संसारभर ईभीको लोकप्रियता बढ्दै, यी हुन् सबैभन्दा बढी बिक्री भएका ब्रान्ड

1.4k
Shares

एजेन्सी । विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियता दिनदिनै बढिरहेको तथ्यांकहरूले देखाएका छन् ।

अटोभिस्टा२४ नामक सवारी साधनसम्बन्धी वेबसाइटले सन् २०२४ मा संसारभरि करिब १ करोड ७३ लाख ईभी बिक्री भएको तथ्यांक दिएको छ । सन् २०२३ को तुलनामा यो २६.१ प्रतिशतको वृद्धि भएको उक्त वेबसाइटको दाबी छ । यसमा ब्याट्री–इलेक्ट्रिक भेहिकल (बीईभी) र प्लग-इन हाइब्रिड (पीएचईभी) दुवै पर्छन् ।

ईभी बिक्रीको पछिल्लो तथ्यांक हेर्दा पीएचईभीभन्दा बीईभी बढी बिक्री भएको देखिन्छ । करिब १ करोड १० लाख बीईभी बिक्दा पीएचईभी करिब ६३ लाख मात्र बिक्री भएको छ ।

भिर्ता नामक वेबसाइटले पनि यस्तै किसिमको तथ्यांक दिएको छ । त्यसले पनि सन् २०२४ मा १ करोड ७० लाखभन्दा बढी ईभी संसारभरि बिक्री भएको जनाएको छ । सन् २०२४ को अन्त्यसम्ममा संसारभरि करिब ५ करोड ८० लाखवटा कारहरू रहेको उक्त वेबसाइटले जानकारी दिएको छ ।

विद्युतीय गाडीहरूका लागि सबभन्दा ठूलो बजार चीन, युरोप र अमेरिका हुन् । सन् २०२४ मा बिक्री भएका ईभीमध्ये ९५ प्रतिशत यी तीन बजारले ओगटेका थिए ।

अमेरिकाको प्रख्यात पत्रिका न्युयोर्क टाइम्सले नेपालको ईभीप्रतिको बढ्दो आकर्षणको चर्चा गरिएको छ । समाचारमा उल्लेख भएअनुसार, नयाँ गाडीहरूमध्ये ७६ प्रतिशत र साना व्यापारिक गाडीमध्ये ५० प्रतिशत ईभी नै छन् ।

ईभी मोडलको कुरा गर्दा सन् २०२४ मा ग्राहकहरूका लागि ७८५ वटा विद्युतीय कारका मोडल उपलब्ध थिए । अघिल्लो वर्षको तुलनामा त्यो १५ प्रतिशतको वृद्धि थियो । सन् २०२६ मा १ हजारवटा मोडल उपलब्ध हुने अनुमान गरिएको छ ।

सन् २०२५ मा ईभीको बिक्री तथ्यांक भिर्ताले उपलब्ध गराएको छ । उसका अनुसार, पहिलो ३ महिनामा संसारभरि ४० लाख ईभी बिक्री भएका छन् । सन् २०२४ को तुलनामा त्यो ३५ प्रतिशत बढी बिक्री हो ।

यो वर्षको अन्त्यसम्ममा २ करोडवटा नयाँ विद्युतीय कार बिक्री हुने भनी इन्टरनेशनल इनर्जी एजेन्सी (आईईए) ले प्रक्षेपण गरेको छ । वर्षको वृद्धि तथ्यांकलाई हेर्दा यो २५ प्रतिशतको वृद्धि हो । यसको अर्थ हुन्छ, संसारभरि बिक्री भएका प्रत्येक नयाँ ४ गाडीमध्ये एउटा ईभी नै हुनेछ ।

चीन, युरोप र अमेरिका बाहेकका बजार ईभीको बिक्री बढ्ने सम्भावनालाई आईईएले औंल्याएको छ । एसिया, दक्षिण अमेरिका र अफ्रिकाका उदीयमान अर्थतन्त्रमा ईभीको बिक्री बढ्ने अनुमान छ ।

