जेनजीमाथि राज्यको ‘क्रूरता’

497
Shares

काठमाडौं । नेपालको राजनीतिक इतिहासले बारम्बार देखाएको छ, जब नागरिकले स्वतन्त्रता, समानता र न्यायको माग गर्छन् तब शासकहरूले आफ्नो शक्तिको आडमा त्यही आवाजलाई दमन गर्न खोज्छन् । त्यसको पछिल्लो उदाहरण हो जेनजी पुस्ताको प्रदर्शनमा देशका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलको गठबन्धन सरकारले देखाएको ‘क्रूरता’।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको गठबन्धन सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र बोल्न पाउने अधिकारका लागि जेनजी पुस्ताले उठाएको आवाजलाई क्रूर दमन गरेर राज्य नागरिकमाथि कति असहिष्णु छ भन्ने देखाएको छ।

जेनजी अर्थात जेनेरेसन जेड । सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका पुस्ता । १३ वर्षदेखि २८ वर्ष उमेर समूहकाहरू डिजिटल पुस्ता हुन् र इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जालसँगै हुर्केका छन् । फेसबुक, इन्स्टाग्राम, टिकटक वा एक्समा दैनिकी बिताउँछन् र त्यसैमार्फत आयआर्जन गर्छन् ।

प्रविधिमा जोडिने पुस्ता भएकाले विश्वका घटनाक्रमलाई उनीहरूले नजिकबाट नियाली रहेका हुन्छन् र कुशासन, भ्रष्टाचार, नेताहरूको आश्वासन, असमानताप्रति उनीहरू प्रविधिको माध्यमबाट प्रश्न गर्छन् ।

तर, सरकारले सूचीकरणका नाममा सामाजिक सञ्जाल बन्द गरेपछि उनीहरूको विचार, पहिचान र स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार भएको महसुस उनीहरूले गरे । आफ्ना मत वा विचार खुला रुपमा व्यक्त गर्न सकेनन् । ‘रगत तातो’ हुने उमेर समूहका व्यक्तिको बोलीलाई बन्द गर्न खोज्दा ‘भर्चुअल’ प्रतिकारमा रहेका उनीहरू भौतिक रुपमै सडकमा उत्रिए ।

सोमबार बिहान काठमाडौंको माइतीघरबाट सुरु भएको जेनजी पुस्ताको प्रदर्शन नयाँ बानेश्वरस्थित संघीय संसद भवन नजिक पुग्दा उग्र रुप भएको थियो । ‘भ्रष्टाचार अन्त्य गर’, ‘सामाजिक सञ्जाल खोल’, ‘हाम्रो आवाज दबाउन सकिन्न’ जस्ता नारासहित सडकमा उत्रिएका हजारौं युवाहरूले संसद भवनतर्फ पाइला सोझ्याए ।

देश विकासका लागि राजनीतिक दलहरूले सही काम नगरेको निष्कर्ष निकालेका जेनजीको निशानामा संसद् भवन पर्नु अस्वभाविक थिएन ।

उम्लिएको रगत र जोश बोकेकाहरूलाई केही संख्यामा रहेका प्रहरीले रोक्न सक्ने अवस्था बनेन । केही प्रदर्शनकारी संसद भवन माथि चढे, देशको झण्डा फहराए । गेट तोडफोड गरे । सवारी साधन जलाए ।

अत्तालिएको प्रहरीले सुरूमा अश्रुग्यास हान्यो, पानी फोहोरा हानेर पुराना राजनीतिक दलका कार्यकर्तालाई सडकबाट हटाएको जस्तो हटाउन खोज्यो । तर, युवाहरू पछि हट्ने मुडमा थिएनन् ।

प्रहरीले ‘अरिंगालको गोलामा ढुंगा हाने जस्तो’ जेनजीलाई जिस्क्यायो। जसको नजिता सोमबार दिनभर बानेश्वर क्षेत्रमा देखियो ।

माइतीघरबाट बानेश्वरतिर अघि बढ्ने घोषित कार्यक्रम रहेका जेनजीलाई रोक्न प्रशासनले खास वास्ता गरेको देखिएन । निषेधित क्षेत्र तोकेपछि केही तहमा रोक्ने व्यवस्था हुनु पर्ने हो तर त्यसो हुन सकेन ।

लाखौं सदस्यता भएका पार्टीले आन्दोलनमा बोलाउँदा केही सयको संख्यामा मात्र प्रदर्शनकारी उपस्थित हुने गरेको देखेका राजनीतिक दल र प्रशासनले ‘बन्द भएको फेसबुक’र टिकटकबाट बोलाउँदैमा को आउँछ र आन्दोलनमा भन्दै जेनजीलाई कमजोर आँक्दाको परिणाम हो बानेश्वरको रणभूमि । कसैले नेतृत्व नगरेको यो प्रदर्शनमा केही सयमात्र आउने उनीहरूको सोचलाई हजारौंको संख्याले माथ खुवाइदियो ।

अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रहारजस्ता नियन्त्रणका उपाय पर्याप्त नठानेपछि प्रहरीले रबरको गोली प्रहार गर्‍यो । यही क्रममा सयौं युवा घाइते भए, अस्पतालहरू भरिए । यो रिपोर्ट तयार गर्दासम्म (साँझ ७ बजे) १९ जना युवाले ज्यान गुमाइसकेका छन् । सयौं घाइते भएका छन् । उज्ज्वल भविष्यका लागि काठमाडौं आएर अध्ययन गरिरहेका कतिपयले ज्यान गुमाएका छन् भने कतिपय अस्पतालको शय्यामा छटपटाइरहेका छन् ।

