मोबाइलले खोस्यो ल्याण्डलाइन फोन: एनटीसीका ग्राहक एकैवर्ष सवा २ लाख घटे


टेलिकमले नयाँ प्रविधिसहित एफटीटीएचबाट भ्वाइस, इन्टरनेट र टीभी सेवा एउटै तारबाट दिए पनि ग्राहक आकर्षित गर्न नसक्दा र अन्य विकल्पका कारण टेलिफोनका प्रयोगकर्ता अस्वभाविक रुपमा घटेका छन् ।

फाइल फोटो ।

काठमाडौं । मोबाइल सेवाका कारण नेपाल टेलिकमको ल्याण्डलाइन सेवाका प्रयोगकर्ता अस्वभाविक रुपमा घटिरहेका छन् । टेलिकमले पुरानो प्रविधिलाई विस्थापित गरेर नयाँ प्रविधिबाट सेवा दिइरहेको भए पनि ग्राहक आकर्षित गर्न नसकेका कारण भ्वाइस सेवाका प्रयोगकर्ता बढ्न नसकेका हुन् ।

टेलिकमले २०७७ पुसदेखि एफटीटीएच सेवाबाट एनटी टिभी सेवासमेत उपलब्ध गराएर भ्वाइस सेवा र डाटा सेवामा टीभी थप गरेको थियो । जसका कारण टेलिकमले एउटै तारबाट तीनवटा सेवा (टेलिफोनमा कुराकानी, इन्टरनेट र टीभी) को सुरुवात गरेको थियो ।

टेलिकमले पुरानो प्रविधिको कपर वायरबाट दिने सेवालाई एफटीटीएचमा रुपान्तरण गरिरहेको छ । सोही योजना अन्तगर्तत टेलिकमले २०८१ जेठमै दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंवुमा पुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टु द होम) नेटवर्कमा पूर्णरुपमा स्तरोन्नति गरेको घोषणासमेत गरिसकेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०८१ जेठसम्ममा टेलिकमको पब्लिक स्वीच्ड टेलिफोन नेटवर्क (पीएसटीएन) अर्थात ल्याण्डलाइन सेवाका प्रयोगकर्ता २ लाख ५२ हजार ६६९ थिए । यीमध्ये २ लाख १७ हजारले आधुनिक प्रविधिको एफटीटीएचमा स्तरोन्नति गरेको कारण अब जम्मा ३४ हजार ७४० प्रयोगकर्ता मात्रै पुरानो प्रविधिको ल्याण्डलाइनमा रहेको टेलिकमको भनाइ छ ।

टेलिकमका अनुसार गत वर्ष जेठमा ६ लाख १४ हजार ग्राहकले टेलिकमको भ्वाइस सेवा लिएकोमा यो वर्ष भने २ लाखले प्रयोगकर्ता घटेका छन् । पुरानो प्रविधिबाट नयाँमा सिफ्ट भएका कारण ल्याण्डलाइनका प्रयोगकर्ता २ लाख लाख एकैवर्ष घटेको देखिएपछि ती प्रयोगकर्ता एफटीटीएचमा सिफ्ट भएका छन । जसका कारण कुल भ्वाइस प्रयोगकर्ता भने बढको टेलिकमको दाबी छ ।

तर, तथ्यांकमा भने ल्याण्डलाइनबाट एफटीटीएचमा आएका ग्राहक कुल भ्वाइस प्रयोगकर्तामा नदेखिएका कारण मोबाइल सेवाले तानेको वा टेलिमको ल्याण्डलाइनको प्रयोग घटेको देखिन्छ । भ्वाइसका प्रयोगकर्ता नबढेका कारण गत वर्ष जेठमा ६ लाख १४ हजार रहेको टेलिकमको भ्वाइसका ग्राहक यो वर्षको जेठमा ४ लाख १२ हजारमै सिमित हुन पुगेका छन् ।

टेलिकमकै तथ्यांक अनुसार यस्तो ग्राहक संख्या २०८० जेठमा ४ लाख ३० हजार थिए भने त्यतिबेला एफटीटीएचका प्रयोगकर्ता जम्मा १ लाख १६ हजार मात्रै थिए । उक्त अवधिमा कुल ५ लाख ४७ हजार प्रयोगकर्ता पनि त्यो भन्दा अघिल्लो वर्षको २०७९ को ८ लाख २० हजारबाट घटेको देखिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता रविन्द्र रविन्द्र मानन्धर भने पुरानो प्रविधिबाट नयाँमा सिफ्ट गरेका कपरवारबाट दिइएको सेवा विस्थापित भएर एफटीटीएचमा बढेको बताउँछन् । उनका अनुसार फाइरबाट इन्टरनेट, भ्वाइस र टीभी सेवा दिइरहेका कारण नयाँ प्रविधितर्फ आकर्षण नै बढिरहेको दाबी उनको छ । तर तथ्यांकले भने टेलिकमको भ्वाइस प्रयोगकर्ता पछिल्लो १० वर्षमा ८ लाखबाट ४ लाखमा झरिसकेको देखाउँछ ।

पछिल्लो समय मोबाइल सेवाको प्रयोग, ग्राहकले सहजताका करण डेटा र भ्वाइससँगै थप ओभर दि टप (ओटीटी) सेवाका सुविधा मोबाइलमै पाउने भएकाले पनि एफटीटीएचमा समेत आकर्षक घटेको देखिएको छ ।