निवर्तमान अध्यक्षसहित ९ कार्यसमिति सदस्यको आरोप: करण चौधरीले नाडालाई ‘प्रालि’ जसरी चलाए

868
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीविरुद्ध आफ्नै कार्यसमितिका सदस्यहरुले गभ्मीर आरोप लगाएका छन् । निवर्तमान अध्यक्ष ध्रुब थापासहित वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष निराकार श्रेष्ठ, कार्यसमितित सदस्यहरु सुनिल रिजाल, यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रदिपमान प्रधान, सोहन श्रेष्ठ र सौरभ थापाले अध्यक्ष करण चौधरीले गैरकानूनी तरिकाले साधारणसभा बोलाएको  र संस्थालाई ‘प्रालि’ जसरी चलाएको आरोप लगाएका हुन् ।

५० वर्षको गौरवमय इतिहास बोकेको नाडालाई अध्यक्ष चौधरी लगायत केही व्यक्तिले आफ्नो निजी ‘प्रा.लि. कम्पनी’मा जस्तो मनलाग्दो निर्णय गर्दै जथाभावी तरिकाले अघि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भदौ १६ गते उजुरी नै दिए । कार्यसमितिकै सदस्यहरुले असहमति जनाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएपछि यही भदौ २४ गतेका लागि अध्यक्ष करण चैधरी पक्षले बोलाएको साधारणसभा प्रशासनले रोकेको छ ।

अध्यक्ष चौधरीले कार्यसमितिमा छलफलै नगरी नाडालाई महासंघ बनाउने भन्दै भदौ २४ गतेका लागि विशेष साधारणसभा बोलाएका थिए । उनले सर्वसम्मतले उत्त निर्णय गिरएको भन्दै झुटो प्रचार गरेको विषय कार्यसमितिमा रहेका ९ जनाले लेखेको नोटअफ डिसेन्ट र उजुरीले प्रष्ट पारेको छ । चौधरी अध्यक्ष भएपछि सदस्यहरुबीच समन्वय र व्यवस्थापन गर्न नसक्दा नाडाबाट ठूला व्यावसायिक घराना फुटेर नाइमा नामको छुट्टै संस्था खोलिसकेका छन् ।

‘मुल नेतृत्व असक्षम भयो भने संस्थाको हालत के हुन्छ ? भनेर हेर्ने अहिले गतिलो उदाहारण बनेको छ, नाडा । अध्यक्ष करणजीको अत्यन्तै कम व्यवस्थापकीय क्षमताका कारण नाडाजस्तो गरिमा बोकेको संस्था फुटिसकेको छ,’ कार्यसमितिका एक सदस्यले क्लिकमान्डुसँग भने, ‘यस्तो अवस्थामा राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्नेमा उल्टै गैरकानूनी रुपमा विषेश साधारण बोलाएर संस्था कब्जा गर्ने दुषित स्वार्थ बोकेर अघि बढ्नु लज्जास्पद कुरा हो ।’

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले महासंघ बनाउने प्रस्तावसहित भदौ २४ गते बोलाइएको विशेष साधारणसभा रोक्न भदौ १७ गते नाडालाई निर्देशन दिएको छ ।

‘उपरोक्त सम्बन्धमा गैरकानूनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी यस कार्यालयमा मिति २०८२/०५/१६ मा निवेदन दर्ता भएकोले विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई के–कति कारणले विशेष साधारसभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनको विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ? विशेष साधारण सभा बोलाउनको लागि गरिएका निर्णयहरु सहित ७ दिनभित्र यस कार्यालयमा उपस्थित हुनुहुन र हाल गर्न लागिएको भनिएको विशेष साधारणसभा स्थगित गर्नुहुन निर्णयानुसार अनुरोध छ’ जिल्ला प्रशासन कार्यालयले नाडालाई लेखेको पत्रमा भनिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले पुरानै विवाद र विधान संशोधनको विषय टुंगोमा नपुगि विशेष साधारणसभा बोलाएपछि छलफलमा बोलाइएको जानकारी दिए ।

‘संस्थाभित्रको विवाद के हो भनि हामीले छलफलमा बोलाएका छौं,’ रिजालले क्लिकमान्डुसँग भने, ‘त्यस समयसम्मका लागि अन्य कारबाही अघि नबढाउन भनेर भनेका हौं ।’

विवाद के हो ?