दक्षिणपूर्वी एसियामा ईभीको बिक्री सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा लगभग ५० प्रतिशतले बढेको थियो । थाइल्यान्डमा ईभीको बिक्री १३ प्रतिशतले बढ्दा इन्डोनेसियामा तेब्बर बढेको थियो ।

दक्षिण अमेरिकामा पनि सन् २०२४ मा ईभीको बिक्री बढेको छ । ब्राजिलमा ईभीको बिक्री दोब्बर बढेर १ लाख २५ हजार पुगेको थियो भने कोलम्बिया र कोस्टारिकामा गाडीको बजारको लगभग १५ प्रतिशत ईभीले ओगटेको थियो ।

अफ्रिकामा चाहिँ ईभीले गाडी बजारमा १ प्रतिशतभन्दा कम भाग ओगटेको छ । तर, सन् २०२४ मा बिक्री संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर बढेको छ । विशेषगरी इजिप्ट र मोरक्कोको बजारमा ईभीको बिक्री बढेको छ ।

भारतमा पनि विद्युतीय गाडीको बिक्री बढेको तथ्यांकले देखाउँछ । अटोकार प्रोफेशनल नामक वेबसाइटले प्रकाशन गरेको तथ्यांकअनुसार, सन् २०२४ मा भारतमा करिब साढे १९ लाख ईभी बिकेको थियो । त्यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतको वृद्धि हो । त्यसमा विद्युतीय दुईपांग्रे ११ लाख ४८ हजार ५७५ वटा बिक्री भएको थियो । तर, विद्युतीय कार जम्मा ८९ हजार ८ सय २७ वटा मात्र बिक्री भएकाले यसप्रतिको आकर्षण अझै बढ्न बाँकी रहेको देखिएको छ ।

अमेरिकाको प्रख्यात पत्रिका न्युयोर्क टाइम्सले नेपालको ईभीप्रतिको बढ्दो आकर्षणको चर्चा गरिएको छ । समाचारमा उल्लेख भएअनुसार, नयाँ गाडीहरूमध्ये ७६ प्रतिशत र साना व्यापारिक गाडीमध्ये ५० प्रतिशत ईभी नै छन् ।

यी हुन् सबैभन्दा बढी बिकेका ईभी ब्रान्ड

सन् २०२४ मा विश्वको ईभी बजारमा बीवाईडीको दबदबा रहेको थियो । उसले बीईभी र पीएचईभी गरी वर्षभरि करिब साढे ३८ लाख ईभी बिक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ३३.६ प्रतिशतको वृद्धि हो । त्यसमध्ये विद्युतीय कारले ४१ प्रतिशत भाग ओगटेको थियो । संसारभर भएका ईभीको बिक्रीमध्ये बीवाईडीले २२.२ प्रतिशत भाग ओगटेको थियो जुन अघिल्लो वर्षको तुलनामा १.२ प्रतिशतको वृद्धि हो ।

सन् २०२५ मा जनवरीदेखि जुलाईसम्म बीवाईडीले २४ लाख ५८ हजार ९ सय १४ वटा विद्युतीय कार बिक्री गरेको थियो । अघिल्लो वर्षमा त्यही अवधिमा भएको बिक्रीभन्दा यो २६.२ प्रतिशतको वृद्धि हो । यस वर्षभरिमा उसले ५५ लाखवटा कार बिक्री गर्ने लक्ष्य लिएको छ ।

दोस्रो स्थानमा टेस्ला रहेको छ । बीवाईडीको तुलनामा टेस्लाले आधा गाडी बनाएको छ र उसको मार्केट सेयर पनि आधा नै छ । तर, बीवाईडीले बीईभी र पीएचईभी बनाइरहँदा टेस्लाले पूर्ण विद्युतीय कार मात्र बनाउँछ ।

