
काठमाडौं । गत असोज १७ र १८ गते परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण कटान भएको बीपी राजमार्गको डाइभर्सन सडक धमाधम निर्माण भइरहेको छ ।
सकेसम्म शुक्रबार रातिदेखि नभए शनिबार बिहानदेखि पूर्ण रुपमा उक्त राजमार्ग सञ्चालनमा ल्याउने गरी द्रुतगतिमा डाइभर्सन निर्माण गर्ने काम भइरहेको छ ।
सडक विभागका अनुसार अघिल्लो साता आएको बाढी पहिरोका कारण बीपी राजमार्गअन्तर्गत चौकी डाँडादेखि बर्खेखोलासम्म ३ हजार ९ सय ४८ मिटर (नयाँ पक्की सडकसहित डाइभर्ससन सडक) खण्ड पूर्ण रुपमा बगेको थियो ।
विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार बर्खेखोला, माम्ती खोला, माथिल्लो माम्ती, पिप्ले सिरान, तल्लो पिप्ले, माथिल्लो पिप्ले, सुख्खा पहिरो पिप्ले, डालाबेशी, कालढुङगा(भ्याकुरे खोला), कालढुङगा(भ्याकुरे खोला), बोक्सीकुना, चिउरी बाँसझ्याङ, नार्के, गिम्तीबेशी, चारसय बेशी, चारसय बेशी, चौकी डाँडा र दाप्चे पुल नम्बर १ स्थान गरी १९ स्थानमा बाढी पहिरोले नयाँ र पुरानो डाइभर्सन सडक बगाएको थियो ।
सिन्धुली– रामेछाप(खाल्टे) डिभिजन कार्यालयका प्रमुख पारसमणि हमालका अनुसार उक्त कार्यक्षेत्रमा पर्ने नेपालथोक र आँपघारीमा नयाँ डाइभर्सन निर्माण गर्ने काम सम्पन्न भइसकेको छ।
यो वर्षको बाढी पहिरोले आँपघारीमा थप ५ सय मिटर नयाँ पक्की सडक कटान गरेकाले त्योसहित डाइभर्सनको काम सम्पन्न भइसकेको छ ।
गत वर्षको बाढीले नेपालथोकसहित आँपघारी र बर्खेखोलामा सडक कटान गरेको थियो । यो वर्ष त्यहि स्थानमा केही नयाँ सडकसहित र गत वर्ष कटान गरेकै स्थानमा फेरी कटान गरेको हो ।

हमालका अनुसार आज बर्खेखोलामा पुरानो कटान भएको र नयाँ सडक कटान भएको थप ५ सय मिटर स्थानमा डाइभर्सन बनाउने काम भइरहेको छ । आज रातिसम्म बर्खेखोलामा डाइभर्सन बनाउने काम सम्पन्न हुने हमालले जानकारी दिए । त्यसपछि सवारी साधन सिन्धलीतर्फबाट प्रवेश गर्न सक्ने उनले जानकारी दिए ।
गत वर्ष र यो वर्षको बाढी पहिरोले सबैभन्दा बढी भक्तपुर–काभ्रेप्लान्चोक कार्यालयको कार्यक्षेत्रमा पर्ने बीपी राजमार्गको बढी स्थानमा क्षति पुगेको छ ।
बढी भक्तपुर–काभ्रेप्लान्चोक कार्यालयका इन्जिनियर दुर्गाप्रसादका अनुसार यो कार्यक्षेत्रमा पर्ने क्षतिग्रस्त स्थानहरुमध्ये बिहिबार अपराह्नसम्म चौकीडाँडा, सुख्खा पहिरो, दाप्चे पुल नम्बर १, कटुन्जे घुमाउने, नार्के, घिम्दीबेसी, कालढुङगा, डालाबेशीमा डाइभर्सन निर्माणको काम सम्पन्न भएको छ । यस्तै चारसयबेशीको दुई खण्डमध्ये एक खण्ड चारसयबेशी घुमाउनेको काम पनि सम्पन्न भइसकेको छ ।
आज र भने भोली(शुक्रबार) सम्म चारसयबेशीको दोश्रो खण्ड, बोक्सीकुना, चिउरीबास, तल्लो पिप्ले, माथिल्लो पिप्ले, माम्ती र माथिल्लो माम्तीसम्म भन्ने स्थानमा डाइभर्सनको निर्माण सम्पन्न गरिनेछ ।