केही समय अगाडि नाडामा गोल्छा र चौधरी घरानाबीचको विवाद उत्कर्षमा पुगेको थियो । जसका कारण अटो क्षेत्र दुई कित्तामा विभाजित भए । जसअनुसार नाडाबाट विभाजित भएर नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को स्थापना भइसकेको छ ।

नाइमा गठन हुनु अगाडि नाडा अध्यक्ष करण चौधरीले विधान संशोधन प्रक्रिया नपुगेको भन्दै वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई सदस्यमा घटुवा गरेका थिए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी डेढ वर्षअघि विधानसमेत संशोधन गरिए पनि हाल गोल्छालाई सदस्यमा घटुवा गरेको र विधान स्वीकृतिमा पहल नगरेको चौधरीमाथि आरोप छ ।

तर, करण चौधरी समूह भने विधान संशोधनपछि स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको बताउँछ । सो क्रममा जिल्ला प्रशासनले विधान संशोधन प्रक्रियामाथि प्रश्न उठाउँदै संशोधनका लागि पठाएको पत्र अस्वीकार गरेको र स्वतः गोल्छा साधारण सदस्य कायम भएको बताउँदै आएको छ ।

हाल गोल्छा नाडाको साधारण सदस्यमा झरेका छन् भने नाडाको मनोनित सदस्यका रुपमा रहेका निशान ढकाल र अभिक ज्योति आमन्त्रित सदस्यमा सीमित छन् । यो विवाद हालसम्म पनि टुंगोमा पुगेको छैन ।

‘नाडाको नेतृत्वमा आएपछि चौधरीले कतिपय कुरामा सहकार्य गर्ने, कुराकानी तथा फोन गर्ने गर्नुपर्ने हो । तर, चौधरीबाट बेवास्ता मात्रै गर्ने काम भयो,’ एक अटो व्यवसायीले क्लिकमान्डुसँग भने, ‘यो किसिमको व्यवहारले गोल्छा समूह झनै रुष्ट बन्यो र नयाँ समूह बनाउन लागि पर्यो ।

त्यसो, त गोल्छा र चौधरी घरानाबीचको विवादलाई प्रष्ट्याउनका लागि धेरै अगाडि फर्कनु पर्दैन । नाडाको नेतृत्व हत्याउन दुई पक्षले गरेको रस्साकस्सीले यो विषय स्पष्ट हुन्छ । २०८० पुसमा सम्पन्न वार्षिक साधारणसभाबाट नाडा अध्यक्षमा करण चौधरी नियुक्त भएका थिए ।

उनी अन्तिममा अध्यक्षमा सर्वसम्मत चयन भए पनि त्यसअघिको रस्साकस्सी भने निकै लामो रह्यो । अध्यक्षका अर्का आकांक्षी आकाश गोल्छालाई अर्को कार्यकालमा सर्वसम्मत अध्यक्ष बनाउने सर्तसहित दुई पक्षबीच चौधरीको नाममा सहमति जुटेको थियो । सुरुमा नाडाको नेतृत्वका लागि चौधरी, गोल्छासहित राजनबाबु श्रेष्ठ पनि आकांक्षी थिए । सिप्रदीका सीईओ श्रेष्ठले चौधरीलाई अध्यक्षमा समर्थन गर्दै ‘ब्याक’ भएपछि दुईजना (चौधरी र गोल्छा)बीच चुनावी प्रतिस्पर्धा हुने देखिएको थियो ।

संकटका बेलामा व्यवसायी एकीकृत भएर अगाडि बढ्नुपर्ने कुरा उठाउँदै अध्यक्ष चयन सर्वसम्मत बनाउनुपर्नेमा बल गरियो । चौधरी र गोल्छा दुवै पछाडि नहट्ने स्थिति आएपछि विधान संशोधनको विकल्प समातिएको थियो । ४७औं साधारणसभा अगाडि नाडामा वरिष्ठ उपाध्यक्षको व्यवस्था नभए पनि अध्यक्षमा सहमति गर्न विधान संशोधन गरियो । विधान संशोधनमार्फत् वरिष्ठ उपाध्यक्षको पद स्थापना गरियो भने अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था पनि गरियो ।

