जेनजी प्रदर्शन

३० अर्बको बिमा दाबी पर्ने, हुलदंगा जोखिम न्यून भन्दै ठूलो हिस्सा राख्दा संकटमा बिमा कम्पनी

19.6k
Shares

काठमाडौं । जेनजी प्रदर्शनको क्षतिबाट बिमा कम्पनीहरुमा ३० अर्ब रुपैयाँ बराबरको बिमा दाबी पर्ने अनुमान बिमा कम्पनीहरुले गरेका छन् । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण क्षति पुगेका सम्पत्तिको करिब ३० अर्ब रुपैयाँ बराबरको बिमा दाबी पर्ने अनुमान बिमा कम्पनीहरुले गरेका हुन् ।

जेनजी प्रदर्शनका क्रममा मुलुकका महत्त्वपूर्ण सरकारी संरचनाका रुपमा रहेका सर्वोच्च अदालत, जिल्ला अदालत, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदरवार भित्रका मन्त्रालयसहित अधिकांश सरकारी भवनमा क्षति पुगेको छ । देशैभरका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सबैजसो भौतिक संरचना ध्वस्त हुँदा निजी भवन तथा सम्पत्तीमा पनि ठुलो क्षति पुगेको छ ।

जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रका व्यवसायीक भवन र सम्पत्तीमा पनि ठूलो नोक्सानी पुगेको देखिन्छ । डेढ दर्जन बढी भाटभटेनी स्टोरहरु, गाडीका शोरुमहरु, हिल्टन होटल, एनसेलको कार्यालय, सिजी इलेक्ट्रोनिक्स जस्ता धेरै ठाउँमा क्षति पुग्दा, धेरै व्यक्तिका निजी घरमा पनि आगलागी तथा तोडफोड भएका छन् ।

अधिकांश सरकारी सम्पत्तीको बिमा नभएपनि आगजनी तथा तोडफोड भएका निजी सम्पत्तीको भने बिमा रहेको छ । यसर्थ, बिमा कम्पनीमा करिब ३० अर्ब हाराहारीको दाबी पर्ने अनुमान बिमकहरुले गरेका हुन् ।

‘हालसम्मको आँकलनअनुसार करिब ३० अर्ब रुपैयाँको बिमा दाबी पर्ने अनुमान गरिएको छ, जसमा बिमा कम्पनीले करिब ८ देखि ९ अर्ब क्षति बेहोर्नुपर्ने हुन्छ,’ नेपाल बिमक संघका उपाध्यक्ष समेत रहेका नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले भने ।

पनुर्बिमा कम्पनी र पुनर्बिमा कम्पनीले गरेको रेट्रोसेसन गरी विदेशी कम्पनीले करिब १०/१० अर्ब रुपैयाँ दाबी भुक्तानी गर्नुपर्ने हुनसक्ने उनले बताए । पुनर्बिमाले रेट्रोसेसन गरेका कारण १० अर्ब रेट्रोसेसन गरेका कम्पनीबाट आउँछ भने पुनर्बिमा कम्पनीले जोखिम लिएको हिस्सा करिब १० अर्ब रुपैयाँ जति हुने देखिएको उनले बताए ।

उनकाअनुसार, हुलदंगा बिमाको जोखिम नेपाली बिमा कम्पनीले ३५ प्रतिशत राखेर ६५ प्रतिशतको पुनर्बिमा गराएका थिए । जोखिम कम भएका कारण बिमा कम्पनीले जोखिम राख्नपाउने अधिकतम सीमा ३५ प्रतिशत वा ३ करोड ५० लाखसम्म नै हुलदंगा बिमाको जोखिम अधिकांश बिमा कम्पनीले नै राखेका थिए । ६५ प्रतिशत जोखिम पुनर्बिमा कम्पनीमा सारेको र पुनर्बिमा कम्पनीले रेट्रोसेसनमार्फत जोखिम ट्रान्सफर गरेका हुन्छन् ।

रि–इन्स्योरेन्सले पनि रेट्रोसेसन गरेकाले बिमा कम्पनी, पुनर्बिमा कम्पनी र रेट्रोसेसन गरेको पुनर्बिमकको भागमा ३० अर्ब रुपैयाँ करिबकरिब बराबर अनुपातमा दाबी भुक्तानी गर्नुपर्ने गरी जोखिम वर्गिकरण भएको अवस्था देखिएको बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् । यसले, नेपाली बिमा कम्पनीको वित्तीय स्थितिमा केही असर पुर्याउने समेत आँकलनहरु भइरहेका छन् ।

‘यसअघि, यस्ता हुलदंगामा निजी संरचनामा यति ठुलो क्षति भएको थिएन । त्यसकारण नेपाली बिमा कम्पनीले मिलेसम्म अर्थात् ३५ प्रतिशतसम्मको जोखिम आफैंले राखेका थिए,’ उनले भने, ‘अन्यथा, अन्य क्षेत्रको हकमा भने नेपाली बिमा कम्पनीले यति धेरै जोखिम आफूले राखेका हुँदैनन् ।’ उनले, नेपाली बिमा कम्पनीले हुलदंगाको जोखिम ठूलो मात्रामा राखेकाले त्यसको असर बिमा कम्पनीमा देखिनसक्ने बताए ।

बिमा कम्पनीमा कस्तो असर पर्छ?

नेपाल बिमा प्राधिकरणले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको विवरण उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिइसकेको छ । प्राधिकरणले दाबी भुक्तानीलाई सहज बनाउन आग्रह गर्दै बिमितको धनसम्पतिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फछ्यौट गर्न सूचना निकालेर आग्रह गरिसकेको छ ।

हाल, प्राधिकरणले जेनजी प्रदर्शनका क्रममा भएको हुलदंगा क्षेतिको दाबी भुक्तानी कसरी गर्ने भनेर एउटा मापदण्ड तयार गरिरहेको छ । यस्तै, अर्कोतर्फ बिमा प्राधिकरण बिमा कम्पनीमार्फत् क्षतिको विवरण र दाबी पर्ने तथ्यांक पनि संकलनमा लागि रहेको छ । हालसम्मको स्थिति हेर्दा बिमा कम्पनीमा क्षतिको असर परेपनि ठूलो असर भने नआउने बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी बताउँछन् ।

‘३५ प्रतिशत अर्थात् साढे ३ करोडसम्मको जोखिम बिमा कम्पनीले नै राखेको कुरा आएको छ । अब, यसले बिमा कम्पनीलाई केही मात्रामा असर गरेपनि ठुलो समस्या भने आउँदैन,’ सुवेदी भन्छन्, ‘व्यापार गरेपछि कहिले घाटा र कहिले नाफा हुनु स्वभाविक पनि हो । कम्पनीअनुसार जोखिम फरक भएकाले उठ्न समय लाग्ने भएपनि बिमा उद्योग नै संकटमा धकेलिने अवस्था छैन ।’

उनले, प्राधिकरणले क्षतिको विवरण संकलन गरिरहेकाले बुधबारसम्म एक किसिमको तथ्यांक प्रकाशित हुने जानकारी दिए । हुलदंगामा भएको क्षतिको दाबी भुक्तानी सहज बनाउन निर्देशन दिइसकेकाले अब, कसरी दाबी भुक्तानी गर्ने भनेर निर्देशिका वा मापण्दड बनाउने काम पनि प्राधिकरणबाट भइरहेको उनको भनाइ छ ।

प्रदर्शनकारीको निसानामा परेको भाटभटेनी सुपरमार्केटको बिमा आईजीआई प्रुडेन्सियलमा रहेको बताइएको छ । भाटभटेनीका देशभरका २८ शाखामध्ये २१ शाखामा ठुलो क्षति पुगेको छ भने १२ वटा पूर्णरूपमा आगजनी र लुटपाट भएको छ । जसले गर्दा यसको बिमा दाबी धेरै रकमको पर्ने अनुमान गरिएको छ ।

भाटभटेनीले करिब २ अर्ब रुपैयाँभन्दा बढीको बिमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा गरिएको बताइएको छ । यस्तै, जेनजी प्रदर्शनका क्रममा हिल्टनमा होटलमा आगजनीको कारण ठुलो क्षति भएको छ जसको बिमा ओरिएन्टल इन्स्योरेन्समा रहेको छ । करिब ८ अर्बमा बनेको हिल्टन होटलले दि ओरिएन्टल इन्स्योरेन्समा करिब ६ अर्ब बिमांक रकमको बिमा गरेको स्रोतको दाबी छ ।

अर्को ठुलो क्षति काठमाडौंको सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्समा परेको छ । जसको क्षतिको एकिन विवरण सार्वजनिक भएको छैन । यस्तै, प्रदर्शनकारीले थापाथलीमा रहेका टाटा मोटर्स, सीजी मोटर्स, महिन्द्रा, सुजुकी, हुन्डाई लगायतको शोरुममा आगलागी तथा तोडफोड गरेका छन् । आगजनीबाट अधिकांश शोरुममा पूर्ण क्षति भए भने त्यहाँ राखिएका गाडी पनि जलाएर नष्ट गरिएका छन् जसको पनि बिमा कम्पनीमा ठुलो रकम बराबरको बिमा दाबी पर्ने अनुमान गरिएको छ ।

नयाँ ब्रान्डदेखि पुराना ब्रान्डसम्म अधिकांश शोरुम थापाथलीमा भएकाले यो क्षेत्रलाई अटो हबको रुपमा लिने गरिन्छ । थापाथलीमा सिजी मोटर्सले मात्रै बिक्री गर्ने पाँच वटा शोरुम छन् । आन्दोलनकारीको निशानामा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पर्दा धेरै अटो ब्रान्डमा क्षति पुगेको छ जसको बिमा दाबी पनि ठुलै हुने आँकलन छ ।

