
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई कम्पनीलाई प्राइभेट इक्विटी एन्ड भेन्चर्स क्यापिटल (पीईभीसी) सञ्चालनको सद्धान्तीक सहमति प्रदान गरेको छ । बोर्डले पीईभीसी सञ्चालनको अनुमति माग गर्दै गएका ३३ कम्पनीमध्ये दुई कम्पनीलाई गत असार १९ गते सैद्धान्तीक सहमति प्रदान गरेको हो ।
बोर्डले म्याभरिक कौटिल्य भेन्चर र मोघा इनफ्राब्लाक्स प्राइभेट लिमिटेडलाई पीईभीसी सञ्चालन अनुमति प्रदान गरेको हो । ‘धितोपत्र बोर्डले गत असारमा म्याभरिक कौटिल्य भेन्चर र मोघा इनफ्राब्लाक्स प्राइभेट लिमिटेडलाई सञ्चालनका लागि सैद्धान्तीक सहमति प्रदान गरेको छ,’ सेबोनका सहायक प्रवक्ता तोलकान्त न्यौपानेले भने ।
पीईभीसी सञ्चालन अनुमतिपत्र माग गर्दै ३३ कम्पनी धितोपत्र बोर्डमा पुगेका थिए । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ ले गरेको व्यवस्थाबमोजिम कोष व्यवस्थापकको अनुमतिपत्रका लागि ३३ कम्पनीले स्वीकृति माग गरेकामा बोर्डले उक्त दुई कम्पनीलाई स्वीकृति प्रदान गरेको हो ।
धितोपत्र बोर्डका अनुसार कोष व्यवस्थापकको अनुमति माग गर्नेमा इमर्जिङ भेन्चर्स लिमिटेड, हिमालयन क्यापिटल, एभरेष्ट व. फन्ड, सनलाइफ क्यापिटल, सिटिजन्स क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल, टिम पार्टनर्स फन्ड, एसियन क्यापिटल, पावर फन्ड लिमिटेड र एलिभेसन पार्टनर्स लिमिटेड छन् ।
मुक्तिनाथ क्यापिटल, ज्योति क्यापिटल, माछापुच्छ्रे क्यापिटल, इम्पेरियल इनोभेसन फन्ड, समृद्धि इक्विटी, स्मार्ट इन्भेस्टमेन्ट, नेपाल लाइफ क्यापिटल, एपेक्स फन्ड्स, पिक इक्विटी भेन्चर, इन्भेस्टलिस्ट क्यापिटल, त्रिशक्ति इक्विटी फन्ड लिमिटेड र ब्लु चिप भेन्चर क्यापिटल पनि पीईभीसीको अनुमतिपत्र माग गर्दै सेबोन पुगेका छन् ।
यस्तै, एक्स इक्विटी लिमिटेड, हिमालयन भेन्चर क्यापिटल, मल्टिप्लाई क्यापिटल म्यानेजमेन्ट, द्रव्यमाक्स भेन्चर, सारथी इक्विटी फन्ड, ट्रष्ट इक्विटी फन्ड, आशा इक्विटी भेन्चर्स, कुमारी क्यापिटल र जेरोधा इक्विटी लिमिटेड पनि पीईभीसी अनुमतिपत्रको दौडमा छन् ।
नेपालमा पीईभीसी फन्डको अवधारणाको सुरुवात सन् २०१२ बाटै भएको थियो । तर, सो समयमा सरकारी तथा निजी स्तरबाट खासै चासो दिइएन । निजी क्षेत्रबाट विशिष्टिकृत कोषहरूको सञ्चालन अभ्यास भने विस्तारै अगाडि बढ्दै गयो । सन् २०१४/१५ देखि ‘डोल्मा’ र ‘बिजनेस अक्सिजन’ जस्ता कोष व्यवस्थापकहरु सक्रिय थिए । उनीहरले वैदेशिक लगानीका पीईभीसी फन्ड परिचालन गर्दथे ।
विशिष्टीकृत लगानी कोष नियमावली ल्याउन बिजनेस अक्सिजन लगायत कम्पनीको विशेष योगदान रह्यो । नियमावली बनेपछि स्थानीय स्रोत परिचालन गर्ने लक्ष्यसहित कोष व्यवस्थापकहरु खुले । साथै उनीहरुले आन्तरिक स्रोतबाट कोष जुटाएर परिचालन गर्न थालेका हुन् । निजी क्षेत्रबाट लगानी कम्पनीका रूपमा खुलेका टिम भेन्चर्स, अल्फा क्यापिटल, टु नोर्थ एसोसिएट्सले पनि नेपालमा लगानीका वैकल्पिक स्रोत उपलब्ध गराउँदै आएका छन् ।
सरकारी तवरबाट भने आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र हेज फन्डलगायत नयाँ उपकरणलाई पुँजी बजारमा प्रवेश गराउने भूमिका खेलेको पाइन्छ । पीईभीसीले नेपाली बजारमा, यहीँ उत्पादन हुने सामग्रीमा लगानी गर्दै रोजगारी सिर्जना गर्ने भएकाले तथा मुलुकको राजस्व परिचालनमा पनि योगदान गर्ने भएकाले यसको प्रबद्र्धन गर्नुपर्ने बताइन्छ ।
नीतिगत रुपमा धितोपत्र बोर्डले २०७५ फागुन २२ मा विशिष्टिकृत लगानी कोष नियमावली जारी गर्दै ‘प्राइभेट इक्विटी फन्ड’, ‘भेन्चर क्यापिटल फन्ड’ र ‘हेज फन्ड’ जस्ता विशिष्टिकृत लगानी कोष सञ्चालनको ढोका खुलेको हो ।
नवीनतम ज्ञान, सीप–क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न लगानीको नयाँ स्रोतको व्यवस्था गर्नसक्ने गरी विशिष्टीकृत लगानी कोष नियमावली २०७५ कार्यान्वयनमा ल्याइयो ।
त्यसपछि, बोर्डले कोष व्यवस्थापकको लाइसेन्सको लागि आवेदन माग गर्दा १७ कम्पनीले निवेदन दिएका थिए । तर, १२ कम्पनीले मात्रै लाइसेन्स पाए । बोर्डले ग्लोबल इक्विटी फन्ड लिमिटेड, अवसर इक्विटी लिमिटेड, एनआईसी एशिया क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट्स, एनआईएमबीएस क्यापिटल, एनएमबि क्यापिटल, प्रभु क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङलाई लाइसेन्स प्रदान गरेको थियो । यसका अलावा आध्यनता फन्ड म्यानेजमेन्ट लिमिटेड, अल्फा प्लस भेञ्चर लिमिटेड, नेशनल फन्ड म्यानेजमेन्ट लिमिटेड, रिलायबल भेञ्चर क्यापिटल लिमिटेड कोष व्यवस्थापन गर्न लाइसेन्स पाएका थिए ।








प्रतिक्रिया