उक्त साधारणसभा अघि ३ मनोनित सदस्य रहने व्यवस्था रहेकोमा ५ जना पुर्‍याउने व्यवस्था समेत गरियो । तर, संशोधित विधान पारित गर्ने विषयलाई अध्यक्ष चौधरीले चासो दिएनन् । जिल्ला प्रशासनबाट विधान संशोधन भएको भए आकाश गोल्छा २०८२ पुसपछि स्वतः अध्यक्ष हुने थिए । आफूपछि अध्यक्ष हुने निश्चित भएको गोल्छालाई रोक्न चौधरीले भित्रभित्रै चलखेल गरेको आरोप भोगिरहेका छन् । सोहीकारण भित्रभित्र उनीहरुबीच तनाब बढ्दै गयो । नाडामा चौधरी समूहको वर्चस्व हाबी हुँदै जाँदा गोल्छा समूह रुष्ट बन्यो । यो क्रमले निरन्तरता पाएपछि नै नाइमाको स्थापना भएर अर्को अटो संस्था नाइमा जन्मियो ।

चौधरीले फेरि अघिल्लो वार्षिक साधारणसभाले निर्णय गरेको विषय टुंगमा नपुग्दै ९ जना कार्यसमतिति सदस्यले असहमति जनाउँदा जनाउँदै अर्को विशेष साधारणसभा बोलाएर विवाद बल्झाए ।

महासंघमा जाने निर्णय र विशेष वार्षिक साधारण बोलाउने कदम पनि अवैधानिक भएको बताइएको छ । ‘यसअघि पनि नाडाका महासचिव अध्यक्ष बोलाएर छलफल गर्ने काम भइरहेको थियो, पहिलाको विवादमा निर्णय नहुँदै त्यसलाई छल्नका लागि महासंघमा लैजाने घोषणा गरिएको हो,’ क्लिकमान्डु स्रोतले भन्यो,’ अध्यक्षजी कै नियत असल नदेखिएपछि  प्रशासनमा उजुरी गर्न बाध्य भएका हौं ।’

स्रोतका अनुसार नाडामा महत्वपूर्ण निर्णय गर्नु अगाडि एजेन्डा राख्नुपर्नेमा एजेन्डा नै नराखी महासंघमा रुपान्तरण हुने निर्णय गरिएको थियो । उक्त प्रक्रिया वैधानिक नभएको विषय पनि उजुरीमा समेटिएको छ ।

‘आफ्नो निर्णयलाई भंग गराएर तदर्थ समिति बनाएर जाने योजनामा नाडा थियो । आफ्नो कार्यकाल लम्ब्याउने र आफूले मात्रै चाहेको मानिस राख्ने ढंगमा विशेष साधारणा सभा बोलाइएको थियो,’ स्रोतले भन्यो ।

अटो व्यवसायीलाई फुटको स्थितिमा पुर्‍याएको गोल्छा र चौधरी व्यावसायीक घराना बीचको विवाद सतहमा आएको छ । वर्षौंदेखि एकताको सन्देश दिँदै एक ठाउँमा उभिएको अटो क्षेत्रलाई दुई कित्तामा खण्डित गराएको गोल्छा र चौधरी घरानाबीचको विवाद झनै छताछुल्ल भएको हो । निजी क्षेत्रका अन्य संस्थाहरु पटकपटक विभाजित भए पनि अटो क्षेत्रले भने लामो समय त्यो किसिमको नियति भोग्नु परेको थिएन ।

‘अहिले स्वस्थ प्रतिस्पर्धा गर्ने वा यो क्षेत्रको सुधारमा काम गर्ने भन्दा पनि एकले अर्कोलाई सिध्याउने ढंगमा निश्चित् समूह लागि परेका छन्,’ उनले भने, ‘आज सीमित व्यक्तिको स्वार्थ र इगोको लडाइले दशकौं पुरानो अटो क्षेत्रको अस्तित्व मेटिन लागेको छ ।’

दुई पटकको प्रयासमा अध्यक्ष बनेपछि चौधरीलाई केही अटो व्यवसायीहरूले ‘बाल अध्यक्ष’ भन्दै खिल्ली उडाउने गर्दथे । लामो समयदेखि नाडाभित्रको विवाद करण अध्यक्ष भएपछि सतहमा आउने अनुमान उनको कार्यकाल सुरू भएलगत्तै गरिएको थियो ।