
काठमाडौं । होटल क्षेत्रमा आक्रामक तरिकाले विभिन्न तीन स्थानमा तारे होटल निर्माण गरिरहेको सांग्रिला हस्पिटालिटी ग्रुपको लागत बढेको छ । कम्पनीले विभिन्न स्थानमा होटल बनाइरहेको छ । उक्त होटलको निर्माण लागत सुरुमा अनुमान गरेकोभन्दा बढेको पाइएको हो ।
सन् १९७९ देखि काठमाडौंमा पाँच तारे होटल सञ्चालन गर्दै आएको ग्रुपले देशका विभिन्न स्थानमा तारे होटल निर्माण कार्यलाई तीब्रता दिएको छ । सोहीअनुसार कम्पनीले कर्जाका लागि रेटिङ गराएको छ । रेटिङअनुसार कम्पनीले निर्माण गरिरहेको दुई वटा तारे होटलको लागत उच्च बढेको पाइएको छ ।
ग्रुपले पोखरामा सञ्चालनमा रहेको होटललाई क्षमता विस्तार गरी पाँच तारे होटल बनाउने तयारी गरेको छ भने अन्य दुई स्थानमा रिसोर्ट निर्माण गरिरहेको छ।
ग्रुपले गरेको रेटिङअनुसार ३ होटल निर्माणमध्ये पोखराको बेगनासमा लस्ट होराइजन प्रालि र चितवनको मेघौलीमा लस्ट होराइज सफारी रिसोर्ट एन्ड स्पाको लागत बढेको उल्लेख छ ।
कुनको कति बढ्यो ?
लस्ट होराइजन प्रालि
सांग्रिला हस्पिटालिटी ग्रुपले पोखराको बेगनासमा निर्माण गरिरहेको लक्जरी होटलको लागत बढेको छ । कम्पनीले सुरुमा १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरेको थियो । तर, अहिले उक्त लागत बढेर २ अर्ब १३ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । यस हिसाबमा ६३ करोड ६० लाख रुपैयाँ लागत बढेको हो ।

कम्पनीकाअनुसार सुरुमा गरेको रेटिङको लागतभन्दा ४३ प्रतिशतले बढेको पाइएको हो । कम्पनीले उक्त रिसोर्टमा ४० वटा कोठा थप गर्ने भएकाले लागत बढेको उल्लेख गरेको छ ।
ग्रुपले पोखराको बेगनासमा इन्टरकन्टिनेन्टल रिसोर्ट पोखरा बेगनास ब्राण्डमा लक्जरी होटल सञ्चालनका लागि तीब्र गतिमा निर्माण कार्य अगाडि बढाएको छ । जसमा कम्पनीले हालसम्ममा ६६ प्रतिशत आर्थिक प्रगति गरिसकेको जनाएको छ ।
कम्पनीकाअनुसार प्रस्तावित ४० वटा नयाँ कोठाको लागत तुलनात्मक रुपमा पहिलेको कोठाभन्दा कम मूल्यमा निर्माण गर्ने भएको छ । लस्ट होराइजन कम्पनीले होटलमा ८० वटा कोठाको सुविधा दिनेछ । जसमा पहिलो चरणमा ४० वटा सुइट रुमको सुविधामा निर्माण गर्नेछ । कम्पनीले उक्त सुइट रुम प्रति कोठा ३ करोड ९० लाख रुपैयाँमा निर्माण गरेको थियो । अहिले दोस्रो चरणमा ४० वटा थप नयाँ कोठा बनाउनका लागि प्रति कोठा २ करोड ७० लाख रुपैयाँ कम लागत हुने जनाएको छ ।
कम्पनीले होटल निर्माण कार्य सम्पन्न गरिसकेपछि आगामी सन् २०२६ को डिसेम्बरबाट सञ्चालनमा ल्याउने योजना बनाएको छ। प्रसिद्धबहादुर पाण्डे र प्रविनबहादुर पाण्डेको संयुक्त लगानी रहेको रिसोर्ट निर्माणका लागि लस्ट होराइजन कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ७ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि अर्ब ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७ करोड २० लाख रुपैयाँको रेटिङ गराएको हो । दुईवटा होटलको गरि करिब २ अर्ब रुपैयाँले बढेको हो ।
लस्ट होराइजन सफारी रिसोर्ट एन्ड स्पा
ग्रुपले पोखरासँगै चितवनको मेघौलीमा पनि निर्माण गरिरहेको रिसोर्टको पनि लागत बढेको छ । कम्पनीको लागत ६३ करोड १० लाख रुपैयाँले बढेको छ ।

