
काठमाडौं । दशैं विदापछि खुलेको दुई कारोबार दिनमा दुई दिन नै सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घट्यो । आठ दिनपछि खुलेको बजारमा मंगलबार ५८.५५ अंक र बुधबार ४५.३६ अंक गरी कुल १०३.९१ अंकको गिरावट आयो ।
बजारमा सबै समूह परिसूचक राताम्य हुँदा अधिकांश कम्पनीको सेयर मूल्य संकुचित बनेको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि लगानीकर्ता राजनीतिक अस्थिरताको त्रासमा छन् ।
जेनजी प्रदर्शन अघि अर्थात् भदौ २२ मा २७०८ बिन्दुमा रहेको नेप्से बुधबार (असोज २२)मा आईपुग्दा १४८ अंकले घटेर २५५९ बिन्दुमा सीमित भइसकेको छ । सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेपनि समयमा निर्वाचन हुन नसक्ने आशंकाहरु पैदा भइरहेका छन् ।
समयमा निर्वाचन हुन नसके मुलुक थप राजनीतिक अस्थिरता र समस्यामा फस्ने चर्चाहरु पनि भइरहेका छन् । स–साना राजनीतिक परिवर्तनको प्रभाव पनि ठूलो मात्रामा देखिने नेपाली पुँजी बजारमा जेनजी प्रदर्शनपछिको बदलिँदो परिवेशले असर पुराइरहेको देखिन्छ ।
जेनजी प्रदर्शनको पहिलो दिन अर्थात् भदौ २३ गते नेप्से ३५.९९ अंकले घटेको थियो । प्रदर्शनकै कारण बन्द गरिएको बजार त्यसपछि, एकैपटक असोज २ गते खुल्यो । उक्त दिन नेप्सेमा लगातार तेस्रो नकारात्मक सर्किट ब्रेक लाग्दै १६० अंकको गिरावटका साथ सूचक २५११ बिन्दुमा खुम्चियो ।
बजारका लगानीकर्ता अतालिएको अवस्था देखेर अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरे । असोज २ गते नेप्सेमा भारी अंकको गिरावट आएसँगै असोज ३ मा खनालले नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन गरे ।
पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत र प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना प्रस्तुत गर्नेगरी खनालले उक्त कार्यदल गठन गरेका थिए ।
अर्थमन्त्री खनालको उक्त कदमपछि सेयर बजारले केही सम्हालिने पर्यत्न गर्यो । अर्थात्, असोज ५ गते नेप्से १११ अंक र असोज ७ गते ५८ अंकले बढ्यो । तर, सो क्रमले निरन्तरता पाउन सकेन भने त्यसपछिका पाँच कारोबार दिनमा नेप्से चार कारोबार दिन घटिसकेको छ ।
स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट जेनजी प्रदर्शनपछि नेपाली राजनीति थप अस्थिरतामा फस्ने त्रास लगानीकर्तामा देखिएको बताउँछन् । ‘बाढी पहिरो विगतदेखि नै आउने भएकाले यसमा नेपाली लगानीकर्ता खासै अतालिँदैनन् । तर, जेनजी प्रदर्शनपछि नेपाली राजनीति अब के हुने भन्ने अन्यौलता छ,’ रानाभाट भन्छन्, ‘तोकिएको समयमा चुनाव नहुने हल्लाले थप संसय पैदा गर्दा बजार संकुचित बनेको देखिन्छ ।’
उनले, तोकिएको समयमा निर्वाचन हुन नसकेमा नेपाली राजीतिक थप समस्यामा फस्ने भएकाले लगानीकर्तामा त्यो किसिमको त्रास पैदा हुँदा सोको असर बजारमा देखिएको बताए । सुशीला कार्की नेतृत्व सरकारको अर्थमन्त्रीमा अर्थविज्ञ एवं पूर्वअर्थसचिव रामेश्वर खनाल नियुक्ती भएसँगै सेयर लगानीकर्ता केही हदसम्म उत्साहित भएका थिए ।
पुँजी बजार र अर्थतन्त्र राम्रोसँग बुझेका व्यक्ति अर्थमन्त्रीमा नियुक्त भएको भन्दै लगानीकर्ताले सकारात्मक प्रतिक्रिया दिएपनि बजारमा सो किसिमको माहोल बन्न सकेन । अन्तरिम सरकारले आफ्नो मुख्य उद्देश्य निर्वाचन सम्पन्न गराउने भनेर रटान लगाउँदै गर्दा त्यहि निर्वाचन समेत समयमा नहुने त्रासले बजार प्यानिक बन्नु स्वभाविक हो ।
खनालद्वारा पुँजी बजार सुधारका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । कार्यदलले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको २५ करोडको अधिकतम एकल ग्राहक सीमा हटाउने लगायत करिब तीन दजर्न हाराहारी सुझाव दिएको थियो । अहिले, उक्त कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न सेयर लगानीकर्ता तथा ब्रोकरहरुले पहल गरिरहेका छन् ।
