
काठमाडौं । देशमा बढ्दो भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध विरुद्ध जेनजीको आवाज सामाजिक सञ्जालमा मात्र सीमीत रहेन । जेनजी पुस्ताको आक्रोश सामाजिक सञ्जालमा हुँदै सोमबार सडकमा पनि उत्रियो ।
सेप्टेम्बर ८ अर्थात् भदौ २३ गते सोमबार । यो दिनलाई इतिहासले पटकपटक सम्झिनेछ, सामाजिक सञ्जालमा सक्रिय जेनजी पुस्ता सडकमा उत्रिएको दिन भनेर । एकैदिन डेढ दर्जन निहत्था युवाले ज्यान गुमाएको दिन भनेर ।
व्यवस्था परिवर्तन गर्ने २०६२/६३ मा १९ दिनको जनआन्दोलनमा मुलुकभर २५ जना सहिद भएका थिए । तर, जेनजीको आन्दोलनमा सोमबार एकैदिन त्यतिकै हाराहारीले मृत्यवरण गरे ।
वा भनौं शासकले नयाँ पुस्ताको भावना नबुझ्दा अकालमा ज्यान गयो । देशका विभिन्न स्थानमा जम्मा भएका युवालाई बुढा पुस्ताको नेता आफैंले सन्देश दिए, ‘हामी सत्ताको नेतृत्व गर्न असक्षम रहेछौं’ भन्ने ।
भ्रष्टाचार विरुद्ध आवाज उठाउन जेनजी (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) पुस्ता बिहानै माइतीघरमा भेला भए । म (पंक्तिकार) पनि जेनजी पुस्ताको एक पात्र । पेसाले पत्रकार । भ्रष्टाचार विरुद्ध आवाज उठाउने र आवाज बिहिनहरुको आवाज बुलन्द पार्ने आफ्नो जिम्मेवारी बहन गर्दै रिपोर्टिङतर्फ होमिने कुरा आयो ।
त्यसैले जेनजी पुस्ताको विरोध र्यालीमा सहभागी हुन र आफ्नो कर्म निभाउन माइतीघर गएँ । पछिल्लो समय देशमा बढिरहेको भ्रष्टाचार र सरकारमा रहेका उच्च ओेहोदाका व्यक्तिहरुको मनमौजी पन मलाई पनि अत्ति नलाग्ने कुरै भएन । माइतीघर पुगेपछि देखें कि म जस्ता त धेरै रहेछन् ।
त्यो भीडमा निर्दोष अनुहार थिए, जसलाई राजनीति के हो थाहा छैन । आन्दोलन त केबल टिभीमा र मोबाइलमा मात्र देखेका थिए । कोही त देशले शासन प्रणाली फेरेपछि जन्मिएकाहरु पनि थिए, आन्दोलन भनेको सुनेका मात्र थिए । तर, सोमबार उनीहरु सडकमा उत्रिन बाध्य बने ।
प्रदर्शनमा उत्रिएका युवासँग कुराकानी गर्ने क्रममा उनीहरु मलाई भन्दै थिए, ‘मेरो मिडियामा पहिलो अन्र्तवार्ता हो, भ्रष्टाचार विरुद्धको हाम्रो आवाज देशभरी पुर्याइदिनु है ।’
जे एजेन्डाका साथ उनीहरु सडकमा आएका थिए, सो एजेन्डा स्पष्ट रुपमा बोल्न उनीहरुमा बेग्लै जोस थियो ।
जेनजीको योजना तोडफोड गर्ने थिएन, शान्तिपुर्ण र्याली सहितको आन्दोलन गर्ने योजना अनुसार नै उनीहरु आएका थिए । कतिपय स्कुल कलेजकै ड्रेसमा देखिए । कतिका झोलामा रहेका कापीमा मर्निङ क्लासमा टिपेको नोटका मसी पनि सुकेका थिएनन् । दिउँसो कलेज हुनेहरु योजना बनाएरै बंक गरेर सहभागी भएका थिए । कोही मजस्तै काम बीचैमा छोडेर नैतिक समर्थन गर्ने योजनासहित पुगेका थिए । १० बजेदेखि सुरु भएको ‘सोलिडारिटी’१ बजेसम्म शान्तिपूर्ण चलिरहेको थियो ।
