ग्राहकले सहज र सुलभ तरिकाले सेवा प्रयोग गर्न मोबाइललाई नै रुचाएका कारण ल्यान्डलाइन प्रयोगकर्ताका नयाँ ग्राहक बन्न छोडिसकेका छन् । कहिलेकाँही कार्यालय प्रयोजनका लागि आउने न्यून संख्याका प्रयोगकर्ताबाहेक घरायसी प्रयोगमा भएका पुराना ल्यान्डलाइन पनि प्रयोगविहिन हुँदै गएको छ ।
काठमाडौं । मोबाइल र इन्टरनेटको सहज पहुँचका कारण नेपाल टेलिकमको ल्यान्डलाइन प्रयोगकर्ता वर्षेनी घट्दै गएका छन् ।
७ वर्ष अगाडिसम्म ६ लाख ८४ हजार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का पब्लिक स्विच टेलिफोन नेटवर्क (ल्यान्डलाइन) प्रयोगकर्ता रहेकोमा गत पुस मसान्तसम्मको तथ्यांक अनुसार ३६ हजारमा झरेको छ ।
नेपाल टेलिकमले कपर तारमार्फत दिएको उक्त टेलिफोनलाई पछिल्लो समय फाइवर टु द होम (एफटीटीएच)ले विस्थापित गर्न खोजेको छ । तर, टेलिकमले एफटीटीएचमार्फत दिएको सेवामा पनि २०७४ अगाडिको ल्यान्डलाइन प्रयोगकर्ताको तुलनामा हाल नयाँ प्रविधितर्फ गइसकेका प्रयोगकर्ता भने जम्मा ३ लाख ७१ हजार मात्रै छन् ।
टेलिकमले ल्यान्डलाइन टेलिफोनलाई भ्वाइस, डाटा र भिडियो एउटै तारबाट दिने गरी एफटीटीएच सेवा ल्याएको थियो । यो सेवापछि पुराना टेलिफोन प्रयोगकर्ता ३६ हजारमा झर्दा एफटीटीएचमार्फतको भ्वाइस प्रयोगकर्ता भने ३ लाख ७१ हजारमा मात्रै सिमित भएका छन् । यसकारण नयाँ प्रविधिले पनि भ्वाइस सेवा लिने प्रयोगकर्तालाई आकर्षित गर्न नसकेको देखिएको छ ।
सात वर्ष अगाडि टेलिकमको ल्यान्डलाइन प्रयोगकर्ता एक दशक अवधिकै उच्च थियो । २०७४ पुस मसान्तमा ६ लाख ८४ हजार प्रयोगकर्ताले घर तथा कार्यालयमा टेलिकमको फिक्स्ड लाइन टेलिफोन सेवा दिएका थिए । त्यतिबेला वायरलेस प्रविधिमार्फत १ लाख २० हजारसहित जम्मा ८ लाख प्रयोगकर्ताले टेलिकमबाट ल्यान्डलाइन टेलिफोन प्रयोग गरेर भ्वाइस सेवा लिएका थिए ।
अहिले २०८१ को पुससम्ममा आइपुग्दा एफटीटीएचका ३ लाख ७१ हजारसहित जम्मा ४ लाख ७ हजार प्रयोगकर्ताले मात्रै टेलिकमको ल्यान्डलाइनबाट सेवा लिएका छन् ।
नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार मोबाइल सेवाको बढ्दो प्रयोग, घरघरमा वाइफाइसहितको इन्टरनेट र हातहातमा फोरजी डेटाका कारण ल्यान्डलाइन प्रयोग घटेको हो । उनका अनुसार पहिलेको कपर तारको सट्टा अप्टिकल फाइवरमा ग्राहकलाई सिफ्ट गरेर भ्वाइस र डेटा दुवै एउटै तारबाट दिएका छौं । पछिल्लो समय टेलिकमले एफटीटीएचमार्फत टेलिफोन र डेटा एउटै अप्टिकल फाइबरबाट दिइरहेको छ ।
टेलिकमले पहिलेको ल्यान्डलाइन फोनसँगै एडीएसएलमार्फत इन्टरनेट सेवा दिने गरेको थियो । त्यो प्रविधिलाई अहिले अप्टिकल फाइवरले विस्थापित गरिसकेको छ । अहिले ३६ हजार प्रयोगकर्ता मात्रै पीएसटीएनमा देखिएका छन् । यी प्रयोगकर्तालाई समेत एफटीटीएचमा सिफ्ट गरिएकोले केही समयपछि पीएसटीएनको सेवा शून्य हुने पनि टेलिकमका प्रवक्ता ढकालले बताए ।
पछिल्लो समय मोबाइल प्रयोगकर्तासगँ इन्टरनेट प्रयोगकर्ता पनि बढिरहेका छन् । हाल नेपाल टेलिकमका मात्रै २ करोड ९५ लाख मोबाइल सेवा प्रयोगकर्ता छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८१ पुससम्मको तथ्यांक अनुसार ३ लाख १८ हजार एफटीटीएच डेटा प्रयोगकर्ता छन् । यो अवधिमा अन्य सेवाप्रदायकको प्रयोगकर्ताले समेत मोबाइल डेटा, इन्टरनेट र भ्वाइस सेवा लिइरहेका छन् ।
तथ्यांक अनुसार टेलिकमको एक दशक अगाडि २०७१ मा ६ लाख ६१ हजारले ल्यान्डलाइन टेलिफोन प्रयोग गरेका छन् । यो संख्या २०८० को पुसमा आइपुग्दा २ लाख ६२ हजारमा झरेको थियो । २०८१ को पुससम्म आइपुग्दा भने यो संख्या उल्लेख्य रुपमा घटेर ३६ हजारमा मात्रै सिमित भएको छ ।
बढ्दै छन एफटीटीएच भ्वाइसका प्रयोगकर्ता
तथ्यांक अनुसार टेलिकमले कपर वायरलाई विस्थापित गरेर भ्वाइसका प्रयोगकर्तालाई एफटीटीएचमा सिफ्ट गरेको छ । तर, यस्तो भ्वाइसका प्रयोगकर्ता बढ्दै गएको भएपनि पछिल्लो ५ वर्ष अगाडिकै ल्यान्डलाइनको प्रयोगकर्ताको तुलनामा भने न्यून देखिएको छ ।
टेलिकमका अनुसार हाल एफटीटीएच भ्वइसका प्रयोगकर्ता ३ लाख ७१ हजार मात्रै छन । यो संख्या एक दशक अगाडिको १ लाख २३ हजारको तुलनामा बढेको भएपनि त्यतिबेला भएको ल्यान्डलाइन प्रयोगकर्ताको तुलनामा आधाभन्दा कम भएको पनि तथ्यांकल देखाएको छ ।
नेपाल टेलिकमले पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको नेटवर्कमा स्तरोन्नति गर्नकै लागि पुरानो प्रविधिलाई बन्द गरेको हो । टेलिकमले कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवा बन्द गरेर एफटीटीएच प्रविधिको सुरुवात गरेको हो ।
हालसम्म पुरानो प्रविधि रहेपछि यसलाई अबको केही समयमा नै नयाँ प्रविधिमा रुपान्तरण गरिसक्ने पनि टेलिकमको भनाइ छ।
पुरानो प्रविधिको अन्त्य र नयाँ प्रविधिको सुरुवातका लागि नै टेलिकमले एफटीटीएच सुरु गरेको हो । यसबाट गुणस्तरीय सेवासहितको भ्वाइस, तीब्र गतिको इन्टरनेट र टेलिभिजनसमेतको कम्बो सुविधा लिन सकिन्छ ।
प्रतिक्रिया