोवाटसम्मको ४८ लाख ४९ हजार रुपैयाँको १ युनिट सवारी आयात भएको तथ्यांक भन्सार विभागसँग छ । गत आवको सोही अवधिमा भने ३ सय किलोवाटसम्मको १ करोड ८४ लाख ८२ हजार रुपैयाँको ३ युनिट सवारी आयात भएको थियो ।

यसलाई हेर्दा जेनजी प्रदर्शनले ठूलो संख्यामा सवारीसाधनमा क्षति पुगेका कारण केही मात्रामा गाडी खरिदबिक्री चल्ने अपेक्षा व्यवसायीमा देखिन्छ । केही दिन अघि मात्रै जेनजी आन्दोलनपछि प्रहरीलाई पहिलो चरणमा २५१ वटा गाडी खरिदका लागि अर्थ मन्त्रालयले सहमति दिएको थियो ।

मन्त्रालयले प्रहरीलाई १७५, सशस्त्र प्रहरीलाई ७० र राष्ट्रिय अनुसन्धान विभागलाई ६ वटा गाडी खरिद गर्ने अनुमति दिएको थियो। जेनजी प्रदर्शनमा निजी क्षेत्रको पनि सवारीसाधनमाथि आगलागी र तोडफोड भएका कारण उनीहरुले पनि सवारीसाधन खरिद गर्न सक्ने ठाउँ भने बाँकी छ ।

नेपाल बिमा प्राधिकरणको कात्तिक ९ गतेसम्मको तथ्यांकअनुसार जेनजी प्रदर्शनमा क्षति पुगेका कुल २ हजार २७० सवारीसाधनको ३ अर्ब ४४ करोड २५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । जसमध्ये बिमा कम्पनीहरुले कुल ४७ करोड ७७ लाख रुपैयाँ बिमा दाबी भुक्तानी (अग्रिम भुक्तानी समेत गरी) भएको देखिन्छ ।