
काठमाडौं । रसुवामा मंगलबार आएको बाढीले स्थानीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ । जल तथा मौसम विज्ञान विभागले यो बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
विभागकाअनुसार बाढीको प्रकृति सामान्य वर्षातको कारणले भएको नदेखिएको र अन्य सम्भावित कारणहरू पनि हुनसक्ने भएकाले विस्तृत अध्ययन भइरहेको छ ।
तिब्बत क्षेत्रमा रहेका हिमतालहरू र तिनमा देखिएको परिवर्तनलाई लिएर विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समन्वय गरी भू–उपग्रह तस्बिरहरूको विश्लेषण गरिरहेको बताएको छ ।
विभागका मौसमविद् विनोद पराजुलीले बादलले छेकेका कारण तस्बिरहरू स्पष्ट नभएको र यकिन कारण पत्ता लगाउन समय लाग्ने बताए । भोटेकोशी र त्रिशुली क्षेत्रमा अहिले बाढीको जलस्तर सामान्य अवस्थामा फर्किएको र तत्काल थप जोखिम नदेखिएको भए पनि सामान्य जोखिम मनसुन भरि कायमै रहेको उनको भनाइ छ ।
‘यकिन कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समेत समन्वय गरेर काम गरिरहेको छ । तिब्बत क्षेत्रका सम्भावित बाढी सिर्जना भएका स्थानका केही भू–उपग्रहका तस्बिरहरु प्राप्त भएका छन् । तस्बिरहरूमा बादलले छेकेकोले स्पष्ट देखिएको छैन । हामीले यही क्षेत्रबाट अथवा यही तालबाट विपद् वा बाढी सुरु भएको भनेर एकिन गरिसकेको अवस्था छैन तर हामी नजिक पुग्दैछौँ,’ उनले भने ।


विभागले बाढी भारी वर्षातको कारणले नभएको बताएको छ । हिमनदी क्षेत्रमा हिउँ पग्लिएर बनेका साना तालहरूमा परिवर्तन देखिएको र ती तालहरू नेपालबाट करिव २५ किलोमिटर टाढा तिब्बत क्षेत्रमा रहेको अनुमान गरिएको बताएको छ ।
ढुंगा माटोको थुप्रोले ढाकिएको हिमनदीको माथिल्लो सतहमा बनेको ताल सुप्राग्लेसियल लेक बगेको देखिएको उनको भनाइ छ।
‘सम्भावित पहिलो कारण हिमताल विस्फोट नै हुनसक्छ । दुई–तीनवटा तस्बिरहरू जसको हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘त्यसमा सुप्राग्लेसियल लेक हिमनदीको क्षेत्रमा हिउँ पग्लिएर विभिन्न साना–साना तालहरू बनेका छन् र ती तालहरूमा केही परिवर्तन देखिएको छ, तिब्बत क्षेत्रमा, ती तालमा देखिएको परिवर्तनको भेरिफिकेसन पनि बाँकी छ।’
मौसमविद् पराजुलीले बाढीको प्रकृति असामान्य रहेको र १०–१५ घण्टासम्म एकनासले बाढी आएको बताए । यो पहिलाको प्रकृतिभन्दा फरक रहेको उनको भनाइ छ ।
‘बाढीको प्रकृतिबाट हामी पनि द्विविधामा परेका छौँ । यो घटनामा १०–१५ घण्टासम्म एकनासले बाढी आइरहेको छ। यो सामान्य होइन। पहिलाको प्रकृतिभन्दा पृथक देखिएको छ । यो अवस्था हिमताल विस्फोट भएर मात्र हो भन्न नसकिने छ । यसको विस्तृत अध्ययन जरुरी भएको छ,’ उनले भने ।








प्रतिक्रिया