कम्पनीले सुरुमा १ अर्ब २९ करोड ५० लाख रुपैयाँ लागतमा रिसोर्ट निर्माण गर्ने भनिएको थियो । उक्त लागत बढेर अहिले १ अर्ब ९२ करोड ६० लाख रुपैयाँ निर्माण गर्ने जनाएको छ । जसमा कम्पनीले प्रति कोठाको लागत ५ करोड १० लाख रुपैयाँ खर्च हुने जनाएको छ ।
कम्पनीअनुसार हालसम्ममा ५३ प्रतिशत आर्थिक प्रगति भइसकेको छ । साथै, भौतिक कार्य सम्पन्न भइसकेको छ । रिसोर्टको केकानिकल, इलेक्ट्रिकल र प्लम्बिङको कार्य भइरहेको उल्लेख गरेको छ ।
आक्रामक तरिकाले लगानी बढाएको ग्रुपले लस्ट होराइजन सफारि रिसोर्टमार्फत् ‘इन्टरनेकन्टिनेन्टल रिसोर्ट चितवन मेघौली’ ब्राण्डको रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो । रिसोर्टमा पोखरामा जस्तै विभिन्न चरणमा निर्माण गरी सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीले ७२ प्रतिशत ऋण लिई रिसोर्टमा लगानी गर्नेछ । कम्पनीले पहिलो चरणमा ४० वटाको सुइट रुमको सुविधाको रिसोर्ट निर्माण गरिसकेको छ । त्यस्तै कम्पनीले दोस्रो चरणमा ४० वटा कोठाहरु निर्माण गरी आगामी सन् २०२६ को डिसेम्बरसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
कम्पनीले थप लगानी गरी दोस्रो चरणमा ४० वटा लक्जरी कोठाको सुविधासहित ८० वटा कोठाको रिसोर्ट निर्माण गर्नेछ । प्रसिद्धबहादुर पाण्डेको लगानी रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ९३ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ ।
सांग्रिला हस्पिटालिटी ग्रुपले देशका विभिन्न स्थानमा निर्माण गरिरहेको होटलको बजारीकरण र व्यवस्थापन भने इन्टरनेशनल होटल ग्रुपले गर्नेछ । युरोपमा होटल क्षेत्रको अगुवा कम्पनीको रुपमा स्थापित ग्रुप एम/एस इन्टरनेशनल होटल ग्रुप (आइएचजी)सँग सन् २०२२ मा सांग्रिलाले बजारीकरण र व्यवस्थापन गर्न सम्झौता गरेको छ । इन्टरनेशनल होटल ग्रुपले विश्वभर आइएचजी ब्राण्डमा होटल सञ्चालन गर्दै आएको छ ।
होटल सांग्रिला भिलेज प्रालि
पर्यटकीय नगरी पोखराको घारीपाटनमा रहेको होटलको लागत भने बढेको छैन । कम्पनीले सांग्रिला भिलेजलाई पाँच तारे बनाउने गरी स्तरोन्नती गरिरहेको छ ।

सन् १९९६ बाट ६१ वटा कोठाको सुविधासहित चार तारे होटल सञ्चालन गर्दै आएको होटल सांग्रिला भिलेजमा १ अर्ब १९ करोड २० लाख रुपैयाँ लगानी थप गरी पाँच तारे बनाउने भएको हो । कम्पनीले सन् २०२३ को जुलाईबाट पुनः निर्माण सुरु गरेको थियो।
उक्त होटलमा ८० प्रतिशत रुपैयाँ कर्जा लिई लगानी गर्ने भएको छ । कम्पनीले होटल निर्माण सम्पन्न भइसकेपछि होटल इन्डिगो ब्राण्डमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । होटलमा क्यासिनोको सुविधासहित सञ्चालनमा ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ ।
हाल होटलको प्रतिकोठा निर्माण गर्न १ करोड २० लाख रुपैयाँ खर्च हुने भएको छ । कम्पनीले पुनः निर्माण गरी एक सय कोठाको सुविधासहित पाँच तारे होटलको निर्माण कार्य अगाडि बढाएको हो । सुरुमा ६० वटा कोठाको सुविधासहित होटल सञ्चालन गर्दै आएकोमा ४० वटा कोठा थप गरी सय वटा कोठाको सुविधा दिनेछ ।
होटलमा प्रविनबहादुर पाण्डेको ४८ प्रतिशत, प्रसिद्धबहादुर पाण्डेको ३० प्रतिशत, एम/एस मयुर इन्टरनेशनल प्रालि १८ प्रतिशत, दरपना पाण्डेको २ प्रतिशत, सुमिता पाण्डेको २ प्रतिशत र मेरी पाण्डेको १ प्रतिशत स्वामित्व छ ।
चार तारे होटलले सन् २०२० मा ८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै सन् २०१९ मा १३ करोड रुपैयाँ, सन् २०१८ मा १२ करोड २० लाख रुपैयाँ र सन् २०१७ मा ८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले होटल स्तरोन्नतीका लागि ९४ करोड ९० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ ।
कम्पनीकाअनुसार सन् २०२५ को जुन महिनासम्ममा होटलको ९० प्रतिशत आर्थिक प्रगति भएको उल्लेख छ । उक्त होटल सन् २०२५ को मार्चसम्ममा सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर, कम्पनीले सन् २०२६ को जनवरीबाट व्यवसायिक कारोबार सुरु गर्ने जनाएको छ ।







प्रतिक्रिया