
काठमाडौं । गत वर्षको अविरल वर्षापछि रोशी खोलामा आएको बाढी पहिरोका कारण क्षतीग्रस्त बनेको बिपी राजमार्ग पछिल्लो समयमा डाइभर्सनको सहयोगमा सुचारु भएको थियो । यो डाइभर्सनलाई यो वर्षको असोज १७ र १८ गते आएको अविरल वर्षाका साथै बाढी पहिरोले पुनः बगाउँदा यो सडक खण्डमार्फत काठमाडौं र पूर्वी नेपालको सम्बन्ध नै बिच्छेद भएको छ ।
दशैं मनाउँदा यो सडक खण्डमार्फत सबै प्रकारका साना ठूला गरी करिब तीन लाखभन्दा बढी सवारी साधन बाहिरिएका थिए । पूर्वी नेपालका जिल्लालाई जोड्ने यो सडक खण्ड निकै छोटो भएकाले पूर्वी नेपाल जाने यात्रुहरु नागढुङगा–मुग्लिन सडकको विकल्पमा यो सडक प्रयोग गर्दै आएका छन् ।
सडक विभागका प्रवक्ता प्रभात झाका अनुसार पछिल्लो दुई दिनको अविरल वर्षापश्चात् रोशी खोलामा आएको बाढी र पहिरोका कारण गत वर्ष निर्माण भएको डाइभर्सन सडकमध्ये ५ किलोमिटर २ सय ४० मिटरमध्ये ४ किलोमिटर ८ मिटर सडक पूर्ण रुपमा बगेको छ ।
बिपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोला सम्मको १६ स्थानमा ४ किलोमिटर ८ मिटर खण्ड बाढी र पहिरोले डाइभर्सन जगदेखि नै बगाएको छ । यसमध्ये १४ स्थान भक्तपुर–काभ्रेपलाञ्चोक डिभिजन कार्यालयअन्तर्गत परेका छन् भने २ स्थान सिन्धुली–रामेछाप (खाल्टे) डिभिजन कार्यालय अन्तर्गत पर्छ ।
अहिले बगाएको कूल ४ किलोमिटर ८ मिटरमध्ये साढे ५ सय मिटर खण्ड सिन्धुली–रामेछाप (खाल्टे) डिभिजन कार्यालय अन्तर्गत र बाँकी ३ किलोमिटर ४ सय ५८ मिटर खण्ड भक्तपुर–काभ्रेप्लाञ्चोक डिभिजन कार्यालयअन्तर्गत पर्छ ।
प्रवक्ता झाका अनुसार बर्खेखोलादेखि धुलिखेलसम्मको दूरीमा रहेका ममती खोला (४०० मिटर), माथिल्लो ममती (२५५ मिटर), तल्लो पिप्ले (२२० मिटर), माथिल्लो पिप्ले (२२० मिटर), सुख्खा पहिरो पिप्ले (३६२ मिटर), डालाबेशी (८४१ मिटर), कल ढुङगा–भ्याकुरे खोला (२५ मिटर) र कल ढुङगा–भ्याकुरे खोला (६० मिटर) खण्ड खोलाले बगाएको छ ।