क्लिकमान्डुसँगको कुराकानीमा कोही ‘हामीलाई अरु केही चाहिँदैन, मात्र देशमा शान्ति छाओस्’ भन्दै थिए त कोही ‘पुरानो पुस्ताले चलाएको देशबाट हामी आजित भयौं, अब नयाँ पुस्तालाई देश चलाउन दिनुपर्यो हामी तयार छौं देश हाक्न हामीलाई स्थान दिनुपर्यो’ भन्दै थिए । उनीहरुले बोकेको प्याम्प्लेट र प्लेकार्डमा यी यस्तै कुरा लेखिएको थियो । कसैले केही अभद्र भाषा पनि प्रयोग गरिरहेका थिए । तर, जो जति थिए, उनीहरु निहत्था थिए ।
बलिदान चलचित्रको गीत जस्तै हातमा कलम हुनेहरु कलम लिएर आएका थिए, केही नहुनेहरुसँग आवाज थियो । यो युवाले परिवर्तन खोजेकै रहेछ भन्ने भाव मेरो अन्तरमनमा पलाउन बाध्य बनाएको थियो, त्यो भीडले ।
माइतीघरबाट सुरु भएको र्याली बिजुलीबजार पुगेपछि झन् झाँगियो । उपस्थित हुने जेनजीको संख्या बढ्दै गयो । सुरक्षाका लागि प्रहरी पनि ठूलो संख्यामा खटिएका थिए । कडा सुरक्षा व्यवस्था र नव युवामा समुन्द्रको शान्तपन झैं गाम्भिर्यता देख्दा लाग्थ्यो, आन्दोलनमा झडप हुँदैन । सामाजिक सञ्जालमा जसरी दबाब बनाएको थियो, सडकमा पनि दबाब सिर्जना गर्न सफल हुनेमा म विश्वस्त भएँ ।
युवाहरु बबरमहलदेखि बानेश्वर हुँदै फेरी बबरमहलमै फर्किंदा आन्दोलन शान्तिपूर्ण गर्न थाले । अलिकति नमिल्दो सरकारमाथि आफ्नो ‘फ्रस्टेसन’ पोख्न चयन गरेको शब्दमात्र थियो । कुनैकुनै शब्द छाडा पनि थिए । कोही बाइकमा, कोही पैदल । नारा लागिरहेकै थियो ।
युवाको जोस यतिसम्मको थियो कि मलाई पनि आफ्नो कर्म बिर्सिएर क्यामेरा र हातमा रहेको बुम माइक झोलामा पोको पारेर नारा लगाउँदै हिड्न मन लागि सकेको थियो ।
जब अपराह्नको १ बज्यो, युवाको भीड एकाएक तितरबितर बन्यो । बानेश्वर–बबरमहल–बानेश्वर गरिरहेको भीडका केही व्यक्ति एक्कासी संसद भवन प्रवेश गर्ने भनेर हान्निए । केही समय अगाडिसम्म सुरक्षाका लागि भनेर सडकमा खटिएका प्रहरी एकाएक गायब भए । कोही देखिएनन् ।
निषेधित क्षेत्र प्रवेश गर्न रोक्ने प्रहरीको सुरक्षा घेरा त्यहाँ देखिएन । त्यतिबेलासम्म तीनकुनेपट्टिबाट आएको युवाको अर्को जमातले बानेश्वरमा रहेको संसद भवनको गेटमा प्रहार थालिसकेको रहेछ । प्रहरीको पहिलो गल्ती त्यहीँ देखियो । कम्तिमा बबरमहलतर्फबाट गएका केही आक्रोशित युवालाई रोक्न सकेन, प्रहरीले ।