‘हामीले शुक्रबार अपरान्ह्सम्म जसरी पनि डाइभर्सन निर्माणको काम सम्पन्न हुने गरी द्रुतगतिमा गरिरहेका छौं,’ इन्जिनियर दुर्गाप्रसादले भने,‘शुक्रबार अपराह्नसम्म सकिएन भने रातिसम्म सम्पन्न गरेर शनिबार बिहानदेखि बीपी राजमार्गको दुवैतर्फको बाटो खुला गरेर यातायात सुचारु गर्छौं ।’
उनका अनुसार भक्तपुर कार्यक्षेत्रअन्तर्गत भकुन्डेवेशीबाट आउँदा चौकीडाँडा आउँछ । चौकीडाँडाबाट कटुन्जे पर्छ । कटुन्जेबाट आउँदा चारसयबेशी पर्छ । अहिले चारसयबेशीको पहिलो खण्डमा काम भइरहेको छ ।
उता च्यानेज नम्बर १२८ देखि १६० किलोमिटर खण्डको ३२ किलोमिटर खण्ड (धुलिखेलसम्म) बाटो क्लियर भइसकेको छ । चारसयबेशीमा काम भइरहेकाले मंगलटारसम्म सवारी साधन आउन कठिनाई भएको छ ।
चारसयबेशीदेखि मंगलटारसम्मको करिब ८ किलोमिटर खण्ड आज कम्प्लीट भइरहेको उनले जानकारी दिए ।
‘चारसयबेशी कम्प्लीट भयो भने मंगलटारसम्म सवारी साधन आउन सम्भव हुनेछ,’ दुर्गाप्रसालले भने,‘उता मंगलटारबाट नेपालथोक (५ किलोमिटर) सम्म सम्पन्न भइसकेको छ । मंगलटारबाट सुख्खा पहिरो (५ किलोमिटर) सम्म काम भइरहेको छ । आज यो खण्डको काम पनि सम्पन्न हुँदैछ ।
यस्तै भोलीसम्म यो सुख्खापहिरोदेखि माम्तीसम्मको करिब ४ किलोमिटर खण्डको निर्माण गर्ने काम पनि सम्पन्न गरिनेछ ।
इन्जिनियर दुर्गाप्रसादका अनुसार कतै सिंगल लेन त कतै डबल लेन भएको डाइभर्सन निर्माण भइरहेको छ । बगेकै डाइभर्सन भएको स्थानमा रोशी खोलाकै ढुङगा र ग्राभेल संकलन गरी पुरेर केहि अग्लो गरी डाइभर्सन बनाइदैंछ ।

चाँडै सञ्चालनमा ल्याउन मन्त्री घिसिङको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पूर्वी नेपालको दर्जनौं जिल्लालाई जोड्ने सबैभन्दा छोटो दूरीको लाइनलाइन राजमार्ग रहेको बीपी राजमार्ग चाँडै सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
बिहिबार बीपी राजमार्गको स्थलगत अनुगमनमा पुगेका मन्त्री घिसिङले मन्त्रालयका सचिब केशक शर्मा र सडक विभागका महानिर्देशक बिजय जैसीलाई यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री घिसिङ चौकीडाडाँमा पुगेर स्थलगत अनुगमन गरेका थिए ।
बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो । संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उनले निर्देशन दिएका हुन् ।
गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे-नेपालथोक खण्ड क्षति पुर्याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन भएको थियो ।
पुनः यो वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो । गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लागिसकेको छ भने केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया