रास्वपा नेताहरूको अगुवाइमा जलाइएको थियो काभ्रेमा नेताहरूको घर

भिडियो सार्वजनिक हुन थालेपछि दुवैले छाडे पार्टी

7.5k
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाभित्र निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्न रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति र इन्चार्जले पार्टी छोडेका छन् ।

जेनजी प्रदर्शनका नाममा जिल्लाका केही व्यवसायी र नेताको घरमा तोडफोड र आगजनीको नेतृत्व गर्ने रास्वपा नेताद्वयका आलोचना सुरु भएपछि पार्टी छोडेको घोषणा गरेका हुन् ।

रास्वपा नगर सभापति विवेक भट्टराई र इन्चार्ज सुदर्शन तिमल्सिनाले पार्टी छोडेको घोषणा गरेका हुन् । नगरपालिकामा रहेका व्यवसायी क्याप्टेन रामेश्वर थापाको घर र हेलिकोप्टर, कांग्रेस नेता शिव हुमागाई, पूर्व नगरप्रमुख भीम न्यौपाने, नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जार लगायतका घरमा तोडफोड र आगजनी भएको थियो ।

सोही तोडफोड र आगजनीको लागि भिडलाई उक्साउने र आगजनीमा समेत संलग्न रहेका भट्टराई र तिमल्सिनाले पार्टी छोडेको घोषणा गरेका हुन् ।

नगर सभापति भट्टराई काठमाडौं विश्वविद्यालयअन्तर्गत कुप्स विद्यालयका स्थायी शिक्षक समेत रहेको खुलेको छ । उनी उक्त विद्यालयका ल्याब टेक्निसियनको रूपमा कार्यरत रहेको खुलेको छ ।

नगर इन्चार्ज तिमल्सिनाले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् —‘हो, मबाट एउटा कमजोरी भएकै हो, त्यो मैले स्वीकार्नु पर्छ । अस्तिको दिन म त्यो कार्यक्रममा सहभागी हुनुहुँदैन थियो । मेरो सहभागिताकै कारण सारा आक्षेप ममाथि पक्कै जायज हुँदैन । धेरै व्यक्तिलाई मैले रोजेको पार्टीप्रति गलत धारणा थियो।’

तर उनले आगजनी र तोडफोडबाट भएको विनाशको कुनै नेतृत्व नगरेको समेत दाबी गरेका छन् । उनले एउटा व्यक्तिलाई सिध्याउन लाञ्छना लगाइएको बताएका छन् । नगरपालिका भवन जोगाउनका लागि आफू उक्त भिडमा सहभागी भएको दाबी समेत गरेका छन् ।

तर, उक्त प्रदर्शनमा सहभागी हुनु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।