केही समय अगाडिसम्म शान्तिपूर्ण आन्दोलन गरिरहेका युवा एकाएक संसद भवनतर्फ प्रवेश गर्न खोजेपछि सुरु भयो, अश्रु ग्यास प्रहार । प्रहरीको निर्ममता यतिसम्म देखियो कि कोही व्यक्तिको घर माथी लुकेर बस्यो, चुप रहेका युवालाई तितरवितर पार्न अन्धाधुन्त अश्रु ग्यास प्रहार गर्यो ।
उता केही युवा संसद भवन प्रवेश गर्न पर्खाल नाघिरहँदा बबरमहलपट्टि अर्थात् आकासेपुल मुनि रहेका युवामाथि अश्रु ग्यास फालियो । ब्यारिकेट छाडेका वा गायब भएका तिनै प्रहरीहरु बानेश्वर चोकमा रहेको व्यक्तिका घरका छतबाट अश्रु ग्यास हानिरहेका देखिए ।
कहिल्यै आन्दोलन नदेखेका जेनजीले सुरुमा छ के भयो भन्ने नै बुझेनन् । अश्रु ग्यास नचाखेका हाम्रो पुस्तालले पिरो स्वाद लियो, कोही त थपक्कै जहीँको त्यहीँ बसे ।
प्रदर्शनकारी जेनजीले भाग्ने मौकै पाएनन् । पुरानो बानेश्वर तर्फ भाग्न खोज्दा त्यहाँ पनि अश्रु ग्यास बर्साइयो । अश्रु ग्यासले तितरवितर भएका युवामाथि पानी बर्सायो, त्यसपछि गोली हान्यो ।
संसद भवन पस्न खोज्नेहरुलाई राज्य संयन्त्रले तर्साएर रोक्न सक्थ्यो । तर, उनीहरु माथि गोली ठोकियो, त्यो पनि अन्धाधुन्ध ।
जेनजी पुस्तासँग न त अपनाउने सुरक्षा थियो, न त कुनै हात हतियार नै । निहत्था प्रदर्शनका लागि सडकमा उत्रिएका उनिहरुलाई राज्यले दमन गर्यो ।
यसो त अरु आन्दोलनमा झैं प्रहरीको तैनाथी उच्च संख्यामा थिएन । जेनजीलाई कमजोर आँकेको राज्य संयन्त्रले सोमबारको हबिगत अनुमानै गरेको थिएन । युवालाई आफैं भड्काएर सरकारले गोली चलायो, हलो अड्काएर गोरु चुटे झैं । सरकारको बन्दुकबाट निस्किएका तिनै गोली डेढ दर्जन युवाको ज्यान लिने शस्त्र बन्यो ।
सँगै उभिएका साथीहरु एकपछि अर्को ढल्न थालेपछि केही युवा झन् आक्रोषित बने । तातो रातो रगत उम्लियो ।
त्यसअघि अश्रुग्यास र पानीको फोहोराको अवरोध तोडेर केही युवा संसद भवन तर्फ लागेका थिए । संसद भवनको २ नम्बर गेट तोठफोड गरेपछि प्रहरीले गोली चलाएको थियो ।
प्रहरीले गोली चलाउन थालेपछि केही युवाले पुरानो बानेश्वरतर्फ भाग्ने प्रयास गरे । त्यहाँ युवाले संसद भवनतर्फ ढुंगामुढा गरे । प्रहरीले गोली चलाउने काम रोकेन । जो जो संसद भवनमा पस्न खाजे, उनीहरुमाथि गोली चलाइयो ।
केही समय अगाडिसम्म रमाइलो गर्दै प्रर्दशन गरिरहेको बानेश्वर चोक रणमैदानमा परिणत भइसकेको थियो । सडकमा रगताम्ये बनेको थियो । संसद भवन अगाडि डेढ दर्जन भन्दा बढी युवा ढले ।
शान्तिपूर्ण प्रदर्शन भनेर गएका सहभागी युवालाई आफ्नो ज्यान जोगाउनै हम्मेहम्मे पर्यो । मलाई पनि लागिरहेको थियो कि आज त जिउँदो घर फकिन्नँ । तर, जसोतसो ज्यान जोगाएर कार्यालय फर्किएँ ।







प्रतिक्रिया