बुधबार मात्रै नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको २५ करोडको सीमा खारेज गरेको छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा एक बैंकबाट ४ करोड र सबै बैंकबाट १२ करोडको कर्जा सीमा तोकेर पछि त्यसमा संशोधन गर्दै एकै बैंकबाट १२ करोड लिन सक्ने व्यवस्था पनि गरेको थियो । पछि संस्थागतको सीमा बढाउँदै खारेज गर्यो भने व्यक्तिगतर्फ २५ करोडको सीमा राखेकोमा बुधबार त्यसलाई पनि खारेज गरेको छ ।
यस्तै बैंक तथा वित्तिय संस्थाले पनि सेयर कारोबार गर्न सक्ने व्यवस्थामा केही लचकता अपनाएको छ । यसअघि १ वर्ष वा सोभन्दा बढी अवधिको लागि मात्रै सेयर वा ऋणपत्रमा लगानी गर्न पाइने व्यवस्थामा केही लचिलो बनेको हो । अब बैंकहरूले पनि ६ महिना वा सोभन्दा बढी अवधिको लागि सेयर र ऋणपत्रको दोस्रो बजारमा पनि लगानी गर्न सक्ने भएका छन् ।
यसरी गरेको लगानी ६ महिन भन्दा बढीको भएपछि एकसाथ जति पनि बिक्री गर्न पाउने भएका छन् । यसअघि १ वर्ष पुगेपछि पनि प्राथमिक पुँजीको २० प्रतिशत मात्रै बेच्न पाउने व्यवस्था थियो । जसले बैंकहरूसँग अधिक तरलता भएको अवस्थामा पनि सेयर कारोबार गर्न पाएका थिएनन् । तर, अब भने ६ महिना वा सो भन्दा बढी अवधि होल्ड गर्ने गरी बैंकहरूले पनि सेयर ट्रेडिङ गर्न पाउने भएका छन् ।
बुधबार मात्रै स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि माग गरेको छ । कुनैपनि क्षेत्रको वृद्धि र विकासका लागि कार्यदल बनेर सुझाव पेश भएपनि कार्यान्यनमा आउन कठिनाई भएको भन्दै पुँजी बजार सुधारका लागि दिइएको सुझावलाइ तत्काल कार्यान्वनयमा ल्याउनुपर्ने माग ब्रोकरहरुको छ ।
खासगरी, बजारमा तीब्र गिरावट आउँछ भनेर जेनजी प्रदर्शन लगत्तै कतिपय लगानीकर्ताका संगठनहरुले तत्कालै बजार खुलाउन नहुने विषय राखेका थिए । यस्ता किसिमका प्रदर्शनबाट लगानीकर्ता धेरै अतालिने र बजारमा ठूलो गिरावट आउने भएकाले अनुकुल वातावरण नबनाएसम्म बजार खुलाउनु नहुने तर्क उनीहरुको थियो ।
यद्यपि, बजार खुलेर सूचकमा उच्च अंकको उतारचढाव देखिसकेको छ भने राजनीतिक माहोल खसुध्रिएसम्म बजार सुधार नहुने आँकलनहरु लगानीकर्ताहरुले गरिरहेका छन् । नेपाल इन्भेष्टर्स फोरममा पुर्व अध्यक्ष तथा सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल मुलुकमा थप अस्थिरता आउने त्रासले पछिल्ला कारोबार दिन बजार संकुचित बनेको बताउँछन् ।
‘बजारका अधिकांश सूचक तथा नीतिहरु बजार अनुकुल छन् । तथापि, जेनजी प्रदर्शनपछि हाम्रो राजनीति कसरी अगाडि बढ्छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन,’ पौडेल भन्छन्, ‘नेपाली सेयर बजार पहिलादेखि नै राजनीतिक समिकरण फेरबदलसँगै तत्कालै प्रतिक्रिया देखिने किसिमको थियो । हाल पनि राजनीतिक अस्थिरताका कारण बजार संकुचित बन्न पुगेको हो ।’
उनले आगामी राजनीतिक बाटो स्पष्ट नभएसम्म बजारले लय समाउन कठिन हुने बताए । हाल, फागुन २१ मा निर्वाचन गर्ने तदारुकताका साथ राजनीतिक दलसँग छलफलहरु नभएको विषय आइरहेका छन् । साथै, प्रतिशोध राखेर विभिन्न कदम चाल्न लागिएको भन्दै प्रमुख दलहरुले असन्तुष्टि पोख्न थालीसकेका छन् ।
यस्तो अवस्थामा समयमा निर्वाचन नभएमा मुलुक थप समस्यामा फस्ने विषय आइरहेका छन् । जसको असर स्वरुप सेयर बजार निरन्तर घटिरहेको देखिन्छ । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते ठूलो मात्रामा सरकारी तथा निजी संरचना र पूर्वाधारमा क्षति पुगेसँगै सुरुमा पुनर्बिमा कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको थियो ।
पछिल्लो कारोबार दिन बुधबार नै पनि १८ कम्पनीको सेयर मूल्य बढ्दा २३२ कम्पनीको घटेको थियो । यस दिन बैंकिङ समूह इन्डेक्समा १.४८ प्रतिशत, विकास बैंकमा २.२८ प्रतिशत, फाइनान्समा ३.०९ प्रतिशत, होटल तथा पर्यटनमा ३.०३ प्रतिशत र जलविद्युत् समूह इन्डेक्समा २.३४ प्रतिशतको गिरावट आयो ।
लगानी समूह र निर्जीवन बिमा समूह इन्डेक्समा पनि दुई प्रतिशत माथिको गिरावट आउँदा अन्य समूहमा पनि एक प्रतिशत हाराहारीको गिरावट आयो । बुधबार नेप्से २५३५ को न्यून बिन्दुसम्म खुम्चिएको भएपनि कारोबार बन्द हुने समयमा भने केही मात्रामा बढेर २५५९ मा रोकिएको थियो ।







प्रतिक्रिया