यस्तै चन्द्र ढकालको लगानी रहेको चन्द्रगिरी केबलकार र गैंडाकोटको मौलाकालीका केबलकारको बटम स्टेसनमा पनि तोडफोड र आगजनी भएका छन् । होटल संघ नेपाल (हान) ले देशभर हाटल क्षेत्रमा मात्रै करिब २५ अर्बको क्षति भएको दाबी गरेको छ । उक्त तथ्यांक आधिकारीक नभएपनि हिल्टन होटलसँगै, काठमाडौंको वर्णबास होटमा पनि ठुलो क्षति भएको छ ।

त्यस्तै बौद्धमा रहेको हायात रिजेन्सीमा पनि तोडफोड भएको छ । विनोद चौधरीको चितवनको भरतपुरमा रहेको सपिङ मल सहितका होटेल र सिजी ल्याण्डमार्कमा पनि क्षति पुगेको छ ।

गण्डकीमा १ अर्ब १३ करोडको बिमा दाबी पर्ने अनुमान

जेनजी प्रदर्शनका कारण गण्डकी प्रदेशमा मात्र बिमा कम्पनीमा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ । नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले भदौ ३० सम्म संकलन गरेको विवरणअनुसार विभिन्न बिमा कम्पनीमा जम्मा सो रकम बराबरको दाबी पर्ने अनुमान गरिएको हो ।

तथ्यांकअनुसार ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा ७ करोड रुपैयाँको १३ वटा दाबी पर्ने अनुमान गरिएको छ भने राष्ट्रिय बिमा कम्पनीमा ७ करोडको २० वटा, युनाइटेड अजोड इन्स्योरेन्समा २ करोडको ६ वटा, नेको इन्स्योरेन्समा ४ करोड ४५ लाखको १६ वटा दाबी पर्ने अनुमान गरिएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३५ करोडको ५० वटा, आईजीआई प्रुडेन्सियलमा ३ करोड १५ लाखको ३ वटा, शिखर इन्स्योरेन्समा ७५ करोडको ५ वटा, एनएलजी इन्स्योरेन्समा ८० लाखको ६ वटा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ करोडको १५ वटा, हिमालयन एभरेष्टमा ५० करोडको ९ वटा बिमा दाबी पर्ने अनुमान गरिएको छ । यस्तै, सानिमा जिआईसी इन्स्योरेन्समा २ करोडको ११ वटा र नेपाल माइक्रो इन्स्योरेन्समा २५ लाख रुपैयाँ बराबरको ५ वटा बिमा दाबी पर्ने अनुमान गरिएको छ ।

भुकम्पको क्षतिमा परेको थियो १६ अर्ब ८६ करोडको दाबी

२०७२ बैसाख १२ गते गएको बिनासकारी भुकम्पको क्षति पछि बिमा कम्पनीले साढे १४ अर्ब बिमा दाबी भुक्तानी गरेका थिए । नेपाल बिमा प्राधिकरणका अनुसार भुकम्प गएको पाँच वर्षमा अर्थात् २०७७ वैशाखसम्ममा बिमा कम्पनीले कुुल दाबी मध्ये १४ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

यद्यपि, सो समयसम्ममा दाबी परेको मध्ये ११.६४ प्रतिशत अर्थात् १ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ दाबी भन भुक्तानी हुन बाँकी रहेको थियो । भुकम्प गएपछि अग्नी, मोटर, सामुन्द्रिक, इन्जिनियङ र विविध गरी कुल १६ अर्ब ८६ करोड १७ लाख रुपैयाँ बराबरका १७ हजार ७९६ वटा बिमा दाबी परेको थियो ।

जसमध्ये बिमा कम्पनीहरुले सर्वे गरेर १६ अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरका ११ हजार ६१६ वटा दावीलाई भुक्तानी गर्न योग्य दाबी ठहर गरेका थिए । भुकम्पपछि सबैभन्दा बढी बिमा दाबी अग्नी बिमाको कुल १० अर्ब १७ करोड ६२ करोड रुपैयाँ बराबरको परेको थियो ।

सो समयमा २१ करोड ८० लाख रुपैयाँ बराबरको मोटर बिमा दाबी, कुल १२ लाख रुपैयाँ बराबरको सामुन्द्रिक बिमा दाबी, विविध शिर्षकका कुल ३ अर्ब ५१ करोड १८ लाख रुपैयाँ बराबरको बिमा दाबी र इन्जिनियरिङ बिमाको २ अर्ब ९१ करोड ८६ लाख रुपैयाँको दाबी परेको थियो ।

भुकम्पपछि बिमा दाबी भुक्तानी गर्नु पर्ने कुल १६ अर्ब २६ करोड ९२ लाख मध्ये हालसम्म १४ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । दाबी भुक्तानी भएकोमा पुनर्बिमा कम्पनीबाट ९ अर्ब ८१ करोड ९ लाख रुपैयाँ र बाँकी ४ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ नेपालका बिमा कम्पनीहरुबाट भुक्तानी भएको थियो ।