यस्तै बोक्सीकुना (२०० मिटर), चिउरीबस झ्याङ (२०० मिटर), नार्के (५० मिटर), गिम्तीबेशी (१०० मिटर), चारसभाबेशी (३०० मिटर), चारसभाबेशी (८० मिटर), कटुन्जेबेशी (३०० मिटर), चौकीडाँडा (३७५ मिटर) र दाप्चा पुल नम्बर १ (२० मिटर) खण्ड रोशी खोलाले पूर्ण रुपमा बगाएको छ ।
विभागका अनुसार यसमध्ये माथिल्लो ममती भन्ने स्थानमा २०, कल ढुङगा–भ्याकुरे खोला नजिक २० र दाप्चे पुल नम्बर १ नजिक २० मिटर गरी ६० मिटर खण्डमा यो वर्षको बाढीले थप कटान गरी बाटो बगाएको हो । अघिल्लो वर्ष नबगाएको यो स्थानमा थप बाटो कटान गरी बगाएको हो ।
‘पूर्वी नेपालका जिल्लालाई जोड्ने सबैभन्दा छोटो र सुगम बाटो यहि भएकाले तत्कालको लागि रोशीखोलाको बगरै बगरमा खोलाकै ढुङगा, माटो र ग्राभेल संकलन गरी अस्थायी बाटो बनाउने काम सोमबारदेखि सुरु गरेका छौं,’ सडक विभागका प्रवक्ता झाले भने,‘थप वर्षा नभए बगरमा अस्थायी बाटो निर्माण सम्पन्न गरी आगामी सातादेखि बगरे बाटोमार्फत सवारी साधन गुड्न थाल्नेछन् ।’
गत वर्ष दशैंमा आएको बाढी पहिरोले १ सय ६० किलोमिटर दूरी भएको धुलिखेल–बर्दिबास बिपी राजमार्गको २८ किलोमिटर खण्ड पूर्ण रुपमा बगेको थियो ।
यसमध्ये भक्तपुर–काभ्रेपलाञ्चोक सडक डिभिजनअन्तर्गत २५ किलोमिटर र सिन्धुली–रामेछाप (खाल्टे) डिभिजनअन्तर्गत ३ किलोमिटर खण्ड पर्छ ।
सडक विभागका अनुसार काभ्रेपलाञ्चोकको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रुपमा क्षतिगस्त बनेको थियो भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रुपमा बगेको थियो । बाँकी खण्ड क्षत विक्षत भएको थियो ।
त्यो बेला तत्कालको लागि बाटो सुचारु गर्न रोशी खोलाको बगरै बगर अस्थायी बाटोको लिग बनाइएको थियो ।
त्यसपछि स्थायी रुपमा पहिलेको पक्की बाटोसँगै सडक विभागले करिब ११ करोडको आफ्नै लागत खर्चमा डाइभर्सन निर्माण गरेको थियो । त्यहि डाइभर्सन सडकमा हालसम्म सवारी साधन गुड्दै आएका थिए ।

बाटो सुचारु गर्न बगरमा अस्थायी बाटो बनाइँदै
सरकारले उक्त बाटो पुनः सुचारु गर्न तत्कालै आवश्यक तयारी गर्न आइतबार सडक विभागलाई निर्देशन दिएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले एक साताभित्र उक्त सडक सञ्चालनमा ल्याउन विभागका उच्च अधिकारीलाई निर्देशन दिएका छन् ।
निर्देशन अनुसार अहिले रोशी खोलाको किनारै किनार हुने गरी बगरमा लिक बनाउने काम सोमबारदेखि सुरु भएको छ ।
गत वर्षको बाढी पहिरोले बगाएको सडक खण्डमध्ये ठेक्का लागिसकेका खण्डको हकमा डाइभर्सन बगेको स्थानमा ठेक्केदारमार्फत खोला किनारमा बगर बाटो बनाउने काम सुरु भएको छ भने ठेक्का नलागेको सडक खण्डको हकमा सम्बन्धित डिभिजन कार्यालयले आफैंले बाटो बनाउने काम सुरु गरेका छन् ।
रोशी खोलाको विभिन्न स्थानमा पानी कम भएको स्थानमा उपकरणको सहयोगमा खोला किनारमा अस्थायी बाटो बनाउन सुरु भएको भक्तपुर–काभ्रेपलाञ्चोक डिभिजन कार्यालयका इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए ।
उनका अनुसार अत्यधिक क्षति गरेको चौकीडाँडा, कटुन्जे, ममती खोला, माथिल्लो ममती, पिप्ले सिरान, तल्लो पिप्ले, माथिल्लो पिप्ले, सुख्खा पहिरो पिप्ले, डालाबेशी, चारसय बेशी, बोक्सीकुना लगायतका स्थान भक्तपुर–काभ्रेप्लाञ्चोक डिभिजन कार्यालयअन्तर्गत परेको छ ।
‘बाढी पहिरोले सबैभन्दा बढी क्षति हाम्रो कार्यक्षेत्रभित्र गरेको छ, तत्कालै बाटो सुचारु गर्न उपकरणसहित अहिले हामी फिल्डमै छौं,’ भक्तपुर–काभ्रेप्लाञ्चोक डिभिजन कार्यालयका इन्जिनियर दुर्गा प्रसादले भने,‘रोशी खोलाको बाढी कम भएको स्थान पहिचान गरी खोला किनारमा बगर बाटो बनाउने काम सुरु गरेका छौं । जुन जुन स्थानमा बाढीको पानी कम हुँदै जान्छ, त्यो अनुसार बगर लिग सडक बनाउँदै जान्छौं । आगामी सातासम्म सवारी साधन गुड्ने गरी सडक तयार हुन्छ ।’
उनका अनुसार अहिले पहिरो पन्छाएर मर्मत सम्भार गरी धुलिखेलदेखि चौकीडाँडासम्म बाटो सुचारु गरिएको छ । तर चौकीडाँडादेखि नेपालथोकसम्म डाइभर्सन बाटो पूर्ण रुपमा बाढीले बगाएकाले बिपी राजमार्ग ठप्प छ ।

