महँगो बन्न थाल्यो ‘नोट पूजा’, रङ र तेलबाट पैसालाई कसरी जोगाउने ? (भिडियो)

140
Shares

काठमाडौं । सर्वसाधारणको हातहातमा हरेक वर्ष दशैं र तिहारको बेलामा नयाँ नोट पुगोस् भनेर नेपाल राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाउँदै आएकामा पछिल्लो २ आर्थिक वर्ष त्यसो गर्न बन्द गरेको छ । दुई वर्षयता एकपटक बजारमा पठाएर पुनः बैंक हुँदै राष्ट्र बैकमा फिर्ता भएका नोटलाई नै सुकिलो भनेर बजारमा पठाउन थालेको छ ।

हरेक वर्ष चाडपर्वको समयमा ठूलो मात्रामा नयाँ नोट बजारमा पठाउने तर चाडपर्वमा नोटमा पुजा गर्दा रङ लाग्ने, तेलमा भिज्ने जस्ता कारणले ती नोट एक पटकमा नै पुनः प्रयोगका लागि अयोग्य हुने अवस्था आएपछि राष्ट्र बैंकले दशैं तिहार जस्ता चाडपर्वमा नयाँ नोट बजारमा पठाउन छोडेको छ ।

गत वर्षको दशैं तिहारमा पनि सुकिला नोट भनेर एकपटक प्रयोगमा आइसकेका नोट बजारमा पठाएको राष्ट्र बैंकले यो वर्ष पनि ५ रुपैयाँ दरका बाहेक सबै सुकिला नोट भनेर पुराना नोट मात्रै साट्ने व्यवस्था गर्यो ।

किन नयाँ नोट पठाउँदैन राष्ट्र बैंक
नयाँ नोटको सट्टा सुकिला नोट सटही गर्दा नोट साट्ने पनि कम हुने गरेको देखिएको राष्ट्र बैक मुद्रा व्यवस्थापन विभागका अधिकारीहरु बताउँछन् । नयाँ नोट सटही गर्दा साना दरका १४ अर्ब रुपैयाँको बजारमा जाने गरेकामा सुकिला नोट साट्ने व्यवस्थाले उक्त सटही नै घटेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

‘नोटको आयु बढाउन दशैं तिहार लगायतका चाडपर्वमा सुकिला नोट बजारमा पठाउन उपयुक्त हुने रहेछ । त्यसले नोट झुत्रा भएर पर्किएपछि राज्यलाई ठूलो नोक्सानी हुँदैन,’ मुद्रा व्यवस्थापन विभागमा कार्यरत एक अधिकारीले भने, ‘विगतमा ५ देखि १०० रुपैयाँ दरका नोट दशैं तिहार लगायतका चाडपर्वमा सटही गरेर पठाउँदा २५ देखि ३० प्रतिशत नोट पुुन प्रयोगका लागि अयोग्य हुनेगरी झुत्रा भएर फकर्ने गरेको अध्ययनबाट देखियो । त्यसको सट्टा एकपटक प्रयोगमा आएको सुकिला नोट बजारमा पठाउँदा नोटका आयाु बढी हुने अवस्था देखियो ।’

यस्तै चाडपर्वका समयमा ठूला दरका ३५ अर्ब रुपैयाँको नोट बजारमा जाने गरेकोमा यो दर भने अझै बढ्न सक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । नेपाल राष्ट्र बैंकको ३० भदौको तथ्यांक अनुसार बजारमा चलनचल्तीमा रहेको नोट (बैंकहरुसँग भएको समेत) ७ खर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा ९ असोजमा ७ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ ।

असोज लागेपछि मात्रै बजारमा ४३ अर्ब रुपैयाँ पैसा गइसकेको तथ्यांकले देखाउँछ । अझै दशै बिदामा बैंकहरुले एटीएममा भर्नका लागि १२ असोज आइतबार ठूलो परिमाणमा राष्ट्र बैंकबाट ५०० र १ हजार दरको नोट लैजाने भएकाले दशैं तिहारमा बजारमा पठाउने रकम अझै बढ्न अवस्था रहेको देखिन्छ ।

यसले ५० देखि ६० अर्ब रुपैयाँ बराबरको साना ठूला दरका नोट दशैंमा राष्ट्र बैंकले बजारमा पठाउने गरेको तथ्यांकले देखाउँछ ।

हरेक वर्ष दशैंको समयमा यसरी नै नयाँ नोट बजार जान्छ, तर जतन नहुँदा वर्षेनी ठूलो मात्रामा नोट झुत्रा हुने गरेको छ । यसरी काम नलाग्ने बनेका नोटहरु राष्ट्र बैंक पुग्छन् । अझै तिहारमा नोटलाई लक्ष्मीको रुपमा पुजा गर्न चलन छ । तिहारमा धनकी देवी लक्ष्मीको पुार गर्दा लक्ष्मीको फोटोसँगै दीप प्रज्वलन गर्ने र त्यसमा पैसालाई पनि लक्ष्मीको प्रतिकको रुपमा पुजा गर्दा नोट डढ्ने गरेका घटाना समेत आउने गरेको छ ।

राष्ट्र बैंक च्यातिएका र त्रुत्रा भएका तथा डढेका नोट पनि नोटको नम्बर स्पष्ट हुँदा साटिदिने गर्छ । तर, नोट सटहीमा हुने खर्च भने त्यसरी पुजा गर्दा रङ लगाउने डढ्ने तथा मैला हुने हुँदा पुन बजारमा पठाउन मिल्दैन ।