मृत्यु हुने र घाइतेको यो तथ्यांक आफैंमा भयानक छ । नेपालमा २०६२/६३ सालमा २४० वर्ष वंशवादको शासन चलाएको राजतन्त्रविरुद्धको संघर्ष १९ दिन चलेको थियो र त्यसक्रममा देशभर २६ जनाले ज्यान गुमाएका थिए । तर निरंकुशताविरुद्ध लडेर आएका देशका दुई ठूला दल कांग्रेस र एमाले युवा पुस्तामाथि देखाएको क्रूरता कालो दिनको रुपमा चित्रित हुने निश्चित छ। गत प्रतिनिधि सभा निर्वाचनमा ५५ लाख ६० हजारभन्दा बढी समानुपातिक मत पाएका दुई दलले युवामाथि देखाएको रवैया पक्कै इतिहासमा दर्ज हुने छ ।

ज्यान गुमाउने जेनजीको यो संख्या केवल अंक होइन, यो असंख्य परिवारहरूको सपनाको चिरा हो । देशको भविष्य माथिको गद्दारी हो ।

राज्यको क्रूरता

लोकतान्त्रिक मूल्य र जनताको अधिकारको कुरा गर्दा शासकहरूले हरेक चुनावी भाषणमा ‘युवा नै देशको भविष्य’ भन्छन् । तर जब यही युवा पुस्ताले आफ्नो भविष्य सुरक्षित गर्न सडकमा आवाज उठाउँछ त‍ब उनीहरूलाई गोलीले स्वागत गरिन्छ । यो विडम्बना मात्र होइन, राज्यको क्रूरता हो ।

सामाजिक सञ्जाल बन्द गरेर युवाहरूको अभिव्यक्ति स्वतन्त्रतालाई कुचल्ने अनि सडकमा उठेको आवाजलाई दमन गर्ने सरकारको नीति प्रश्नको घेरामा पर्नु स्वाभाविक छ । यदि शासकहरू सचेत र जनउत्तरदायी हुन्थे भने उनीहरूले वार्ता र संवादमार्फत समाधान खोज्थे । तर यहाँ उल्टै गोली चलाएर समस्यालाई मत्थर गर्न होइन बरु बलिरहेको आगोमा घ्यू हाल्ने प्रयत्न भएको छ । अब यो केवल सामाजिक सञ्जाल खोल्ने आन्दोलन होइन प्रणालीगत भ्रष्टाचार, राजनीतिक बेइमानी र निराशाको विरुद्धमा युवाहरूको ‘विद्रोहको बिगुल’ बनेको छ ।

विगतमा आफैं लामो आन्दोलनमार्फत स्थापित भएका नेताहरू अहिले सत्तामा छन् । तर सत्तामा रहेकाहरुले आन्दोलनकारीहरूलाई विद्रोही, अराजक र दुश्मनजस्तै चित्रण गर्ने प्रयास गर्छन् । आफूहरूको गलतमाथि प्रश्न गर्नेहरूलाई उनीहरूले अराजक देख्छन् र परिचालितको ट्याग दिन्छन् ।

देशका प्रधानमन्त्रीले ‘म देशलाई हेप्न दिन्न’ भन्दै राष्ट्रवाद उछाल्छन् तर आफ्ना नागरिकमाथि गोली चलाउन आदेश दिन्छन् भने त्यो अभिव्यक्ति खोक्रो र देखावटी बन्नु अस्वभाविक होइन । लोकतन्त्रको रक्षाका लागि भनेर लडेर सत्तामा पुगेकाहरूले नै नागरिकका आवज बन्द गर्न खोज्नु र लोकतन्त्रविरुद्ध खडा हुनु देशका लागि विडम्बना हो ।

इतिहासमा प्रमाण छ,राज्यको दमनले कहिल्यै आन्दोलनलाई दबाउन सकेको छैन । २०४६ सालको आन्दोलन होस्, माओवादी बिद्रोह वा २०६२/६३ को आन्दोलन, अन्तत: जनताको आवाजकै जित भएकै छ । आज जेनजी पुस्ताले उठाएको आवाज पीडा भोलिको ठूलो राजनीतिक र सामाजिक परिवर्तनको बीउ बन्न सक्छ।

२०६२/६३ को आन्दोलन अहिले सत्तामा रहेकाहरूले नेतृत्व गरेका थिए तर, जेनजीमाथिको आजको बर्बर्तासमेत लजाएको छ।

राज्यको क्रूरताले जेनजीको आवाज दबाउन खोजे पनि यो पुस्ता चुप लागेर बस्ने छैन भन्ने अनुमान लगाउन सकिन्छ । आन्दोलन हिंसात्मक हुँदा जेनजी प्रदर्शनको नेतृत्व गरेकाहरूले आफूहरूको आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने बताइरहेका छन् ।

सत्ता टिकाउन गोली होइन, जनताको विश्वास जित्न आवश्यक हुन्छ भन्ने सिंहदरबारमा बस्नेहरूले बुझ्न जरुरी छ । यदि राज्यले फेरि पनि क्रूरता दोहोर्‍यायो भने यसको परिणाम केवल शासन संकटमा सीमित हुने छैन । श्रीलंका, इन्डोनेसिया, फिलिपिन्समा भएका यस्तै खालका प्रदर्शनबाट सत्तामा रहेकाहरूले पाठ सिक्न जरुरी छ ।

जेनजी पुस्तामाथि भएको सत्ताको क्रूरतापछि अब प्रश्न उठ्छ, शासकहरूले यो दागलाई अझ गाढा बनाउन चाहन्छन् वा संवाद र न्यायको बाटो रोज्छन् ?