उता सिन्धुली–रामेछाप (खाल्टे) डिभिजन कार्यालयका प्रमुख पारसमणी हमालका अनुसार उनको कार्य क्षेत्रमा बगाएको डाइभर्सनको स्थानमा खोला किनारै किनार बगर लिंक सडक बनाउने काम आजदेखि सुरु गरिएको छ ।
क्षतिग्रस्त खण्डमा बगर सडक निर्माणमा खटिएका हमालका अनुसार सोमबार बिहानदेखि ठेक्का लागेको स्थानमा ठेक्केदार र ठेक्का नलागेको स्थानमा डिभिजन कार्यालय आफैले पानी कम भएको स्थानमा बगरमा बाटो बनाउन प्राविधिक कर्मचारी परिचालन भइसकेका छन् ।
एक सय ६० किलोमिटर बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो । यो सडक निर्माण गर्न जापानले २६ अर्ब येन खर्च गरेको थियो । २०५२ सालदेखि बिपी राजमार्ग बनाउन सुरु गरेको थियो ।
निर्माण सम्पन्न भएपछि २०७२ असार १८ गते जाइकाले सरकारलाई औपचारिक रुपमा हस्तानान्तर गरेको थियो । २०७२ सालको भूकम्पबाट बिपी राजमार्गको केही भागमा क्षति पुगेको थियो ।
क्षतिग्रस्त भाग पुनर्निर्माण गर्न १८ महिना लागेको थियो । त्यसबेला मर्मतका लागि पनि जापान सरकारले एक अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग गरेको थियो ।
हालसम्म साढे २४ किलोमिटर निर्माण गर्न ठेक्का लाग्यो
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्ग अन्तर्गत क्षतिग्रस्त भएको र पूर्ण रुपमा बगेको २८ किलोमिटर दूरी भएको सडक खण्डलाई ४ भागमा वर्गीकरण गरेको छ ।

