होटल क्षेत्रमा आक्रामक बन्दै सांग्रिला हस्पिटालिटी ग्रुप, ४ अर्ब लगानीमा ३ वटा तारे होटल विस्तार गर्दै



काठमाडौं । होटल क्षेत्रमा सांग्रिला हस्पिटालिटी ग्रुप आक्रामक बनेको छ । सन् १९७९ देखि काठमाडौंमा पाँच तारे होटल सञ्चालन गर्दै आएको ग्रुपले देशका विभिन्न स्थानमा तारे होटल निर्माण गरिरहेको छ ।

ग्रुपले पोखरामा सञ्चालनमा रहेको होटललाई क्षमता विस्तार गरी पाँच तारे होटल बनाउने तयारी गरेको छ  भने अन्य दुई स्थानमा भने रिसोर्ट निर्माण गरिरहेको छ ।

ग्रुपले गरेको रेटिङअनुसार ३ होटल निर्माणका लागि ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । तथ्याङ्कमा ग्रुपले ३ होटलमा ३ अर्ब ९८ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको हो । ग्रुपले पोखराको होटल सांग्रिलामा १ अर्ब १९ करोड २० लाख रुपैयाँ, पोखराको बेगनासमा लस्ट होराइजन प्रालिमार्फत्१ अर्ब ४९ करोड ५० लाख रुपैयाँ र चितवनको मेघौलीमा लस्ट होराइजन सफारि रिसोर्टमार्फत् रिसोर्ट निर्माण गर्न १ अर्ब २९ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

होटल सांग्रिला भिलेज: ग्रुपले पर्यटकीय नगरी पोखराको घारीपाटनमा रहेको होटल सांग्रिला भिलेजलाई पाँच तारे बनाउने गरी स्तरोन्नती गरेको छ । कम्पनीले सन् २०२३ को जुलाईबाट पुन: निर्माण कार्य अगाडि बढाएको छ । सन् १९९६ बाट ६१ वटा कोठाको सुविधासहित चार तारे होटल सञ्चालन गर्दै आएको होटल सांग्रिला भिलेजमा १ अर्ब १९ करोड २० लाख रुपैयाँ लगानी थप गरी पाँच तारे बनाउने भएको हो । उक्त होटलमा ८० प्रतिशत रुपैयाँ कर्जा लिई लगानी गर्ने भएको छ । कम्पनीले होटल निर्माण सम्पन्न भइसकेपछि होटल इन्डिगो ब्राण्डमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । होटलमा क्यासिनोको सुविधासहित सञ्चालनमा ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ ।

हाल होटलको प्रतिकोठा निर्माण गर्न १ करोड २० लाख रुपैयाँ खर्च हुने भएको छ । होटलमा प्रविनबहादुर पाण्डेको ४८ प्रतिशत, प्रशिद्धबहादुर पाण्डेको ३० प्रतिशत, एम/एस मयुर इन्टरनेशनल प्रालि १८ प्रतिशत, दरपना पाण्डेको २ प्रतिशत, सुमिता पाण्डेको २ प्रतिशत र मेरी पाण्डेको १ प्रतिशत स्वामित्व छ ।

चार तारे होटलले सन् २०२० मा ड करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै सन्  २०१९ मा १३ करोड रुपैयाँ, सन् २०१८ मा १२ करोड २० लाख रुपैयाँ र सन् २०१७ मा ८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले होटल स्तरोन्नतीका लागि ९४ करोड ९० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीअनुसार सन् २०२४ को जनवरीसम्ममा होटलको ९ प्रतिशत आर्थिक प्रगति भएको उल्लेख छ । उक्त होटल आगामी सन् २०२५ को मार्चसम्ममा सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

लस्ट होराइजन प्रालि: सांग्रिला हस्पिटालिटी ग्रुपले पोखराको बेगनासमै अर्को लक्जरी होटल निर्माण कार्यलाई तीब्र अगाडि बढाएको छ । ग्रुपले पोखराको बेगनासमा  १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ लगानीमा इन्टरकन्टिनेन्टल रिसोर्ट पोखरा बेगनास ब्राण्डमा लक्जरी होटल सञ्चालनमा ल्याउने भएको हो ।