सन् २०२४ मा टेस्लाले १७ लाख ८० हजारवटा ईभी बेचेको थियो । तर, विश्वव्यापी प्रतिस्पर्धा चर्किएकाले टेस्लाको त्यो कमाइ अघिल्लो वर्षको तुलनामा १.२ प्रतिशतले घटेको हो । सन् २०२३ मा विश्वभरिको ईभी मार्केटमा १३.२ प्रतिशत भाग भएको टेस्लाको मार्केट सेयर सन् २०२४ मा घटेर १०.३ प्रतिशतमा झरेको थियो ।

टेस्लाले सन् २०२५ को पहिलो ६ महिनामा करिब ७ लाख ईभी बिक्री गरेको टेस्ला इन्भेस्टर रिलेशन्स वेबसाइटले तथ्यांक दिएको छ । उसको मोडल वाई र मोडल ३ सबभन्दा बढी बिक्री भएका गाडी हुन् । तर, बीवाईडीको तुलनामा यो निकै सानो संख्या हो । टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले दक्षिणपन्थी राजनीति गर्न थालेपछि टेस्लाको बिक्री झनै घटेको बताइन्छ ।

सन् २०२४ मा सर्वाधिक बिक्री हुने ईभीमा चिनियाँ कम्पनी वुलिङ तेस्रो स्थानमा थियो । उसले त्यो वर्ष ६ लाख ८८ हजार ४१५ वटा गाडी बेचेको थियो । सन् २०२३ को तुलनामा त्यो ४४.७ प्रतिशतको वृद्धि हो । उसले विश्व ईभी बजारमा ४ प्रतिशत भाग ओगटेको छ ।

सन् २०२५ को पहिलो ६ महिनामा चाहिँ वुलिङको ईभी १ लाख ७१ हजार ६४ वटा बिक्री भएको कारन्युजचाइनाले तथ्यांक प्रकाशन गरेको छ ।

सन् २०२४ मा सर्वाधिक बिक्री हुने ईभीको सूचीको चौथो स्थानमा बीएमडब्ल्यू रहेको थियो । उसले वर्षभरिमा ५ लाख ३५ हजार ५ सय ८६ वटा ईभी बेचेको थियो । अघिल्लो वर्षको तुलनामा त्यो ७.१ प्रतिशतको वृद्धि हो । उसले विश्वव्यापी ईभी बजारमा ३.१ प्रतिशत भाग ओगटेको छ ।

यो वर्षको पहिलो ६ महिनामा भने बीएमडब्ल्यूले बीईभी र प्लग इन हाइब्रिड गरी ३ लाख १८ हजार ९ सय ४९ वटा ईभी बिक्री गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो १८.५ प्रतिशतको वृद्धि हो ।

सन् २०२४ मा सर्वाधिक बिक्री हुने ईभीको सूचीको पाँचौं स्थानमा ली अटो रहेको थियो । उसले कुल ५ लाख २६ हजार ३ सय ५३ वटा ईभी बेचेको थियो । अघिल्लो वर्षको तुलनामा त्यो ४० प्रतिशतको वृद्धि हो । विश्व ईभी बजारमा ली अटोको मार्केट सेयर ३ प्रतिशत रहेको थियो ।

यस वर्षको पहिलो ६ महिनामा भने ली अटोले ३ लाख १५ हजार १२ वटा ईभी बिक्री गरेको थियो । तर, चिनियाँ बजारमा बीवाईडीले स्वाट्टै मूल्य घटाइदिँदा ली अटोको बिक्रीमा असर परेको छ । उसले सन् २०२५ मा ७ लाख गाडी बिक्री गर्ने लक्ष्य लिएको भए पनि त्यसलाई ६ लाख ४० हजारमा झारेको छ ।

सन् २०२४ मा सर्वाधिक बिक्री भएका ईभी ब्रान्डमा छैटौंमा जीली, सातौंमा फोक्सवागन, आठौंमा आइतो, नवौंमा मर्सिडिज बेन्ज र दशौंमा आयोन रहेका छन् ।