त्यस्ते नोटलाई राष्ट्र बैंकले नष्ट गर्नुपर्दा ठूलो लागत लाग्ने गरेको छ । यस्तै यस्ते नोट व्यवस्थापनमा ठूलो जनशक्ति समेत प्रयोग गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

केन्द्रीय बैंकको अनुसार हरेक वर्ष ४० देखि ५० अर्ब हाराहारी झुत्रा नोटहरू नष्ट गरिन्छ । यसरी हरेक वर्ष नयाँ नोट नष्ट हुने र राष्ट्र बैंकले पुनः छपाउने प्रक्रिया निरन्तर चलिरहन्छ ।

राष्ट्र बैंकले नोट छाप्नको लागि ग्लोबल ट्रेन्डर गर्छ भने विदेशी कम्पनीमार्फत नोट छापिएर आउने गर्छ । नोट छपाइकै लागि हरेक वर्ष अर्बौं रुपैयाँ विदेशिने गरेको छ ।

नोट छपाइमा हुने ठूलो लागत र त्यसको लागि देशबाट बाहिरिने विदेशी मुद्रा ठूलो हुने भएकाले पनि नोटको जतन कति जरुरी छ भन्ने देखिन्छ ।

हरेक वर्ष चाडपर्वमा बजारमा पठाइने नयाँ नोट पूजा गर्दा रङको प्रयोग हुनुका साथै पानीमा भिज्जे भएकाले चाँडै झत्रुा हुने गर्छ । चाडपर्वमा बजारमा जाने गरेको नोटमध्ये २५ देखि ३० प्रतशितसम्म झुत्रा भएर फकर्ने गरेको पाइएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले बताए ।

माछामासु पलसमा मासु काटेको हातले पैसाको कारोबार गर्ने, यातायातका साधनमा भाडा उठाउँदा नोटलाई खुम्च्याउने जस्ता कारण पनि नोट चाँडै झुत्रा हुने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । नोटको जतन गर्नको लागि राष्ट्र बैंकले सूचना र सन्देशमुलक भिडियो समेत बनाएर प्रकाशित गर्दै आएको छ ।

विगतका तुलनमा पछिल्ला वर्षहरुमा भने नोटको प्रयोगमा केही सुधार भएको छ । चाडपर्वमा नोटमा पूजा गर्ने कार्यमा सुधार देखिएकोले रङ लगाएर आउने नोट केही कमी भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार नेपालमा ठूला नोट (रु. ५०० र १०००) को आयु ४ देखि ५ वर्ष हाराहारी हुने गरेको छ । औपचारिक अध्ययन नभए पनि साना दरको नोटको औसत आयु भने दुईदेखि साढे २ वर्षमात्र हुन्छ । दशैं तिहारमा बजारमा पठाएको नोटहरुमध्ये एक तिहाई नोट त पुन प्रयोगमा ल्याउन अयोग्य हुने गरेको राष्ट्र बैंकको तर्क छ । यसले साना दरका नोटको औसत आयु घटाउने गरेको उनले बताए ।

कति लाग्छ नोट छपाइको लागत ?
नयाँ नोट छपाइको लागि नोटको दर अनुसार फरक–फरक शुल्क लाग्ने गरेको छ । सबैभन्दा बढी छपाई शुल्क ५०० दरका नोट छपाउन लाग्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैकका अनुसार ५ सय रुपैयाँ दरका नोट छाप्न सबैभन्दा धेरै ५ रुपैयाँदेखि साढे ५ रुपैयाँसम्मको लागत पर्ने गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

५ सय रुपैयाँ दरको नोटमा भएको सेक्युरिटी फिचरका कारण अन्तर्राष्ट्रिय अवार्ड पनि जितेको राष्ट्र बैंकले जनाएको छ । सोही सेक्युरिटी फिचरका कारण ५ सय रुपैयाँ दरको नोटको छपाई लागत सबैभन्दा धेरै पर्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै १ हजार रुपैयाँ दरको नोटको छपाई लागत करिब ४ रुपैयाँ पर्ने गरेको छ ।

५ रुपैयाँ दरको नोट छाप्न पनि २ रुपैयाभन्दा माथि पर्ने गरेको राष्ट्र बैंकले जनाएके छ । २ रुपैयाँभन्दा कम दरमा कुनै पनि नोट नछापिने राष्ट्र बैंकले जनाएको छ ।

नोटमा विगार्दा के हुन्छ ?
राष्ट्र बैंकले १२ वैशाख २०७३ मा सफा नोट नीति २०७३ जारी गरेको थियो । बैंकहरूलाई एटीएम लगायतका मेसिनहरुमा प्रयोग योग्य, काउन्टरबाट भुक्तानी दिन योग्य र चलनचल्तीमा पठाउन अयोग्य भनेर छुट्याउन भनेको छ । साथै नोटमा स्टिचको प्रयोग गर्न पाइने छैन ।

झुत्रिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, कीराले खाएको, भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, सुरक्षणहरू नबुझिने भएको, राजाको चित्र अंकित भएको आदि नोटहरूलाई भने पुनः निष्काशन अयोग्य नोटको रूपमा गणना गर्नुपर्ने व्यवस्था छ ।

नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

नोटमा केरमेट तथा विगोर्ने काय गरे कारबाही हुने कानुनी व्यवस्था छ । ‘नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानि–नोक्सानी पुर्‍याएमा तीन महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ,’ मुलुकी अपराध (संहिता) ऐनको दफा २६३ मा भनिएको छ ।