एक सातापछि आजबाट बिपी राजमार्ग दुईतर्फी खुल्दै, बाटो सुचारु गर्न रातभर काम

420
Shares

काठमाडौं । आज साँझसम्म बिपी राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आउने भएको छ ।

बाढी पहिरोका कारण डाइभर्सन सडक बगेपछि उक्त सडक खण्ड पछिल्लो एक सातादेखि अवरुद्ध छ ।

चारसयबेशी, चिउरीबास झाङ, बोक्सीकुना, माथिल्लो माम्ती पुल नजिक र तल्लो माम्तीनजिक डाइभर्सन निर्माणको काम भइरहेको छ ।

भक्तपुर–काभ्रेप्लान्चोक कार्यालयका इन्जिनियर दुर्गाप्रसादका अनुसार यसमध्ये चारसयबेशी, चिउरीबास झाङ, बोक्सीकुना, माथिल्लो माम्ती नजिक डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

बिहिबार भररात सरकारी अधिकारी र प्राविधिकको टोलीले यस्ता स्थानमा डाइभर्सन निर्माण गर्न खटिएका थिए ।

यस्तै तल्लो पिप्लो, माथिल्लो पिप्ले, बर्खेखोला नजिकको डाइभर्सन बिहिबार रातभरको अथक प्रयासपछि आज बिहान ४ बजेसम्म निर्माण सम्पन्न भएको छ ।

यसमध्ये तल्लो माम्ती र माथिल्लो माम्ती पुल नजिकको क्षेत्र केहि कठिनाई भएकाले दुईतर्फबाट डाइभर्सन बनाउने काम भइरहेको भक्तपुर–काभ्रेप्लान्चोक कार्यालयका इन्जिनियर दुर्गाप्रसादले जानकारी दिए ।

यो दुई माम्तीको डाइभर्सन निर्माण भएसँगै सम्भवत आजदेखि बिपी राजमार्ग दुईतर्फी पूर्ववत् रुपमा सञ्चालनमा आउने उनले जानकारी दिए । हालसम्म काभ्रेपलाञ्चेकको चौकीडाँडादेखि नेपालथोकसम्मको रुटमा डाइभर्सन निर्माण सम्पन्न भइसकेको छ ।

निर्माण सम्पन्न भएका रुटमा फाट्टफुट्ट सवारी साधन सञ्चालनमा आइरहेको छ । पूर्वी नेपालका जिल्लालाई जोड्ने यो सडक खण्ड निकै छोटो भएकाले पूर्वी नेपाल जाने यात्रुहरु नागढुङगा–मुग्लिन सडकको विकल्पमा यो सडक प्रयोग गर्दै आएका छन् ।

सडक विभागका प्रवक्ता प्रभात झाका अनुसार असोज १७ र १८ गते परेको अविरल वर्षापश्चात् रोशी खोलामा आएको बाढी र पहिरोका कारण गत वर्ष निर्माण भएको डाइभर्सन सडकमध्ये ५ किलोमिटर २ सय ४० मिटरमध्ये ४ किलोमिटर ८ मिटर सडक पूर्ण रुपमा बगेको थियो ।

बिपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोला सम्मको १६ स्थानमा ४ किलोमिटर ८ मिटर खण्ड बाढी र पहिरोले डाइभर्सन जगदेखि नै बगाएको छ ।

यसमध्ये १४ स्थान भक्तपुर–काभ्रेपलाञ्चोक डिभिजन कार्यालयअन्तर्गत परेका छन् भने २ स्थान सिन्धुली–रामेछाप (खाल्टे) डिभिजन कार्यालय अन्तर्गत पर्छ ।

अहिले बगाएको कूल ४ किलोमिटर ८ मिटरमध्ये साढे ५ सय मिटर खण्ड सिन्धुली–रामेछाप (खाल्टे) डिभिजन कार्यालय अन्तर्गत र बाँकी ३ किलोमिटर ४ सय ५८ मिटर खण्ड भक्तपुर–काभ्रेप्लाञ्चोक डिभिजन कार्यालयअन्तर्गत पर्छ ।

प्रवक्ता झाका अनुसार बर्खेखोलादेखि धुलिखेलसम्मको दूरीमा रहेका ममती खोला (४०० मिटर), माथिल्लो ममती (२५५ मिटर), तल्लो पिप्ले (२२० मिटर), माथिल्लो पिप्ले (२२० मिटर), सुख्खा पहिरो पिप्ले (३६२ मिटर), डालाबेशी (८४१ मिटर), कल ढुङगा–भ्याकुरे खोला (२५ मिटर) र कल ढुङगा–भ्याकुरे खोला (६० मिटर) खण्ड खोलाले बगाएको छ ।

यस्तै बोक्सीकुना (२०० मिटर), चिउरीबस झ्याङ (२०० मिटर), नार्के (५० मिटर), गिम्तीबेशी (१०० मिटर), चारसभाबेशी (३०० मिटर), चारसभाबेशी (८० मिटर), कटुन्जेबेशी (३०० मिटर), चौकीडाँडा (३७५ मिटर) र दाप्चा पुल नम्बर १ (२० मिटर) खण्ड रोशी खोलाले पूर्ण रुपमा बगाएको छ ।

विभागका अनुसार यसमध्ये माथिल्लो ममती भन्ने स्थानमा २०, कल ढुङगा–भ्याकुरे खोला नजिक २० र दाप्चे पुल नम्बर १ नजिक २० मिटर गरी ६० मिटर खण्डमा यो वर्षको बाढीले थप कटान गरी बाटो बगाएको हो । अघिल्लो वर्ष नबगाएको यो स्थानमा थप बाटो कटान गरी बगाएको हो ।

गत वर्ष दशैंमा आएको बाढी पहिरोले १ सय ६० किलोमिटर दूरी भएको धुलिखेल–बर्दिबास बिपी राजमार्गको २८ किलोमिटर खण्ड पूर्ण रुपमा बगेको थियो ।

यसमध्ये भक्तपुर–काभ्रेपलाञ्चोक सडक डिभिजनअन्तर्गत २५ किलोमिटर र सिन्धुली–रामेछाप (खाल्टे) डिभिजनअन्तर्गत ३ किलोमिटर खण्ड पर्छ ।

सडक विभागका अनुसार काभ्रेपलाञ्चोकको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रुपमा क्षतिगस्त बनेको थियो भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रुपमा बगेको थियो । बाँकी खण्ड क्षत विक्षत भएको थियो ।

त्यो बेला तत्कालको लागि बाटो सुचारु गर्न रोशी खोलाको बगरै बगर अस्थायी बाटोको लिग बनाइएको थियो ।

त्यसपछि स्थायी रुपमा पहिलेको पक्की बाटोसँगै सडक विभागले करिब ११ करोडको आफ्नै लागत खर्चमा डाइभर्सन निर्माण गरेको थियो । त्यहि डाइभर्सन सडकमा हालसम्म सवारी साधन गुड्दै आएका थिए ।