लस्ट होराइजन कम्पनीले रिसोर्टमा ८० वटा कोठाको सुविधा दिनेछ। जसमा पहिलो चरणमा ४० वटा सुइट रुमको सुविधामा निर्माण गर्नेछ । कम्पनीले पहिलो चरणको रिसोर्ट निर्माण गरी सन् २०२४ को डिसेम्बरसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यस्तै दोस्रो चरणमा थप ४० वटा लक्जरी रुम निर्माण गर्ने जनाएको छ । उक्त सुविधाको रिसोर्ट आगामी सन् २०२६ को डिसेम्बरबाट सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

उक्त रिसोर्टको हालसम्ममा ५६ प्रतिशत आर्थिक प्रगति भएको छ । कम्पनीले रिसोर्टमा प्रतिकोठा ३ करोड ९० लाख रुपैयाँ खर्च लाग्ने जनाएको छ ।

 प्रसिद्धबहादुर पाण्डे र प्रविनबहादुर पाण्डेको संयुक्त लगानी रहेको रिसोर्ट निर्माणका लागि लस्ट होराइजन कम्पनीले अल्पकालिन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ७ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।

लस्ट होराइजन सफारी रिसोर्ट: ग्रुपले पोखरासँगै चितवनको मेघौलीमा पनि रिसोर्ट निर्माण गरिरहेको छ । आक्रामक तरिकाले लगानी बढाएको ग्रुपले लस्ट होराइजन सफारि रिसोर्टमार्फत् ‘इन्टरनेकन्टिनेन्टल रिसोर्ट चितवन मेघौली’ ब्राण्डको रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो ।   

रिसोर्टमा पोखरमा जस्तै पहिलो चरण र दोस्रो चरण गरी दुई चरणमा निर्माण गरी सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले रिसोर्ट निर्माण गर्न १ अर्ब २९ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । रिसोर्टमा ७२ प्रतिशत ऋण लिई लगानी गर्नेछ । हालसम्ममा रिसोर्टको ५५ प्रतिशत आर्थिक प्रगति भइसकेको छ ।

कम्पनीले पहिलो चरणमा ४० वटाको सुइट रुमको सुविधाको रिसोर्ट निर्माण गर्नेछ । व्यवस्थापन समूहले पहिलो चरणमा निर्माण गरेको रिसोर्ट सन् २०२५ को अप्रिलसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ । रिसोर्टको प्रतिकोठा निर्माणको लागत ३ करोड २० लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

त्यसपछि कम्पनीले थप लगानी गरी दोस्रो चरणमा ४० वटा लक्जरी कोठाको सुविधासहित ८० वटा कोठाको रिसोर्ट निर्माण गर्नेछ । उक्त रिसोर्ट आगामी सन् २०२६ को डिसेम्बरबाट सञ्चालनमा ल्याउने योजना बनाएको छ । प्रसिद्धबहादुर पाण्डेको लगानी रहेको कम्पनीले  दीर्घकालीन कर्जाका लागि ९३ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ ।

सांग्रिला हस्पिटालिटी ग्रुपले देशका विभिन्न स्थानमा निर्माण गरिरहेको होटलको बजारीकरण र व्यवस्थापन भने इन्टरनेशनल होटल ग्रुपले गर्नेछ । युरोपमा होटल क्षेत्रको अगुवा कम्पनीको रुपमा स्थापित ग्रुप एम/एस इन्टरनेशनल होटल ग्रुप (आइएचजी)सँग सन् २०२२ मा सांग्रिलाले बजारीकरण र व्यवस्थापन गर्न सम्झौता गरेको छ । इन्टरनेशनल होटल ग्रुपले विश्वभर आइएचजी ब्राण्डमा होटल सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी सांग्रिलाले सन् १९७९ देखि काठमाडौं र पोखरामा पाँच तारे र चार तारे होटल सञ्चालन गर्दै आएको छ । अहिले उक्त होटलहरु पुन:निर्माणको चरणमा छ ।


क्लिकमान्डु