यसमध्ये भक्तपुर–काभ्रेप्लाञ्चोक सडक डिभिजनअन्तर्गत २५ किलोमिटर र सिन्धुली–रामेछाप (खाल्टे) डिभिजनअन्तर्गत ३ किलोमिटर खण्ड पर्छ ।
मन्त्रालयले वर्गीकरण गरेको ४ भागमध्ये तीन भाग भक्तपुर–काभ्रेपलाञ्चोक डिभिजन र एक भाग सिन्धुली–रामेछाप(खाल्डो) डिभिजन अन्तर्गत पर्छ ।
यो ४ भागमध्ये हालसम्म ३ खण्डको तीनवटा ठेक्का आह्वान भएर सम्बन्धित ठेक्केदारसँग सम्झौता भइसकेको छ ।
जसअनुसार भक्तपुर–काभ्रेपलाञ्चोक डिभिजन अन्तर्गत हालसम्म दुई ठेक्का सम्झौता भएर स्थायी रुपमा सडक निर्माण कार्य अघि बढेको डिभिजन कार्यालयका इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए ।
उनका अनुसार भ्याटसहित २ अर्ब ५४ करोड लागतमा ११ किलोमिटर दूरीको चारसयबेशी–भकुण्डेबेशी एउटा र २ अर्ब ४७ करोड लागतको साढे ८ किलोमिटर दूरीको डालाबेशी–चारसयबेशी दोश्रो गरी दुई वटा ठेक्का सम्झौता भएर निर्माण कार्य अघि बढेको छ ।
उता सिन्धुली–रामेछाप (खाल्डो) डिभिजनतर्फ १ अर्ब लागतको ५ किलोमिटर दूरीको नेपालथोक–बर्खेखोला खण्ड तेश्रो ठेक्का पनि लागिसकेको छ ।
कुल क्षतिग्रस्त २८ किलोमिटर सडक खण्ड अब भने ढलसहितको १० मिटर चौडाई भएको दुई लेनमा विस्तारका साथै पुनर्निर्माण हुनेछ । यसमा सवारी गुड्ने गरी ७ मिटर चौडाईमा कालोपत्रे निर्माण हुनेछ ।
पहिले साधारण वाल उठाएर निर्माण भएको विपी राजमार्गको भत्केको खण्ड अब भने विशिष्टीकृत रुपमा निर्माण गर्न लागिएको छ ।
यसअन्तर्गत खोला किनारतर्फ जमिनमुनिबाट माइक्रो पाइल उठाइनेछ । यसरी जमिनमुनिबाट उठाइएको माइक्रो पाइलमाथि आरसीसी (कंक्रिट) वाल उठाएर दुई लेनको कालोपत्रे सडक निर्माण गर्न लागिएको छ ।
यस्तै स्थानअनुसार आवश्यकताको आधारमा माइक्रो पाइलमाथि आरसीसी (कंक्रिट) वाल उठाएर सडकको पुनर्निर्माण गर्न लागिएको छ ।

साढे ५ किलोमिटरको ठेक्का लाग्न बाँकी
सडक विभागका अनुसार क्षतिग्रस्त सडकमध्ये २४.५ किलोमिटर खण्डको ठेक्का लागेपनि बाँकी रहेको साढे ५ किलोमिटरको ठेक्का अझै लागेको छैन ।
ठेक्का लगाउन बाँकी रहेको साढे ५ किलोमिटर दूरीको बर्खेखोला–डल्लावेसी खण्ड भौगोलिक दृष्टिकोणले निकै जटिल र खर्चिलो भएकाले सरकारले सकेसम्म जाइका (जापान सहयोग नियोग) ले निर्माण गरिदिओस उद्देश्यका साथ पहल गरेको छ ।
जाइकाले उक्त खण्ड निर्माण गर्नका लागि साकारात्मक भएर अनुदानमा २ अर्ब ८० करोड जापानी ऐन (२ अर्ब ५९ करोड नेपाली रुपैयाँ) उपलब्ध गराउन सैद्धान्तिक सहमति मन्त्रालयलाई उपलब्ध गराइसकेको छ ।
मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार जापानले उपलब्ध गराउने सहमति गरेको रकमबाट साढे ५ किलोमिटर खण्ड निर्माण गर्न नसकिने भएकाले त्यसलाई टुक्रा पारेर अहिले दुई खण्ड बनाइएको छ ।

अधिकारीका अनुसार एउटा खण्डको जाइकाले उपलब्ध गराएको अनुदान रकममा जाइका आफैंले निर्माण गरिदिने र अर्को खण्ड सरकारले आफ्नो लगानीमा निर्माण गर्ने तयारी भएको छ ।
जसअनुसार साढे ५ किलोमिटर खण्डलाई टुक्रा पारी ३.२ किलोमिटर दूरीको बर्खेखोला–पिप्ले खण्ड र अर्को २.३ किलोमिटर दूरी भएको पिप्ले–डालाबेशी गरी दुई वटा खण्ड बनाइएको छ ।
यसमध्ये २.३ किलोमिटर दूरीको पिप्ले–डालाबेशी खण्डमा सरकारले आफ्नै लगानीमा निर्माण गर्न ठेक्का आह्वान गरिसकेको छ । सम्झौता हुन बाँकी छ । ३.२ किलोमिटर दूरी भएको बर्खेखोला–पिप्ले खण्डको निर्माण गर्ने जिम्मा जाइकालाई दिन लागिएको हो ।








प्रतिक्रिया